बुधबार, वैशाख १२, २०८१

मिल्ने दिशामा ओली-नेपाल : दुवैलाई मिल्नै पर्ने यस्ता छन् बाध्यता

शित्तल शर्मा २०७८ असार २२ गते १८:१३

काठमाडौँ । महिनौको अन्तर संर्घष झेलेपछि नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल मिल्ने दिशातिर केन्द्रीत हुन थालेका छन् । दुवैका आ-आफ्नै सीमा र बाध्यता देखेपछि नेताहरू क्रमशः मिल्ने दिशामा केन्द्रीत हुन खोजेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठन गरेर निक्रिय रहेको कार्यदल ब्यूँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै ओली र नेपालका बीचमा वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि अब एमालेमा मिलापको ‘रोडम्याप’ तयार हुन लागेको हो ।

दुवै पक्षलाई मिल्नकै लागि बाध्यता आफ्नै खालको छ । पार्टी सञ्चालनका विषय र सरकारका विषयमा एउटा मोडेल तयार हुने वित्तिकै दुवै पक्षका बीचमा लम्बिदो विवाद साम्य भएर पार्टी एकताबद्ध भएर जाने नेताहरुको बुझाई छ । त्यसैको ‘फेमवर्क’मा अहिले कार्यदलका नेताहरुले गृहकार्य गरिरहेका छन् ।

त्यसमा सहमति जुटने वित्तिकै ओली र नेपालको नाममा संयुक्त वक्तव्य आउने गरी तयारी अन्तिम चरणमा छ । सहमतिको तयारी र एकताको सन्देश दिने गरी ड्राफ्ट बनाउने गरी प्रधानमन्त्रीका तर्फबाट विष्णु रिमाल र नेपालका तर्फबाट रघुजी पन्तले भित्रियाका रुपमा भूमिका खेलिरहेको नेताहरुको भनाई छ ।

आइतबार दिउँसोसम्म ओली नेपाल आ–आफ्नै शर्त र अडानमा ‘टसमस’ थिएनन् । ओलीले नेपाल पक्षलाई अदालतमा गरेको २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अगाडि सारेका थिए । नेपाल पक्षले भने आफू विपक्षी गठबन्धनलाई धोका दिन नसक्ने भन्दै राजीनामा फिर्ता नहुने अडानमा दृढ रहेको थियो ।

जब ओलीले आइतबार राति नेपाल निकटका नेता उपाध्यक्ष भीम रावललाई बालुवाटार छलफलमा बोलाए, त्यसपछि भने त्यहाँ भएको झण्डै तीन घण्टाको छलफलले बनाएको राजनीतिक वातावरणले अहिले एमालेभित्रको विवाद सल्टिने दिशामा पुगेको अनुमान लगाउन सकिन्छ ।

त्यही भेटवार्तापछि कार्यदल ब्यूँतिएको थियो । कार्यदलले हिजो साँझ एक चरण यसबीचमा अनौपचारिक छलफलमा भएका विषयलाई औपचारिक रुपमा कार्यदल बैठकमा ‘एड्र्रेस’ गराएको छ । यसैमा विषय केन्द्रीत गरेर नेताहरुले घनीभूत छलफल शुरु गरेका छन् ।

कार्यदलको दोस्रो दिनको बैठकमा दुवै तर्फका नेताहरुले आआफनो ढंगले विषय केन्द्रीत रहेर धारणा राखेका थिए । सवैको एकसरो धारणा आजको वैठकमा आएपछि वैठक फेरि भोलि विहान साढे ८ वजे वस्नेगरी नेताहरु उठेका छन् ।

अव वैठक भोलि विहान बस्नेछ ।

त्यहाँ सहमति निस्केमा भोलिसम्ममा ओली र नेपालका तर्फबाट संयुक्त वक्तव्य आउने सम्भावना अधिक छ । एमाले स्थायी समिति सदस्य समेत रहेका नेता भीम आचार्यका अनुसार दुवै पक्षका नेताहरुले अनौपचारिक तहमै छलफल गरेर मस्यौदा बनाइसकेका छन् ।

‘अनौपचारिक छलफलका क्रममा मस्यौदा करिब तयार भएको छ । त्यही मस्यौदालाई कार्यदल तहमा छलफल गरेर सहमति जुटने वित्तिकै सम्भव भएसम्म बुधबारै, नभए बढीमा दुई दिनभित्रै संयुक्त वक्तव्य जारी गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाइने काम हुन्छ,’ आचार्यले मेरोन्यूजसँग भने ।

खासगरी तीन बुँदे सहमतिको प्रयास कार्यदल तहमा खोजी जारी छ । पार्टीलाई जेठ २ मा फर्काउने र त्यसवेलाका सम्पूर्ण पार्टी संरचना क्रियाशिल गराउने, प्रतिनिधिसभा विघटनका सर्न्दभमा अदालतमा पुगेको मुद्दामा अब अदालतले जे निर्णय दिन्छ । त्यसलाई दुवै पक्षले मानेर जाने, त्यसमा आग्रह-पूर्वाग्रह नराखिने र अदालतको निर्णयपछि भने अब के गर्ने भन्नेमा एमालेको बैठक बसेर गर्ने निर्णयलाई दुवै पक्षले मानेर एकताबद्ध भएर जाने गरी छलफल अगाडि बढेको नेताहरूको भनाई छ ।

