बुधबार, वैशाख १२, २०८१

पहिरोले ७ घर भत्किए, लाखौँ मूल्य बराबरको क्षति

मेरोन्यूज २०७८ असार २० गते २०:३२

काठमाडौँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा ७ घर भत्किएका छन् । त्यसका साथै लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

राक्सिरागङ ७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो । यस्तै, केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुुगुंवागंमा वुद्धिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ ।

यस्तै सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराले बगाएको छ । अन्य चारा घर जोखिममा रहेको बताइएको छ । पानी परिरहेकाले प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले जानकारी दिए ।

त्यसैगरी बिकट क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराले भत्काएको छ । गाउँपालिकाका विपद् व्यवस्थापन समितिका ‘फोकल पर्सन’ श्यामकुुमार महतोका अनुसार धेरै खेतहरू पहिराले पुरिएको र चौपायाहरू मरेका छन् ।

कैलाशको वडा नम्वर १० का ३५ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । सो वडाको विभिन्न स्थानमा गएका पहिराले घर जोखिममा परेको हो । स्थानीय मिरा स्याङ्तानका अनुसार सो वडाको सुकुभज्यागङ्, दरवार डाँडा, दुवेखेत, खोला खेत, तिलडाँडामा गए राति परेको अविरल वर्षाले ३५ घरका १७५ जोखिममा परेका छन् ।

प्रतिक्रिया