शनिबार, असोज २, २०७८

पारिवारिक विरासत लिएर पदमा दाबी गर्न पाइन्न : डा. महत

मेरोन्यूज २०७८ असार २३ गते १४:४९

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था भएकाले योगदान गरेका र चाहाना राख्ने चुनावी प्रतिपर्धामा आउन सक्ने बताएका छन् । पार्टीको आसन्न महाधिवेश नजिकिँदै गर्दा उनले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलिएको बताए ।

Advertisement

विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै महतले पुर्खाको योगदान वा पुर्खौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गरे । पार्टीभित्रका तीन नेताका पुत्रहरूको भेटघाटलाई लक्षित गर्दै उनले पिताको योगदानबाट ब्याज खानेभन्दा योगदानका आधारमा स्थापित हुनु पर्ने दाबी गरे ।

भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै नेता महतले पार्टीमा ठूलो योगदान दिएका लाखौँ नेता कार्यकर्ताहरू रहेको स्मरण गराएका थिए । उनले आफू सभापति पदका लागि योग्य भए पनि उपसभापति वा महामन्त्रीमा उम्मेदवारी दिने बताए । महाधिवेशन नजिकिँदै गर्दा न्युज एजेन्सी नेपाल (नान)ले डा. प्रकाश शरण महतसँग गरिएको कुराकानी :

महाधिवेशन नजिकिएको छ, कत्तिको व्यस्त हुनुहुन्छ ?

हाम्रो महाधिवेशनलाई कोरोना भाइरस (कोभिड–१९)ले धेरै प्रभावित गर्यो । धेरैपटक कार्य तालिकामा संशोधन गर्नु पर्यो । नचाहँदा नचाहँदै यो परिस्थिति आयो । तर, नेतृत्वले सबै कठिनाईका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ । यसको तयारी सबै पक्षबाट भइरहेको छ ।

क्रियाशील सदस्यता नामावलीको टुंगो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुंगो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ । मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती बाँकी नै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।

नेतृत्वदायी पदमा धेरै आकांक्षी छन्, नयाँ आकांक्षीसमेत देखिएका छन्, यसलाई कसरी व्यवस्थापन गरिनु पर्छ ?

पार्टीको विधानले कोषाध्यक्षबाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ । पालिकाको वडादेखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ । यसबाट पहिलो पिँढी रामचन्द्र दाइ, शेर बहादुर दाइसँगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौँ ।

यसले सबै पदमा उम्मेदवार हुने संख्या बढेको छ । यस्तो अवस्थामा निर्वाचनले आफै व्यवस्थापन गर्छ । अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिस्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रुपमा कसलाई कहाँ मिलाउने भन्ने हुन सक्छ । तर, को निर्वाचित हुने ? विषय त निर्वाचनले नै व्यवस्था गर्छ । यसमा चुनौती र अवसर दुवै रहेको छ । त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ । जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई लाग्छ पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिन तयार छौँ ।

यसको बाबजुद राजनैतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टीभित्र सम्मान दिने संस्कार छ, सुझबुझ अनुभवको कुरा छ, कतिपय कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति हेर्नु पर्छ । अहिले विशिष्ट परिस्थितिमा हामी छौँ । यसलाई बुझेर नेतृत्व दिनु पर्ने प्रमुख विषय होे । पार्टी सम्हाल्ने कुरा बाहिर देखिए जस्तो हुँदैन । यसैले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्क नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना टिप्पणी होलान् देउवाको तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनु पर्छ भन्ने ठूलो संख्या छ ।

यसको अर्थ रामचन्द्र पौडेल, शेर बहादुर देउवा, शंशाक कोइराला, विमलेन्द्र निधीलाई एकै ठाउँमा लडाउने भन्नु भएको हो ?

यस्तो छ कुरा, अहिले उपसभापति दुई जना हुनुहुन्छ । पहिला एक जना हुनु हुन्थ्यो । महामन्त्री दुई जना निर्वाचित हुन सक्नु हुन्छ । यदि, हामीसँगै काम गरौँ, फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनु पर्छ भनेर त्याग्ने हो भने ठाउँ छ । होइन मपछि गर्र्दिन अहिले नै हुनु पर्छ भन्ने कुरा आयो भने अवश्य समस्या आउँछ ।

पहिलो पुस्ता नेतृत्वमा दोहोरिनु भयो भने तपाईहरूको राजनीतिक अवधि पाँच वर्षपछाडि धकेलिने छ, योबारे कठोर भएर निर्णय गर्नु पर्ने होइन र ?

