बिहीबार, वैशाख १३, २०८१

एमाले कार्यदलको बैठकपछि कस्ले के भने ?

मेरोन्यूज २०७८ असार २३ गते १५:३६

काठमाडौँ । नेकपा एमालको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले पार्टीभित्रको विवाद समाधान हुने दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् । बुधबार सिंहदरबारमा बसेको बैठकले एमाले एकताको टुंगोमा पुगेको निष्कर्ष निकालेको हो ।

एमाले कार्यदलको बैठकपछि पार्टीभित्रको विवाद समाधान हुने नेताहरूले विश्वास लिएका छन् । उनीहरूले भोलिसम्म सबै समाधान हुने बताएका छन् । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता तथा कार्यदल सदस्य प्रदीप ज्ञवालीले कार्यदलभित्रको छलफल सकारात्मक भएको बताएका थिए । उनले पार्टीको विवाद भोलिसम्म टुंगोमा पुग्ने बताएका थिए ।

‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने, उहाँहरूका भावना बुझ्ने कुरा भइरहेको छ, कार्यदलभित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन्,’ उनले भने, ‘हामी भोलि टुंग्याउने गरी लाग्छौँ, प्राविधि कारणले ढिलो हुन सक्ला, तर अहिलेसम्म हेर्दा भोलिसम्म सबै विवाद टुंगिने विश्वास छ ।’

त्यस्तै, कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । उनले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरूलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको बताए ।

आज साँझसम्ममा थप छलफल हुने र भोलि पुनः कार्यदलको बैठक बसेर एकताका लागि टुंगोमा पुर्याउने तयारी भएको नेम्वाङले बताएका थिए । ‘हाम्रो छलफल गम्भिर छ, सकारात्मक छ, अहिले जे जति तयारी भएका छन्, त्यो तयारी आज दिनभरि आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुग्यौँ, हामी बस्यौँ, छलफल गर्याैं, भएका तयारीका बारेमा सुन्यौँ,’ उनले भने, ‘त्यसबाट हाम्रा तयारीका लागि आज दिनभरिको समय चाहिन्छ भन्ने टुंगोमा हामी पुग्यौँ, यो तयारीको शिलशिलामा एक त यो कार्यदलको सुरुवातदेखि अनौपचारिक रुपमा भएका कुराहरु, त्योभन्दा बाहिर विभिन्न तहमा भएका प्रयासहरु समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरु पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैसँग कुरा गर्दै उहाँहरुको समेत फिडब्याक लिएर हामीले टुंगोमा पुग्ने प्रयास गरिरहेका छौँ, भोलि हामी फेरि बैठकलाई औपचारिक रुपमा शुरु गर्छौं, सम्भवत्ः भोलि बिहान ११ बजेदेखि बैठक बस्छौँ, भरसक चाँडै हामी टुंगोमा पुर्याउँछौँ ।’

कार्यदल बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबीच अविश्वासको खाडल कम भएको प्रतिक्रिया दिए । सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशिल बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाबारे आफूहरूले चाहेकै भाषामा सहमति खोज्न नजिक आइपुगको उनको भनाई थियो ।

‘जुन जुन मुद्दाहरूमा विवाद देखा परेको थियो, ती मुद्दाहरूमा समाधान खोज्ने सन्दर्भमा झण्डै झण्डै निष्कर्षमा पुगिरहेका छौँ, एउटा छोटो अवधिमा हामीले समस्याहरूको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्नेकुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ,’ उनले भने, ‘बैठक सकारात्मक रुपमा अगाडि बढेको छ । अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा एमाले फर्किइसकेपछि पार्टी र जनसंगठनका सबै तहका कमिटीहरुलाई पूर्ववत्ः अवस्थामा फर्काएर क्रियाशिल बनाउने, केन्द्रीय कमिटीको सन्दर्भमा, संख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा(माओवादी)को तर्फबाट नेकपा(एमाले)मा एकताको सन्दर्भमै रहनुभएका साथीहरुको व्यवस्थापन गर्ने विषय र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमती खोज्नु पर्थ्यो त्यो सन्दर्भमा धेरै हिसाबले हामी नजिक आइपुगेका छौँ ।’

नेता विष्टले एक प्रकारको अविश्वासले लामो समयदेखि हामीलाई परस्पर एकले अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिने परिस्थिति निर्माण भएको बताएका थिए । अन्तिममा अविश्वासको त्यो खाडल कम भएको बताउँदै उनले भने, ‘विश्वासको वातावरण निर्माण भएको छ, एकले अर्काको समस्याहरू बुझ्ने एउटा पक्षले अर्को पक्षको मनोविज्ञान बुझ्ने र समाधानका लागि त्यही ढंगले परस्पर सदभाव र सहयोगी भूमिकाका साथ अगाडि बढ्ने अवस्था देखा परेको छ, हामी विषय वस्तुकै हिसाबले धेरै बुँदाहरूमा सहमतिको नजिकमा छौँ ।’

सोमबारदेखि नेकपा एमालेको कार्यदल सक्रिय छ । आजको बैठकमा धेरै कुरामा सहमति नजिक पुगेको भन्दै भोलिको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरूले दाबी गरेका छन् ।

प्रतिक्रिया