शुक्रबार, चैत १६, २०८०

डेढ महिनापछि ओली-नेपाल वार्ता : फेरि छलफलमै बस्ने सहमति

शुरुमा कार्यदल सदस्यसहित छलफल, त्यसपछि ओली र नेपालबीच एक्लाएक्लै छलफल

मेरोन्यूज २०७८ असार २३ गते २१:२५

काठमाडौं । लामो तिक्ततामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बुधबार भेटवार्ता भएको छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन ब्यूताईंएको कार्यदलका सहयोगी नेताहरुसँगै राखेर दुई नेताले बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा झण्डै साँझ ७ बजेबाट साढे ९ बजेसम्म वार्ता गरे ।

बिहान कार्यदलकाे बैठकले कतिपय प्रस्तावमा सहमति नजिक पुगेको बताएपछि साँझ होटल मेरियटमा ओली र नेपालका बीचमा भेटवार्ता सम्भव भएको हो ।

यस अगाडि ओलीले नेपालसँग भेटका लागि पटक पटक टेलिफोन संवाद गरेपनि प्रत्यक्ष संवाद हुन सकेको थिएन । ओलीले अदालतमा गरेको हस्ताक्षर फिर्तालाई अल्टिमेटम दिएका थिए । तर त्यसमा नेपाल पक्ष टसमस नभएपछि ओली स्वयम् हस्ताक्षर फिर्ताको कदमबाट पछि हटेर नेपालको आग्रहकै आधारमा कार्यदल ब्यूँताउने र त्यसमा भएको छलफलका आधारमा मात्रै ओलीसँग वार्तामा बस्न तयार भएका थिए ।

यस अगाडि पनि पार्टीभित्रको आन्तरिक विवाद मिलाउन होटल मेरियटमै वैशाख ७ र ८ गते ओली र नेपालबीच संवाद भएको थियो । पछि जेठ २ गते कार्यदल गठन गर्ने विषयमा सहमत भएका थिए । तर ओलीले जेठ ६ को राष्ट्रिय सभा चुनावमा नेपाल पक्षले पार्टी उम्मेदवारलाई मत नदिने मात्र होइन, विपक्षी गठबन्धनसँग थप सम्बन्ध मजबुत बनाउँदै जान थालेपछि ओलीले विश्वासको मत नलिई सिधै संविधानको धारा ७६(५) अनुसार सरकार गठनको बाटो खोल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

त्यसपछि राष्ट्रपतिले २१ घण्टाको समय दिएर सरकार गठनको आधार प्रस्तुत गर्न भनेकी थिइन । कांग्रेस सभापति शेरबहादुर देउवा र ओली स्वयमले दाबी प्रस्तुत गरेका थिए । दुवैका दाबीमा आधार नदेखिएको भन्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेपछि प्रधानमन्त्री रहेका ओलीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका थिए ।

Advertisement

त्यसपछि ओली र नेपालको संवाद तोडिएको थियो । झण्डै डेढ महिनापछि नेपाल र ओलीको बुधबार संवाद भएको हो । यो संवादपछि ओली पक्षका नेताहरु प्रतिक्रिया नदिई हिँडेका छन भने नेपाल पक्षका नेताहरु भीम रावल, सरेन्द्र पाण्डेलगायतले मात्र संक्षिप्त प्रतिक्रिया दिएका थिए ।

बैठकपछि माधव नेपाल निकटका भीम रावलले भने,–‘ हामीले कार्यदलको तर्फबाट कुरा गरिरहेका थियौं, यसैबीचमा दुई शीर्ष नेताका बीचमा छलफल भयो । सकारात्मक परिणाममा कसरी लैजाने भन्नेमा आज कुराकानी भएको पाएका छौं । फेरि यस विषयमा कुराकानी हुनेछ । गम्भिर कुराकानी गर्नुपर्ने आवश्यकता बाेध गरेका छौं । कार्यदलमा पनि छलफल हुन बाँकी छ । नेताहरुका बीचमा पनि कुराकानी भएको छ ।
अहिले वार्ताका उद्देश्य भनेको समस्यामा सहमति उनमुख गराउने भन्ने नै हो ।’

प्रधानमन्त्री ओली, वरिष्ठ नेता नेपाल, विष्णु पौडेल कोही पनि सञ्चारकर्मीलाई प्रतिक्रिया नदिई बाहिरिएका थिए ।

त्यसपछि नेपाल निकटकै नेता सुरेन्द्र पाण्डेले पहिले कार्यदलसहित दुई नेता छलफलमा बसेको र पछि दुवै शीर्ष नेताहरुलाई मात्र एक्लाएक्लै छलफल गर्न छोडिदिएको बताए । ’पहिले हामीसहित शीर्ष नेताहरु छलफलमा बस्यौँ, त्यसपछि दुई नेतालाई मात्र एक्लाएक्लै छलफल गर्न छोडिदियाैँ- पाण्डेले भने ।

उनले भोलि पनि कार्यदलका नेताहरु भने छलफलमा बस्ने पनि बताए । ‘भोलि कार्यदल बैठक बस्छ, त्यसपछि सबै विषय टुंगिन्छ’ नेता पाण्डेले भने ।

प्रतिक्रिया