मंगलबार, चैत ६, २०८०

माधव नेपालले भनेको कोर्स करेक्सन के हो ?

मेरोन्यूज २०७८ असार २४ गते १०:१३

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले विभाजनको संघारमा पुगेको पार्टीको विवाद मिलाउन माधवकुमार नेपालसँग संवाद गरेपनि बुधबारको साँझ एमालेभित्रको ‘कोर्स करेक्सन’ले प्राथमिकता पायो ।

माओवादीसँग एकता हुनअघि र पछि अध्यक्ष ओलीले पार्टीभित्र देखाएको रवैयामाथि प्रश्न उठाउँदै धेरै विवादको विषयतिर नजाऔ अब पार्टीको पुर्नसंरचना र कोर्स करेक्सनमा ध्यान दिनुस तपाई त्यसका लागि तयार हुनुहाेस् भनेका थिए ।

तर नेपालले राखेको कोर्स करेक्सन के हो भन्ने बारेमा ओली पनि केही बेर अलमलमा परेका थिए । असार १७ र १९ गतेको टेलिफोन कुराकानीमा पनि नेपालले ओलीलाई कोर्स करेक्सनको विषय नउठाएका होइनन् । नेपालले एमाले र माओवादी एककिरणपछि बनेको नेकपामा पनि यो विषय उठाएका थिए । अहिले पनि सोही विषयमा कुरा अड्किएको छ ।

‘पार्टीभित्र कोर्स करेक्सन हुने हो भने सबै कुरा गरौं अन्य विषयमा कार्यदलले पनि सहमति गरिरहेकै छ तपाई र म अलग अलग बस्नु भनेकै पार्टीको राजनीतिक र सांगठानिक कोर्स करेक्सन हो त्यसका लागि तपाई तयार हुनुस’, नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘उहाँको जवाफमा ओलीले खास रुचि देखाएनन् पार्टीभित्रै बसेर जानुपर्ने विषय भए त्यही समाधान गरौ अहिलेको अवस्थामा सहयोग गर्नुस पार्टीलाई अप्ठ्यारो परिस्थितिबाट जोगाउनुस मात्रै भने ।’

विश्वास आर्जनमा कठिन
नेपाल पक्षमा रहेका दोस्रो तहका नेताहरुले यो विषयमा धेरै ध्यान दिएका छैनन् तर किचन क्याविनेटमा रहेका नेताहरुले यो विषय एक महिना यता छलफलमा ल्याएका छन् ।

Advertisement

२०७५ जेठ २ को अवस्थामा पार्टी फर्केपनि ओली र सो समूहले पेलेर जाने भएकाले संगठनमा बराबरी हैसियत र सम्मानजनक व्यवहार गर्ने र विषयमा दुई नेताहरुबीच सहमति नभई विवाद निरुपणको नाममा पार्टीभित्र रहने अवस्था आउदैन भन्दै नेपाललाई उकासिरहेका छन् ।

नेपालले पनि यो विषयमा मनन् गर्दै आएका छन् । नेकपा बन्नुपूर्व एमालेको नवौं महाधिवेशनपछि स्थायी कमिटी गठन गर्ने बेलामा ओलीसँग परेको लफडा नै अहिले पनि पार्टी विवाद निरुपणमा समस्या भएको छ ।

सुरेन्द्र पाण्डे पार्टी महासचिवमा हारेपछि नेपालले पाण्डेलाई स्थायी कमिटीमा मनोनयन गरौं भन्दा ओलीले शंकर पोखरेल पनि उपमहासचिव हारेका छन् उनलाई पनि ल्याउनुपर्छ भनरे लफडा गरेका थिए ।

तर नेपालले शंकर पोखरेललाई स्थायी कमिटीमा ल्याउन सहज स्वीकार गरेका थिए । त्यसपछि रघु पन्तलाई स्थायी कमिटी मनोनयन गर्ने बेलामा ओलीले एक वर्षसम्म स्थायी कमिटीको बैठक नै नराखी पन्तलाई मनोनयन गरेनन् ।

जब एमाले र माओवादी मिलेर निर्वाचनमा जाने कुरा भयो र पार्टी एकिकरणसम्मको कुरा आएपछि उनलाई मनोनयन गरेका थिए । यस्ता लफडाका कारण ओलीसँग नेपाल विश्वस्त हुन सकेका छैनन ।

