शुक्रबार, वैशाख १४, २०८१

एमालेको कार्यदल बैठक आज पनि बस्दै, सहमति हुन बाँकी विषयमा छलफल हुने, आजै निष्कर्षमा पुग्ने दाबी

मेरोन्यूज २०७८ असार २४ गते ९:१३

काठमाडौं । पार्टीभित्रको विवाद निरुपण गर्न नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमारनेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिन लागेको हो ।

कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान साढे ११ बजे बस्ने बैठकमा सहमति हुन नसकेका विषयमा छलफल हुने बताए

उनले बुधबार साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।

‘हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ । हिजो नेताबीचको कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि त्यसको कुनै अर्थ छैन । हाम्रो सहमति जुटाउने प्रयासको स्प्रीड घटेको छैन,’ उनले भने ।

नक्सालस्थित मेरियट होटलमा भएको वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए । उनले पावर सेयरिङको विषय उठाएपछि सहमति हुन सकेको थिएन ।

पार्टी फुटको संघारमा पुगेपछि एमालेले गत जेठ २ गते दुबै पक्षका पाँच/पाँच जना रहेको कार्यदल गठन गरेको थियो । गठन पश्चात निश्क्रिय प्राय रहेको कार्यदल पछिल्ला केही दिन यता सक्रिय भएको छ ।

प्रतिक्रिया