शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं उपत्यकामा आजबाट जोर/विजोर प्रणाली हट्यो, अब सबै सवारी साधन गुड्न पाउने

मेरोन्यूज २०७८ असार २२ गते ९:४२

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर/विजोर प्रणाली आजबाट हटेको छ ।

उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सवारी साधनमा जोर÷विजोर प्रणाली हटाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सवारी साधन सञ्चालनमा लगाइएको जोर विजोर प्रणाली हटेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ ।

सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन ।

स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधानसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ । आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ ।

सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने अझै पूर्ण रोक लगाइएको छ । यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिसमेत गर्न पाइने छैन ।

स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने तर औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहनेछ ।

अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।

सफा टेम्पो र निलो माइक्रो बसलाई पछाडिको तेर्सो सिटमा चार/चार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ ।

गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्नेछ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न सकिने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेशमा उल्लेख छ । थप गरेको निषेधाज्ञा आजबाट लागू भएको छ ।

प्रतिक्रिया