शनिबार, वैशाख १५, २०८१

सुजिता भण्डारी हत्या प्रकरण, चितवनमा भाेलि बेलुकासम्म कर्फ्यु

मेरोन्यूज २०७८ असार २२ गते १९:५६

काठमाडाैं । सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा कर्फ्यु लगाएको छ। कर्फ्यु आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मका लागि जारी गरिएको छ ।

भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको हाे । केहि घण्टादेखि भण्डारीको गृहनगरअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५०० मिटरभित्र सम्म पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुङ्गामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदङ्गा गरी सार्वजनिक शान्ति भङ्ग गर्न सक्ने अवस्था देखिएकाले कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।

राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो । आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ ।

यसैबीच, प्रदर्शनकारी र प्रहरीबीच आज साँझ झडप हुँदा आठ प्रहरी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले दिनुभएको जानकारी अनुसार सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकसहित चार जना र नेपाल प्रहरीका चार जना घाइते भएका छन् ।

घाइतेको उपचारको लागि भरतपुर ल्याइएको छ । असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिताको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो । उनको शव आज नै परीक्षणका लागि काठमाडौँ पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया