शुक्रबार, वैशाख ७, २०८१

जनकपुरबाट फर्केर सीधै माधव नेपाल निवास किन पुगे प्रचण्ड ?

उता सिंहदरवारमा एमाले मिलाउन कार्यदल वार्ता, यता नेपाल निवासमा प्रचण्ड-नेपालको छुट्टै वार्ता

मेरोन्यूज २०७८ असार २२ गते १४:१८

काठमाडौं। एमालेभित्रको विवाद मिलाउन सिंहदरबारमा कार्यदल तहको छलफल दोस्रो दिन जारी रहेका बेला उता माधव नेपाल निवासमा प्रचण्ड र माधव नेपालवीच भेटवार्ता शुरु भएको छ । एमालेभित्रको विवादमा निष्क्रिय रहेको कार्यदल फेरि ब्यूँतिएर सहमति खोजी भइरहेका बेला प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्केका प्रचण्ड एयरपोर्टबाट सीधै माधव नेपाल निवास गएका हुन् । केहीबेर अगाडिबाट त्यहाँ प्रचण्ड र नेपालका वीचमा भेटवार्ता शुरु भएको नेपालको निजी सचिवालय स्रोतले जनाएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठन गरेर निष्क्रिय रहेको कार्यदल ब्यूँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै ओली र नेपालका बीचमा वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि एमालेभित्रको विवाद करिब मिल्ने दिशामा गएको थियो ।

सोमबार देउवा निवासमा देउवा, प्रचण्ड र नेपालका बीचमा छलफल गर्ने तयारी भए पनि साझ नेपाल छलफलमा समेत पुगेका थिएनन । त्यसपछि भने नेपाल निवासमै प्रचण्ड पुगेका हुन् । ओलीपक्षले नेपाललाई विपक्षी गठबन्धनबाट अलग्गाउने प्रायस गरिरहेको छ ।

एमालेमा देखिएको यो एकताको पछिल्लो प्रयासपछि विपक्षी गठबन्धन अब माधव नेपालको सहभागिता के होला ? भन्ने प्रश्न उठ्न थालेको छ । त्यही बेला प्रचण्डको नेपाल निवासमा शुरु भएको भेटवार्तालाई निक्कै अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया