आइतबार, असोज १०, २०७८

कृषिमा भविष्य खोज्दै बाग्लुङ

मेरोन्यूज २०७८ असार २३ गते १७:२१

बाग्लुङ । बर्खे आलु फल्ने ताराखोलामा यतिबेला बाग्लुङका किसानलाई भ्याइनभ्याई छ । बाग्लुङको बलेवाको ताराखोला किसानले बारीमा लगाएको आलु थन्काएर कोदो लगाउने काममा किसान व्यस्त छन् । सबै किसान दिनभर बारीमा भेटिन्छन्। बागलुङको ताराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ ।

Advertisement

‘आलु मीठो ताराखोलाको’ ताराखोलाकै स्थानीय गायिका खिमा रोका मगर र गलकोटे सर्जक वसन्त थापाले गाएको लोकगीतको थेगोले भनेको जस्तै ताराखोलाको आलु स्वादिलो हुने भएकाले यहाँका किसानले आलुको उत्पादन व्यवसायिक रूपमा नै गर्ने गरेका छन् ।
स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र किसानलाई व्यवसायिक बनाउनका लागि ताराखोला गाउँपालिकाले योजना नै बनाएर लागेको छ ।

ताराखोला गाउँपालिकाले व्यवसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरेको छ । जसका कारण किसान थप उत्साहित भएका छन् ।

चालु वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको योजना समेतमा उक्त लगानी र अनुदानको व्यवस्थापन गरेको हो । उक्त अभियानअनुसार व्यवसायिक आलुको उत्पादन गर्ने किसानका लागि अनुदान दिएको छ । चालु वर्ष छ हजार ३०० ओखरको बोट रोपेको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएपछि करिमेला र लावाङमा ती बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

कृषिलाई व्यावसायिक बनाएर घरघरै उद्यमी बनाउने अभियान सफल पार्न ती बिरूवा वितरण गरेर उत्पादनका लागि हौसलासमेत दिएको अध्यक्ष घर्तीले बताए ।
अभियान सफल पार्न अनुदानमै अलैंची खेती विस्तार, प्लाष्टिक टनेल वितरण, बाख्रा फार्म सञ्चालन र पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए ।
ताराखोलाकै पँधेराखोला र नाङीमा किवी पकेट क्षेत्र विस्तार गरिएको छ ।

आलु उत्पादन यहाँको नियमित र मुख्य बाली हो । ती सबै कृषि फसलको बजारीकरणका लागि सङ्कलन केन्द्र स्थापना, भातखाने डाँडा, करिमेला र अर्गलमा भण्डारण केन्द्र निर्माणको काम थालिएको घर्तीले बताए । ती केन्द्रमा गरिने भण्डारणका कारण किसानले समयअनुकूल उत्पादनको विक्री गर्ने, बजार पठाउने र नाफा आर्जन गर्न सक्ने स्थानीयबासीले बताए ।
‘संकलन केन्द्र बनेपछि तत्काल विक्री नहुने कृषिवस्तु बजार भाउ पाउँदा बेच्न पाइन्छ’, स्थानीयबासी नीता रोकाले भनिन्, ‘आलुको भने घरघरमै भण्डारण गरिएको छ ।’

अघिल्लो वर्षको तुलनामा आलु उत्पादनसमेत बढिरहेको उनले बताइन्। ‘अहिले राम्रो मौसम चलेको छ भनौं’, उनले भनिन्, ‘यहाँ फलेको आलु बजारबाट आएका व्यवसायीले आफ्नै गाडीमा राखेर लैजाने गर्नुभएको छ ।’ गाउँपालिकाले भने ५ सय रोपनी जमिन खरिद गरेर सूचीकृत किसानमार्फत मल र प्रविधि दिएर थरीथरी उत्पादनको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अध्यक्ष घर्तीले सुनाए ।

उक्त योजनामा एक गाउँ एक उत्पादनका उद्यमी समेतलाई समावेश गरिने उनले बताए । भाडा र खरिदमार्फत गाउँपालिकाको स्वामित्वमा लिएको जमिनमा आलु र फापर खेती गरिने योजना छ । उक्त योजनामा सामूहिक काम गर्ने, तालिम गर्ने र प्रविधिको उपयोगबारे सबैले जान्न पाउने व्यवस्था गरिनेछ ।

