शुक्रबार, चैत १६, २०८०

माओवादी केन्द्र खारेजीको उजुरीमा निर्वाचन आयोगले के गर्छ ?

आयोग प्रवक्ता भन्छन् : सचिवालयमा पहिले अध्ययन हुन्छ, त्यसपछि मात्र बोल्न सकिन्छ

मेरोन्यूज २०७८ असार २३ गते १७:५९

काठमाडौँ । राजनीतिक दलले संविधानतः ५ वर्षमा महाधिवेशन गर्नु पर्ने प्रावधान भए पनि माओवादी केन्द्रले ०६९ सालदेखि पार्टीको महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगमा दल दर्ता खारेजीको उजुरी परेको छ ।

पहिले माओवादीमा रहेका तर, पछि एमालेमा पुगेका लिलाबहादुर थापा र रामचन्द्र मण्डलसहित नेताले अधिवक्ता सरोज बुढाथोकीलाई दल दर्ता खारेजीको निवेदन दर्ता गर्न लगाएका थिए ।

१२ ओटा आधारबाट हेर्दा माओवादी केन्द्र अहिले आयोगमा दर्ताका लागि उपयुक्त नभएको र दलको खारेजी हुनु पर्ने भन्दै आयोगमा बुधबार उजुरी दर्ता भएको हो ।

उजुरीकर्ताले ०६९ साल माघ २० देखि २६ गते महाधिवेशन गरेको माओवादी केन्द्रले त्यसपछि पार्टीको महाधिवेशन ९ वर्षसम्म नगरेको र निर्वाचन आयोगमा ०७३ सालसम्म हामी महाधिवेशन गर्छौँ भने पनि गर्न नसकेको भन्दै उजुरी दर्ता गरेका छन् ।

दल दर्ता खारेजीको माग गर्दै आयोगमा परेको उजुरीमा अब आयोगले के गर्छ ? प्रश्न उठेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन आएको पुष्टि गर्दै यससम्बन्धमा निवेदनको अध्ययन गरेपछि थप बोल्ने बताए ।

Advertisement

‘दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन आएको छ’ आयोग प्रवक्ता श्रेष्ठले भने, ‘नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन अनुसार हैसियत गुमिसकेका कारणले गर्दा दल दर्ता खारेजी गरिपाऊँ भन्ने निवेदन आयोगमा दर्ता भएको छ । निवेदनमा पेश भएको व्यहोराको सम्बन्धमा सचिवालयमा पहिले अध्ययन हुन्छ । अध्ययन भइसकेपछि व्यहोरासहित आयोगमा पेश हुन्छ । र आयोगले त्यस सन्दर्भमा केही निर्णय गर्छ ।’

प्रतिक्रिया