अव नेताहरुका वीचमा कुरा नमिले पार्टी सञ्चालन र सरकारका विषयमा मात्र नमिल्न सक्ने एक नेताले बताए । नेपाल पक्षले सरकार सञ्चालनका सन्दर्भमा यही सरकारको निरन्तरताभन्दा पनि एमाले नेतृत्वको सरकारको निरन्तरता हुनपर्ने आवाज उठाएको छ । त्यो भनेको ओलीको विकल्प पनि खोजेर आवश्यक परे जानुपर्छ भन्ने हो । तर ओली पक्ष अदालतको निर्णयले संसद पूर्नस्थापना भएर आएपनि यही सरकारको निरन्तरताको विषय मस्यौदामा राख्नुपर्ने पक्षमा अझै अडिग छ ।

त्यस्तै पार्टी सञ्चालनमा पनि निर्वाचन आयोगदेखि अन्यत्र पार्टी काममा पनि माधव नेपालसमेतको हस्ताक्षर चल्ने गरी अर्थोरेटीको कुरा खोजेको छ । नभए पहिले नै आउने चुनावसम्म टिकट वितरणसम्ममा ६०–४० प्रतिशतका आधारमा पहिले नै सुनिश्चितता खोजेको छ ।

यो विषयमा पनि कार्यदल तहमा छलफल भए पनि यसमा भने ओली र नेपाल दुवैले बसेर सहमित खोज्नु पर्ने विषय उठेको छ । तर यति विषयमा मात्र अल्झेर एकतालाई टुटाउन नहुनेमा एमालेकै एकता पक्षधर नेताहरु लागेका छन् ।

कार्यदल तहमा यही विषय तिर नेताहरुका जोडकोण फरक परेको देखिन्छ । त्यही भएर पनि होला, मंगलवार कार्यदलको वैठक सकेर वाहिरिने क्रममा नेपाल पक्षका नेता रघुजी पन्तले वुँदागत विषयमा छलफल जारी रहेको तर विवाद टुंगिन पनि सक्ने या नटुग्गिन पनि सक्ने बताए ।

साझा निष्कर्ष निकाल्ने प्रयास कार्यदल तहमा छ ।

यस्ता छन् ओली–नेपाललाई मिल्नै पर्ने बाध्यता

१) पार्टीभित्रकै चर्काे दबाब

एमाले पहिला पनि विभाजन भइसकेको थियो । महाकाली सन्धिको विषयलाई लिएर एमालेमा विवाद हुँदा साहना प्रधान, बामदेव गौतम र सिपी मैनालीहरुले एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए । तर, एउटै निर्वाचनको झोक्काले गौतमलगायतको ठूलो पंक्ति फेरि एमालेमै मिल्न आए ।

फुटेर जाने पार्टीको भविष्य राम्रो देखिएन । चाहे त्यो एमाले फुटेर गएको मालेको होस्, या अन्य विभाजित पार्टीकै किन नहोस् । जसका कारण पनि जर्वजस्त मिल्नुपर्ने दबाब ओली र नेपाल दुवै नेतालाई छ । आन्तरिक समीक्षा गर्ने र मिलेरै जानुपर्ने दबाब पार्टीभित्रैबाट ओली र माधव नेपाल दुवैले महसुस गरेका छन् । जसले पनि मिल्नु पर्ने बाध्यतामा ओली–नेपाल छन् ।

२) विगतको अनुभव

विगतका चुनावी अनुभवले पनि दुवै नेतालाई मिलेर जानुपर्ने बाध्यता सिर्जना गरेको छ । एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर गत प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा गए पनि उक्त चुनावमा पनि कतिपय यस्ता निर्वाचन क्षेत्र छन्, जहाँ एमाले उम्मेदवारले एकदम कम मतले मात्र चुनाव जितेका थिए ।

त्यसमाथि माओवादी अहिले न पार्टी एकतामा छ, न चुनावी मोर्चामै सहभागी हुने अवस्था छ । त्यसमाथि माधव नेपाल समूह पार्टी छोडेर हिँड्दा पुग्ने क्षति अनुमान गरेभन्दा भिन्न हुन सक्छ । यो विगतको चुनावी अनुभवलाई हेरेर पनि ओली र नेपाल दुवैलाई मिल्नै पर्ने दबाब सिर्जना भएको छ ।