त्यतिमात्र होइन निर्वाचनको समयमा ओलीले नेपाल समूहका नेताहरुलाई जित्ने स्थानमा पनि टिकट नदिएको पार्टी एकिकरण हुँदा नेपाल पक्षका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्दा पनि विभेद गरेको तथा नेपाल पक्षमा ४४ जिल्ला अध्यक्षहरु रहेपनि ओलीले एकिकरणपछि ३ जिल्लामा मात्रै अध्यक्ष दिन खोज्नु, जस्ता विषयमा नेपालले धोका पाएका थिए ।

यी पुराना विषय नेता नेपालको मस्तिष्कमा ‘रिल’ जस्तै घुमिरहेका कारण ओलीलाई तत्कालै विश्वास गर्न सकिरहेका छैनन ।

के हो कोर्स करेक्सन ?
एमालेको विवाद अहिले जे देखिएको छ त्यतिमात्र होइन । विवादमा कुनै खास सैद्धान्तिक आधार नदेखिएपनि दुई नेताहरुको इगो टकराव मूख्य रहेको छ । कोर्स करेक्सनको कुरा पनि यही इगो टकरावसँग जोडिएको छ ।

ओलीले जनकपुरमा सम्पन्न सातौं महाधिवेशनपछि आफ्नो पक्षमा जनमत बनाउँदै गए, जसका कारण अहिलेको अवस्थामा आएका हुन् । नेपालले भने १५ वर्ष पार्टी सञ्चालन गर्दा धेरै विषयहरु गुमाए ।

प्रतिगमन आधा सच्चियो भन्नेदेखि माओावादी शान्ति प्रकृयामा आएपछि गिरिजा प्रसाद कोइरालाले एमालेलाई साइजमा ल्याउन अन्तरिम संसदमा एमाले बराबरकै सीट दिदा उनी मौन बस्नु जस्ता विषयले नेपालविरुद्ध ओलीले मोर्चाबन्दी गरे ।

यो विषयलाई राम्ररी बुझेका नेपालले अबको लडाई ओली र नेपालबीचको पदीय भागबण्डा नै हो । नेपाललाई अहिले यसको आवश्यकता पनि रहेको छ ।

आफ्नाे समूहका नेताहरु विस्तारै विस्तारै चोइटिदै जाँदा नेपालले पार्टीभित्रै रहँदा आफ्नो उपस्थिति बलियो भएन भने भोलीका दिनमा ओली र सो समूहले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताको रुपमा दर्ज गर्ने खतरा उत्तिकै छ ।

त्यसकारण पनि माधव नेपालले पार्टीभित्र कोर्स करेक्सनको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् । एमालेको कार्यदल स्तरमा यो विषयले प्रवेश नपाए पनि ओली र नेपाल बसेर भागबन्डाको विषय टुंगो नलगाएसम्म उनी एमालेमा फर्कन सक्ने सम्भावना कम छ ।

वैशाखदेखि यता ओली र नेपालबीच चार पटक ‘वान अन वान’ वार्तामा पनि मूख्यगरी शक्ति बाँडफाडमै सहमति जुट्न सकेको थिएन । बुधबार साँझ भएको संवादमा जुन विषयले निरन्तरता पायो ।

नेता नेपालले विगतदेखि पार्टीभित्र एक व्यक्ति एक पदको कुरा प्रमुख रूपमा उठाइरहेका छन् । त्यो भनेको केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नु हो, जुन कुरा ओलीलाई स्वीकार्य छैन ।

तत्काल यसमा सहमति नभए अर्को विकल्पको रुपमा आगामी महाधिवेशनमा आफुलाई अध्यक्षमा ओलीले सहयोग गर्ने सुनिश्चितता नेपालले खोजिरहेका छन् ।

ओली तत्काल अध्यक्ष र प्रधानमन्त्री छोड्न सहमत नभए पनि आगामी दिनमा निशर्त शक्ति बाँडफाँडमा नेपाललाई राजी गराउन सकेमात्रै नेपालले उठाउँदै आएको कोर्स करेक्सन होला ।

प्रतिक्रिया