म आफूलाई नेतृत्वको लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनु हुन्छ । हाम्रो अग्रज रहनु भएका दाइहरू हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा हुन्छ भन्ने थाहा भएर पनि पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सार्न्दभिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छौँ ।

हामी केही वर्षपछि धकेलिने छौँ । तर, हामी त्यो दाबी गरिरहेका छैनौँ । मेरो कुरा गर्नु हुन्छ भने म सहमहामन्त्री भइसकेँ । सबै किसिमको अनुभव छ । तर, सभापति दाबी गरेको छैन । यस्तै अरु साथीहरूले पनि माथि दाबी गरिरहनु भएको छ । जस्तै विमलेन्द्र जी हुनु हुन्छ । निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेकाहरू फेरि, नबन्ने दाउमा पुग्नु होला । कतिपय उम्मदवारी नै नदिएका साथीहरू अगाडि सर्नु होला । त्यसैले अहिले यस्तो भइसक्यो भन्ने अवस्था आएको छैन ।

पछिल्लो समय चर्चामा रहेको प्रसंग शीर्ष ३ नेताका सुपुत्रहरू संयोगले सबैको पार्टीभित्र अलग अलग योगदान छ । यसलाई बंश वा नाताले जोड्नु पर्दैन । तीनै जनाको घरमा लञ्च मिटिङ भयो, यसले नयाँ गुट जन्मायो कि भन्ने छ । यसलाई कसरी हेर्नु भएको छ ?

उहाँहरूको भेटघाट मात्रैको कुरा त केही होइन । तर, हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सिमित रहेर बैठक बस्यो । यसलाई आम कार्यकर्ता पंक्तिले सहज रुपमा लिएको छैन । यो पार्टी समग्र जनताहरूको छोराछोरीको पार्टी हो । उहाँका पिता जीहरूले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान छ । तर, यो पार्टी त मेरो बुबा मेरो आमा नेता थिएनन् भने मेरो काम र योगदानका आधारमा स्थापित हुन सक्छौँ नि ।

हामी पार्टी सबै वर्ग, क्षेत्र आउनु पर्छ भनिरहेका छौँ । उहाँहरूले जसको बुबाहरू नेता हुनु हुन्थ्यो, त्यसमा मात्रै सिमित भएर पटकपटक बैठक बस्नु भयो । यसले उहाँहरूका लागि सकारात्मक संदेश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौँ नेता कार्यकर्ता छन् । सबैको धेरै थोरै योगदान छ । कतिपय अवस्थामा उहाँहरूले गरेको भन्दा बढी योगदान गरेका साथी छन् । यसकारण हामी मिल्यौँ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रुपमा स्वीकार गर्दैनन् ।

अब शेरबहादुर देउवाको विकल्प खोज्नु पर्छ भन्ने छ नि ?

विकल्प खोज्दा नेता पुत्रमा नै सिमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाइन्छ । पिता नेता नभएका अरु योग्य पात्र छन् नि । विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिस्पर्धा छ । तर, यसमा नै सिमित हुनुपर्छ भन्ने छैन ।

लामो समय शेरबहादुर देउवालाई साथ दिनु भएको विमलेन्द्र निधी सभापतिको उम्मेदवार हुन्छु भन्नु भएको छ, यसलाई कसरी मूल्यांकन गर्नु भएको छ ?

शेरबहादुर जीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्र जीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीले विमलेन्द्र जीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ । समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि, उहाँ (विमलेन्द)ले लड्छु भन्नु भएको छ । तर, म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ ।

त्यसपछि एउटा आम समझदारी बन्न सक्दछ भन्ने मलाई लागेको छ । तर, उहाँ आफै उम्मेदवारी दिन योग्य हुनु हुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्यो, अलग अलग बाटो लागिसक्नु भयो भन्ने मूल्यांकन अलि अपरिपक्क हुन्छ ।

सबैले आआफ्नो उम्मेदवारी दाबी गरिसक्नु भएको छ, तपाईको दाबी कुन पदमा हो ?

पार्टी सभापति स्वयम्ले साथीहरूको बीचमा भने पनि औपचारिक रुपमा घोषणा गर्नु भएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नु भएन । तथापि म सहमहामन्त्री भइसकेको छु । पहिला नै महामन्त्रीको लागि दाबी थियो । त्यसको लागि योग्यता र पृष्ठभूमि छ । सभापति पदमा शेरबहादुर दाइ आफै लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु ।

नेतृत्व तहसँग प्रारम्भिक कुरा भएको छ । यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपर्युक्त भनेर अहिले नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।

नेतृत्वले तपाईलाई यो पदमा तयार हुनुहोस् भन्नु भएको होला नि ?

यी कुराहरू भइसकेको छ । यी कुरा नभई म यसरी बोल्ने थिइनँ । त्यो राम्रो पनि हुँदैन । हामी संस्कार अगाल्छौँ । उत्ताउलो भएर राजनीति कहिले गरेनौँ । यस विषयमा छलफल भएको छ । तर, औपचारिक रुपमा घोषणा कसैको नभएको अवस्थामा मैले नगरेको हुँ । तर, म सहमहामन्त्रीभन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु ।

प्रतिक्रिया