३) ओलीलाई सत्ता टिकाउने र नेपाललाई गुट जोगाउने चिन्ता

प्रधानमन्त्री केपी ओलीलाई सरकार जोगाउने चिन्ताले सबैभन्दा बढी लागेका छन् । कथंकदाचित सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गरिदिएको खण्डमा आफूले नेतृत्व गरिरहेको सरकार नटिक्ने पो हो कि भन्ने चिन्ताले ओलीमा घर गरेको छ । त्यसैले उनी नेपाल समूहका मागमा लचिलो बनेर भए पनि आफ्ना अप्ठारा फुकाउने कोसिसमा छन् । उनी अदालतले संसद पुर्नस्थापना गरिदियो भने पनि त्यसपछि नेपाल समुहलाई पार्टीभित्रै बन्धनमा पार्ने र विपक्षी गठबन्धनका नेताहरु शेरबहादुर देउवा र प्रचण्डको चंगुलमा पर्न जान नदिने रणनीतिमा लागेका छन् । सोही कारण पनि उनी नेपालसमक्ष एक कदम लत्रिने तर आफ्नो सरकार जोगाउने अभियानमा छन् ।

उता नेपाल पक्षभित्रै ओलीले खेलेर नेपाललाई कमजोर बनाउने प्रयत्न गरिरहेका छन् । सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु पार्टी फुटाउने पक्षमा देखिदैनन् । युवा पुस्तामा प्रभाव जमाउन सकेका मध्येबाट घनश्याम भुषालमात्र अहिलेसम्म आफूसँग रहेको र उनलाई पनि अन्तिम अवस्थासम्म टुटाउने योजनामा ओली रहेकाले कमजोर अवस्थामा रहनुभन्दा अगावै नेपाललाई पनि मिल्नुपर्ने प्रेसर उत्तिकै थियो ।

४) ओलीलाई अझै चुनावमा बहुमतकै आश

ओलीलाई लागेको छ-उनी नेतृत्वको सरकारले प्रभावकारी काम गरेको छ । जनताका बीचमा धेरै काम गरिएको छ । भलैं, त्यो जनताले गर्ने मूल्यांकन आफ्नै ठाउँमा छ । तर, ओलीलाई अझै एमाले मिलाएर लैजान सकियो भने चुनावमा एमालेकै बहुमत ल्याउन सकिन्छ भन्ने विश्वास देखिन्छ । तर, एमाले विभाजन भएमा त्यो अवस्था नहुन सक्छ भन्ने वुझाईमा ओली पुगेको हुनसक्ने अनुमान एमाले वृतमा छ ।

बलियो प्रतिपक्षी नहुनु र जनमत झै पनि बामपन्थीकै रहेको देखिनुले ओलीले आउँदो चुनावमा पनि एमालेको बहुमत जुटाउन सकिन्छ भन्ने बुझाई रहेकाले उनी बरु नेपालसँग केही लचिलो बनेरै भएपनि एकता जोगाउन पछिल्लो दिनमा देखिन खोजेका हुन सक्ने विश्लेषण छ ।

५) माधवलाई आफूले लिएको अडान ठिक लाग्नु

एमालेमा ओलीलाई माधव नेपालले जति बुझेका छन्, अरु नेताले त्यक्ति बुझेका छैनन् । ओलीको शील स्वभावदेखि आनीबानी र कार्य शैलीमा चट्टानी अडान लिएर प्रतिवाद गर्न नसक्ने हो भने ओली सितिमिति झुक्दैनन् भन्ने माधव नेपालको बुझाई थियो । त्यही कारण पनि नेपालले अन्तिमसम्म ओलीसँग सम्झौताहिन लडाई जारी राख्नुपर्छ भन्ने रणनीति लिएका थिए ।

उनले ओलीसँग अन्तिमसम्म भिड्ने, समानान्तर पार्टी गाउँ, वडा तहसम्मै बनाउने र आवश्यक परे पार्टी विभाजनकै अप्रिय बाटो पनि लिने गरी स्टाटेजी बनाए । त्यही स्टाटेजीका साथ नेपाल अन्तिमसम्म लडे । अहिले पनि लड्दैछन् । यसमा नेपाल सफल देखिएका छन् । जसका कारण पनि ओलीलाई झुक्न पर्ने र आफ्नो कदमबाट पछि हट्न बाध्य पार्ने काम नेपालले आफूले लिएको अडानबाट बनाए । उनले कम्युनिष्ट केन्द्र निर्माणसम्मको योजना बनाएर संरचनासहितका सबै तयारी नै गरेर अगाडि बढेका थिए ।

नेपालले यसरी लिईरहेको अडानले ओलीलाई पनि लाग्न थाल्यो, अब पनि केही लचिलो आफू नवन्ने हो भने पार्टी एकढिक्का रहँदैन । त्यसपछि ओलीमाथि उनकै समुहका नेताहरुको दबाब बढी पर्न थाल्यो । जसका कारण सितिमिति नझुक्ने ओली सम्झौता खोज्न नेपालसामु लचक हुने अवस्थामा पुगे । यसले पनि दुवैलाई मिल्न नै दबाब बढाएको छ ।

प्रतिक्रिया