शनिबार, वैशाख १५, २०८१

जनतामा जाने कसैसँग हिम्मत छ ? : देवेन्द्र दाहाल

मेरोन्यूज २०७८ असार २१ गते १५:०५

काठमाडौँ । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले पहिलोपटक विघटित प्रतिनिधिसभा पुनस्र्थापनापछि केही काम गर्न नसकेको भन्दै निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे ।

उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरू कसैसँग जनतामा जाने हिम्मत नभएको बताएका थिए । उनले भने, ‘विपक्षीहरू कसैसँग जनतामा जाने हिम्मत देखिदैन ।’

उनले संसदीय अभ्यासको नाम गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे । निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनु पर्यो भन्दै वरिष्ठ नेताहरू हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लागेको उनको आरोप थियो ।

सरकारले कोभिड–१९ दोश्रो लहरको समयमा अत्यावश्यक अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे । उनले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे ।

संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए । बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुनस्र्थापनाको माग गरे ।

प्रतिक्रिया