गाउँपालिकाले उपयुक्त स्थानको खोजी गरिरहेको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । सामूहिक काम गरेपछि आउने उत्पादन र आम्दानीबाट कामदारलाई तलब दिने, कृषि कोष बनाउने र नयाँ किसान प्रवर्द्धनको योजनासमेत बनाइएको हो ।

नेपाल सरकारको आलु जोनसँगै तोकिएको स्थानमा पकेट क्षेत्र पनि सञ्चालन गर्न छलफल अगाडि बढिसकेको हो । तत्कालका लागि गाउँपालिकाले नागबेली खोला छेउमा यो जमिनको खोजी गरेको घर्तीले बताए । ताराखोलाले प्राकृतिक स्रोत तथा सम्पदाको व्यवस्थित उपयोग, मानवीय जनशक्तिको समुचित परिचालन र विद्यमान अवस्थामा समय अनुकूल प्रविधिको विकास गरेर कृषिमा व्यवसायिकीकरण गर्ने भनेको छ ।

ताराखोला गाउँपालिका प्रदेश राजधानी पोखरादेखि करिब १३६ किलोमिटर जिल्ला सदरमुकामदेखि ४५ किलोमिटर दूरीमा पर्छ । खाद्यान्न बाली मकै, कोदो, जौ, गहुँ, फापर, धान आदि छन् भने आलु, मूला, लसुन, प्याज, केराउ, भटमास, भाँगो, अलैंची, किबीजस्ता नगदे बाली पनि व्यवसायिकरुपमा उत्पादन गर्ने कार्यको सुरूआत गाउँपालिकाले गरेको हो । चालू आवमा ताराखोलाका पाँच वडामा आलु ७१२, अलैंची तीन, भाँगो १६४, किबी २.५ मेट्रिक टन तथा ओखर १७० केजी उत्पादन भएको छ भने बाख्रा फार्म १३, भेडा फार्म चार, बङ्गुर फार्म पाँच, भैंसी फार्म छ, कुखुरा फार्म सात एवं तरकारी टनेल ८१ वटा सञ्चालनमा छन् । गाउँपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गरिरहेको छ । ‘उत्पादन मात्रै ठूलो कुरा भएन, उत्पादनसँग आयआर्जन जोड्ने प्रयासमा छौं’, उपाध्यक्ष पुन भन्छिन्, ‘निर्माणाधीन कृषि उपज केन्द्र सञ्चालनमा आउँदा कृषि उपजको बजारीकरण सहज हुनेछ ।’

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन गर्ने, फलफूलका बिरूवा रोपन कार्यक्रम सञ्चालन गर्ने, बाख्राको उत्पादन बढाउन पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना कृषि तथा व्यवसायिक फार्म स्थापना गर्ने योजना गाउँपालिकाको छ ।
‘श्रमको संस्कृति हाम्रोमा हराइसकेको छैन, आफ्ना लागि मात्रै होइन, व्यवसायिक हिसाबले श्रम गरौं भन्ने मान्यताको विकास गर्दैछौं’, गाउँपालिका अध्यक्ष घर्तीले भने ।

हिउँदमा लगाएर वर्षाको समयमा उकेर्ने ताराखोलाको आलु बजारमा बढी चर्चित छ । उच्च पहाडी भू–भागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो रहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउँछन् । ‘लामो समय माटोमुनि रहेको आलु चिसोले बिग्रिँदैन’, उनले भने, ‘कार्बोहाइडेड संकलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मिठो हुने हो ।’

बागलुङमा झण्डै पाँच हजार किसानले आलु उत्पादन गर्छन्। तीमध्ये व्यवसायिकरूपमा आलुको उत्पादन गर्ने किसान ताराखोलामा छन् । ताराखोलाका किसानले फलाएको आलु बजारमा मूल्य राम्रो पाउने र खानाका लागि समेत स्वादिष्ट भएकाले त्यहाँका केही किसानले आलुकै भरमा घर गुजारा चलाएका छन् । आलुसँगै ताराखोलाको अर्को आम्दानी हुने बाली भाँगो हो ।

रसायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बिउमात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका वडा नं ५ हिलेका किसान दमन रोकाको बुझाइ छ । ‘घरायसी मल र छापो गाँडेर आलु लगाइन्छ’, रोकाले भने, ‘स्थानीय जातकै बिउ लगाइन्छ, विकासी बिउको प्रयोग भएको छैन ।’ रासस

प्रतिक्रिया