मंगलबार, जेठ ८, २०८१

युरोकप २०२० को चर्चित घटनाहरू, जहाँ नियम नै परिवर्तन भयो

आयुश राठौर २०७८ असार २२ गते १२:२४

काठमाडौँ । जारी युरोकप २०२० मा साबिक विजेता पोर्चुगल र उपविजेता फ्रान्स अप्रत्यासित रुपमा बाहिरिसकेका छन् । नकआउट चरणमा बेल्जियमसँग पोर्चुगल पराजीत हुँदा स्विजरल्याण्डसँग फ्रान्स पराजीत भएको हो ।

Advertisement

खेलबाट बाहिरिसके पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, फ्रान्सका खेलाडी पाउलो पोग्बा, टोनी क्रुस, यान सोमरलगायतका खेलाडीहरूको चर्चा सेलाएको छैन । जारी युरोकपमा चार खेल खेल्दै ५ गोल गरेका रोनाल्डोले यसै प्रतिस्पर्धाबाट सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने । यस्तै, सोही प्रतियोगितामा चर्चामा आएका केही विषय यस प्रकारका रहेका छन् ।

नम्बर १ को हार

फुटबलको आधिकारिक निकाय फिफाको नम्बर एक स्थानमा बेल्जियम रहेको छ । यस टिमले आफू शीर्ष स्थानमा हुँदै गर्दा चार ठूला प्रतियोगिता (विश्वकप र युरो) खेल्न अवसर पायो । तर, एउटा उपाधि जित्न सकेको छैन ।

सन् २०१८ विश्वकपको सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग पराजीत भएको थियो । त्यसपटक बेल्जियम तेस्रो भएको थियो । जारी युरोकपको मुख्य दाबेदारका रुपमा हेरिएको बेल्जियम सेमिफाइनसम्म पुग्न सकेन ।

साविक विजेतालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको बेल्जियम उत्कृष्ट फर्ममा रहेको इटालीसँग पराजीत हुँदै घर फर्किएको छ । बेल्जियमको गोल्डेन जेनेरेसनले भरिपूर्ण यस टिमले अब विश्वकप २०२२ मा पहिलो उपाधि जित्ने ठूलो मौका हुन सक्दछ । यदि, केही हासिल गर्न सकेन भने बेल्जियमको गोल्डेन जेनेरेसनको दुःख अन्त्य हुने छ ।

बोतल हटाउँदा ५ खर्ब घाटा

पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका बोतल हटाएर पानी पिउँदा कोकाकोलाको शेयर मूल्यमा ४ अर्ब डलर घाटा भएको छ । उनले युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा पत्रकार सम्मेलनका क्रममा उनले कोकाकोलाको बोतल हटाएका थिए ।

हंगेरीविरुद्ध दुई गोल गर्दै म्यान अफ दि म्याच भएका उनले पत्रकार सम्मेलनका क्रममा कोकाकोलाको बोतल हटाउँदै पानी पिएका थिए । रोनाल्डो स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस खादैनन् ।

यस्तै, एक खेलमा फ्रान्सका खेलाडी पाउल पोग्बाले हेनकेन वियरको बोतल हटाएका थिए । उनले धार्मिक आस्थालाई ध्यान दिँदै वियरको बोतल हटाएका हुन् । उनी मुस्लिम धर्मका अनुयायी हुन् ।

विश्व विजेताको हार

जारी युरोकपमा विश्वकप विजेता टिमहरू एकपछि अर्को गरी बाहिरिए । तर, इटाली र स्पेन प्रतिस्पर्धामा नै रहेका छन् । यस प्रतियोगितामा ४ पटकको विश्व विजेता जर्मनी र २ पटकको विश्व विजेता फ्रान्स अन्तिम १६ बाट नै बाहिरिएका हुन् ।

फ्रान्स अन्तिम १६ को खेलमा स्विटजरल्याण्डबाट पराजित बनेको हो । स्विटजरल्याण्ड टिम ३–१ ले पछि परेको अवस्थाबाट बाहिर निस्कदै अन्तिम ५ मिनेटमा बराबरी गोल गर्दै ऐतिहासिक जित हासिल गर्यो । थपिएको अतिरिक्त समयमा समेत बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट आएको थियो ।

स्विटजरल्याण्डका गोलकिपर यान सोमरले केलियन एम्बाप्पेको पेनाल्टी प्रहार रोकेपछि फ्रान्स प्रतियोगिताबाट बाहिरियो ।

यस्तै, चारपटक विश्वकप र तीन पटक युरो कप जितेको जर्मनीसमेत प्रतियोगिताबाट बाहिरिन पुग्यो । जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्डले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्यो । उता जर्मनी अप्रत्यासित रुपमा बाहिरिनु पर्यो ।

नियम नै परिवर्तन

प्रतियोगितामा रोनाल्डोले कोकाकोला र पोग्बाले हेनकेन वियरको बोतल हटाएसँगै नियम नै परिवर्तन भएको छ । ​त्यस्तै, इटालीका म्यानुयल लोकाटेल्लीले पनि कोकाकोलाको बोतल भएका ठाउँमा पानी राखेका थिए ।

प्रायोजकहरूले उपलब्ध गराएका पेय पदार्थका बोतल खेलाडीले वरपर सारे मात्र पनि सम्बन्धित टिममाथि जरिवाना हुने युइएफएले जनाएको हो । प्रतियोगिता आयोजना र फुटबलको विकासमा सहकार्य आवश्यक भन्दै प्रायोजकले उपलब्ध गराएको सामाग्री हटाउन नपाउने भएको हो ।

युइएएफए युरो २०२० प्रतियोगिताका निर्देशक मार्टिन केल्लेनले प्रतियोगिताको नियमहरू खेलाडीले पालना गर्नु पर्ने बताएका थिए । यद्यपी, उनले पोग्बाजस्ता खेलाडीले धार्मिक कारण देखाएर बोतल हटाएको विषयलाई आफूले बुझ्ने बताए ।

युइएफएले सीधै खेलाडीलाई भने कारबाही गर्नेबारे जानकारी गराएको छैन ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया