शुक्रबार, वैशाख १४, २०८१

मेलम्ची क्षेत्रको अवलोकनपछि उब्जेको प्रश्न : अब कसरी गर्ने पुनर्निर्माण ?

जनक शाह २०७८ असार २१ गते १४:२०

यसपटक मनसुन छिटो आयो । र, लामो समयसम्म रहने अनुमान मौसमविद्हरूले गरेका छन् ।

प्रत्येक वर्ष बाढी पहिरोबाट ठूलो धनजनको क्षति हुँदै आएको यर्थातता हुँदाहुँदै सरकारले पूर्वाभास कहिले गर्न सकेन । सरकारी आँकडाअनुसार यसपटक अहिलेसम्म बाढी, पहिरो जस्ता मनसुनजन्य विपदले नेपालभर २२ जिल्लामा ३९ जनाको दुःखद मृत्यु भएको छ भने ३१ जना बेपत्ता र ४६ जना घाइते भएका छन् ।

यसैगरी पाँच सय ७२ घर परिवार विस्थापन हुन पुगेका छन् । यसबाहेका अन्य विकास पूर्वाधारहरू जस्तै मोटरेबल पुल, झोलुंगे पुल, आदिमा ठूलो क्षति पुगेको छ । भौतिक क्षतिको पुनः निमार्ण र पीडितहरूका व्यवस्थापन र वैज्ञानिक पुनः स्थापन चुनौतीपूर्ण बन्न गएको छ ।

यसै श्रृंखलामा गत असार १ गते अप्रत्यसित रुपमा आएको अनौठो प्रकारको बाढीले हेलम्बुदेखि पुरानो मेलम्ची बजारसम्मको खोलाले ठूलो क्षति पुर्याएकोे छ । स्थानीयका अनुसार बस्ती नै सखाफ पार्ने मेलम्ची नदीको त्यस्तो प्रकारको रौद्र रुप कहिल्यै देखिएको थिएन । मनसुनको शुरुवातमा नै आएको यस्तो बाढीले मेलम्ची बजारलाई नै उठिबास लगाएको छ ।

तर, मेलम्ची खोलामा लेदोसहितको असामान्य बाढी कुन कारणले र कसरी उर्लियो प्रश्न अनुत्तरित नै छ । मेलम्ची बाढीको प्रकृति हेर्दा धैरै वर्षा नभई बाढी आएको देखिन्छ । यसबारे सरकारी पक्षले अझै ठोस रुपमा यकिन गर्न सकेको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन टोली बनाउनेबाहेक अरु ठोस निष्कर्ष निकाल्न सकेको छैन । यस्तै, त्यस क्षेत्रमा भएको भौतिक पूर्वाधार, बजार क्षेत्रको व्यवसाय तथा व्यवसायिक भवन, निजी घर, मेलम्चीमा रहेको पुललगायत कृषिमा पुगेको क्षतिबाट उद्यमीहरूले ठूलो नोक्सान ब्यहोर्नु परेको छ ।

स्थानीयहरू तथा प्रहरी प्रशासनको सर्तकताले मानवीय क्षतिबाट भने मेलम्ची बजार बचेको थियो । मनसुनको सुरुवातसँगै आएको यस्तो प्रकारको ठूलो बाढीबाट मेलम्चीबासीको ज्यान त जोगिएको छ, तर बजार जोखिमुक्त हुन सकेको छैन ।

मेलम्चीमा आएको बाढीका सम्बन्धमा स्थानीय पीडितहरूको चिन्ता तत्कालीन राहत भन्दा समग्र बजार क्षेत्रको संरक्षण कसरी हुन्छ भन्ने रहेको भेटिन्छ । हजारौँ रोपनी खेती योग्य जमिन करिब २० फिट लेदो थुप्रिएको छ । पूरै बगर बनेको छ ।

घर, पसल, होटेल, रिर्सोटहरूको भवन तलासम्म बालुवा र लेदोले पुरिएको छ । अर्बौं रुपैयाँ बराबरको ऋण र धितो जोखिममा रहेको छ । व्यवसायीहरूलाई ब्याज कसरी तिर्ने भन्ने चिन्ता रहको छ ।

सरकारद्वारा बजार क्षेत्रको कटान रोकथामका लागि तत्काल केही उपाय अवलम्बन गरिहाल्नु पर्ने स्थानीयहरूको माग जायज नै रहेको छ । तत्काल खोला, खेत पाखा, जमिनमा जमेका लेदो भाँसिएका रुख, गाडी, पुललगायत पूर्वाधार सामाग्रीको अवशेषलाई चाँडै खोलाबाट निकाल्न सके तत्कालै अर्को बाढी आए थप क्षति हुन पाउँदैन थियो ।

स्थानीयबासीले आफ्नो भौतिक पूर्वाधार जोगाउन माग गर्दै आएका छन् । उनीहरूको माग जायज नै छ । स्थानीय र केन्द्र सरकारले यसतर्फ तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

बैंकबाट ठूलो मात्रामा ऋण लिएर अलपत्र परेका उद्यमीहरूको पुर्नउत्थानका लागि सरकार र वित्तीय संस्थाहरूले कर्जा भुक्तानी म्याद थप, कर्जा पुर्नसंरचना तथा ब्याज छुटको सुविधा पीडितहरूलाई दिनु पर्ने देखिन्छ ।

मेलम्ची बजारलाई बचाउने हो भने नदीको बहावलाई प्राकृतिक स्वरुपमा फिर्ता गर्न बृहत रुपमा तटबन्ध निर्माण गर्नु पर्ने आवश्यक रहेको छ । तीनै तहका सरकारले बेलैमा ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

यसरी अप्रत्यासित रुपमा मेलम्ची बजारसँग जोडिएको खोलमाा आएको बाढीले बजार क्षेत्रमा पुर्याएको क्षति अपुरणीय हुँदा हुँदै पनि पुनः निर्माण कार्यका लागि समय हुँदै राज्यको ध्यान केद्रीत गर्नु पर्ने देखिन्छ । तत्काल राहत व्यवस्थापन, सहयोग, पुनः स्थापन तथा वर्षायाममा आउन सक्ने सम्भावित बाढीको रोकथामका लागि यथाशीघ्र युद्ध स्तरमा कार्य गनु पर्ने स्थानीय सरोकारवालाको माग रहेको छ । उनीहरूको माग सम्बोधन गर्नु पर्ने जरूरत रहेको छ ।

लेखक शाह राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् अर्थविद् हुन् ।

प्रतिक्रिया