शुक्रबार, चैत १६, २०८०

मनाङका सरकारी कार्यालयमा आजबाट सोलार जडान सुरु

मेरोन्यूज २०७८ असार २० गते ८:२१

पोखरा । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा आजबाट सोलार जडान सुरु भएको छ ।

४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा विच्छेद भएको थियो ।

जसका कारण सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्ध भएपछि प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो ।

गण्डकी प्रदेश सरकारका तर्फबाट १६ वटा कार्यालयका लागि सौर्य ऊर्जा प्रणालीका सामाग्री शनिबार चामे पुर्‍याइएको हो । पोखराबाट वेसिसहर लगिएको भए पनि मौसम खराब भएका कारण सामान चामे पुर्‍याउन सकिएको थिएन ।

शनिबार मौसम खुलेसँगै ती सामग्री मनाङ पुर्‍याइएको र आजबाट जडान सुरु भएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिइ हरिदत्त पौडेलले जानकारी दिए ।

Advertisement

करिब १९ लाख रुपैयाँको सामान ढुवानीका लागि ४ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । सबै खर्च गण्डकी प्रदेश सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

प्रत्येक कार्यालयका लागि १ सय ५० वाटका २ वटा सोलार प्यानल, २ वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ ।

बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन ।

असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया