बुधबार, वैशाख १२, २०८१

कांग्रेसको १४ औं महाधिवेशन

पौडेल सभापति, प्रधानमन्त्री कि राष्ट्रपतिको उम्मेदवार !

मेरोन्यूज २०७८ असार २० गते ८:११

काठमाडौं । २०७२ फागुनमा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा ५२६ मतले पराजित रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा स्वभाविक दाबेदार हुन् ।

आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको महाधिवेशनमा सभापतिमा आफूलाई सघाउन पौडेलले ११ असारमा आफ्नो समूहका नेताहरूको बैठक राखेर आग्रह गरे ।

बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको कांग्रेसका पूर्वसंस्थापनका नेताहरूको बैठकमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै आफूलाई सहयोग गर्न आग्रह गरे ।

‘म १३औं महाधिवेशनमा सभापतिमा पराजित भएर घाइते भएको छु । फेरि पनि सभापति लड्छु । मिल्ने फर्मुला के हो ? सबैले भन्दिन पर्‍यो,’ पौडेलले सहभागी नेताहरूसँग सहयोग माग्दै भने ।

तर, उनको आग्रहपछि धारणा राख्ने क्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, सुजाता कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने भन्दै उल्टै सहयोग गर्न भने ।

आफू समूहमा र पार्टीमै सिनियर र निष्ठावान नेता भएकाले १४ औं महाधिवेशनमा पौडेल स्वाभाविक सभापतिका दाबेदार भए पनि आफ्नै समूहका आकांक्षी उनको इच्छाको बाधक बन्ने देखिएको छ ।

यसै संस्थापन बलियो रहेको अवस्थामा आफ्नो समूहबाट सभापतिका आकाक्षीको लर्को देखिएपछि के गर्ने भन्नेमा नेता पौडेल रनभुल्लमा परेका छन् ।

सकभर सबैलाई मिलाएर आफै गुटको एकल उम्मेदवार बन्ने प्रयास उनको छ । त्यही प्रयास अनुरुप उनले १४ असारमा गुटबाटै सभापतिका दाबेदार डा. शेखर कोइरालालाई बोहोराटारमा बोलाएर भेटे ।

डा. शेखरले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै लामो समयको राजनीतिक अनुभव मुलुकको कार्यकारी बनेर देश विकासमा प्रयोग गर्न आग्रह गरे ।

आफूले सभापति जितेमा आगामी निर्वाचनमा २०५६ सालको आवधिक निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई जस्तै पहिल्यै प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव पनि डा. शेखरले पौडेललाई गरे ।

डा. शेखरको प्रस्तावमा कुनै पनि प्रतिक्रिया नदिएका पौडेलले सभापतिकै उम्मेद्वारीका विषयमा त्यसको दुई दिनपछि १६ असारमा उपसभापति विमलेन्द्र निधिलाई पनि आफ्नै निवास बोहोराटारमा भेटे ।

सभापतिको दौँडमा रहेका निधिले पौडेललाई आफूलाई सहयोग गर्न आग्रह गर्दै उचित सम्मान दिने बताए । कुरा नमिल्ने देखेपछि पौडेलले पहिला क्रियाशील सदस्यता र अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको नियमसँगत तरिकाले समायोजन गरेपछि मात्रै सभापतिको विषयमा कुरा गरौँला भनेर टारिदिए ।


अझ पौडेललाई अर्को टाउको दुःखाइ बनेको छ । संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरू महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र उपसभापति निधिको गठजोडकोे प्रयास ।

तीनै जना सभापपतिका दाबेदार भएकाले कस्लाई छोड्ने भन्नेमा कुरा मिलेको छैन । एक अर्काका घरमा तीन पटक भेटघाट गरेका नेता त्रयले शुक्रबारका लागि केन्द्रीय सदस्यहरूसँग छलफलका लागि समय तय गरेका थिए ।

कतै त्यही भेलाबाट कुनै सहमति बन्छ र उनीहरू मिलिहाल्छन् कि भनेर डराएका पौडेल त्यो भेला रोक्न सफल भएका छन् । तर, उनीहरूले भेला पुनः बोलाउने तयारी भने छोडेका छैनन् ।

सभापतिमा उम्मेद्वार नबनेमा पौडेललाई आगामी निर्वाचनबाट राष्ट्रपति र प्रधानमन्त्रीमा अफर आइरहेका छन् । सभापतिका दाबेदार डा. शेखर, महामन्त्री डा. शशांक र पूर्वमहामन्त्री सिंहले प्रधानमन्त्रीको उम्मेद्वार बनाउने प्रस्ताव गरेका छन् । सभापतिमा पुनः दोहोरिन चाहेका देउवाले सघाएमा राष्ट्रपति बनाउने आश्वासन पौडेललाई दिएका छन् । तर, पौडेलले कुनै निर्णय गर्न सकेका छैनन् ।

१३ औं महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि पदाधिकारीसहित ६४ जनाका लागि भएको निर्वाचनमा पौडेलको प्यानलबाट २७ जनाले जितेका थिए । जसमा महामन्त्री डा. शशांक, कोषाध्यक्ष सितादेवी यादवसहित अन्य केन्द्रीय सदस्य थिए ।

तर, अहिले त्यो अवस्था छैन । त्यसबेला पौडेल समूहबाट जितेका आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई पूरै संस्थापनको लाइनमा पुगेका छन् । पौडेलका खम्बाका रूपमा चिनिएका नविन्द्रराज जोशीको निधन भएको छ ।

उनकै समूहबाट जितेका महामन्त्री डा. शशांक, डा. शेखर, पूर्वप्रधानमन्त्री सिंह, डा. महत, सुजाता र गुरुङ सभापतिमा दाबी गरिरहेका छन् ।

अरु त अन्य पदका लागि बार्गेनिङ गर्न सभापतिमा उम्मेद्वार घोषणा गरे पनि कोइराला परिवारको एउटा उम्मेद्वार पक्कै हुनेछ । र सिंहले पनि नछाड्ने अवस्था देखिन्छ ।

यसले पौडेललाई आफ्नै समूहमा आफ्नै नाममा सहमति जुटाउन ‘फलामको च्यूरा’ सरह देखिन्छ । पौडेल निकट नेताहरू पनि सहमति जुट्नेमा शंका व्यक्त गर्छन् ।

पौडेल भने उम्मेद्वारी दिन मिलाउन अझै लागिरहेका छन् । उनी आफू निकट नेताहरूसँग भनिरहेका छन्, ‘मेरो अन्तिम पटक हो, सहयोग गर्न पर्‍यो ।’ सधै कोइराला परिवारसँग रहेका पौडेलले आफ्नो छुट्टै गुट बनाएका छैनन् ।

कोइराला परिवारबाट उम्मेद्वार हुने भएपछि आफूले हार्ने निश्चित रहेकोमा पौडेल ढुक्क छन् । तसर्थ कोइराला परिवारलाई आफ्नो पक्षमा ल्याउन चाहन्छन् ।

अघिल्लो महाधिवेशनमा पौडेल समूहबाट जितेका २७ मध्य १७ जना कोइराला परिवारसँग छन् । उनीहरूले सघाउने अवस्था नआएमा सभापतिको उम्मेदवार नबन्ने रणनीतिमा पौडेल छन् ।

पौडेलले सबैलाई मिलाएर उम्मेद्वार बन्ने तयारीमा आफू रहेको बताएका छन् । ‘सकभर सबैलाई मिलाएर नभए पनि पूर्वसंस्थापनलाई मिलाएर सभापतिको उम्मेद्वार बन्ने प्रयासमा छु । कुराकानी भइरहेको छ । अन्य अवस्थाबारे तत्काल कुरा गर्ने बेला भएको छैन,’ पौडेलले भने ।

तर, उनी पक्षीय नेताहरूले सहमति जुट्नमा आशंका व्यक्त गर्छन् । ‘पौडेल समूह एक भएर महाधिवेशनमा जानु राम्रो कुरा हो। तर पौडेललाई फेरि एकपटक सभापतिको उम्मेदवार मानेर अघि बढ्न समूह एकजुट हुने सम्भावनामा निकै कमजोर छ,’ एक नेताले भने ।


सहमति नजुट्ने अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार बनाउनेलाई सहयोग गर्ने कि राष्ट्रपतिको उम्मेद्वार बनाउनेलाई सहयोग गर्ने भन्ने दोधारमा छन् ।

अहिलेको अवस्थामा प्रधानमन्त्री बनाउँछौ भन्नेले जित्ने अवस्था नरहेकोले राष्ट्रपति बनाउने तर्फ लाग्ने कि भन्ने रणनीति पौडेलको छ । सकभर प्रयास गर्ने नभए देउवालाई सहयोग गरेर राष्ट्रपतिको उम्मेदवारमा आफ्नो सुनिश्चितता खोज्ने रणनीति उनको छ ।

प्रधानमन्त्रीको उम्मेद्वार बनाए पनि आफूले नै निर्वाचनमा पराजय व्यहोरे के गर्ने भन्नेमा पौडेल छन् । उनले प्रधानमन्त्री रहेका कृष्णप्रसाद भट्टराईलाई त हराएको कोइराला परिवारले आफूलाई नहराउला भन्ने ज्ञारेन्टी नरहेको पनि निकटस्थहरूसँग बताउने गरेका छन् ।

राष्ट्रपतिको उम्मेद्वार बनाउनेतर्फ लागेमा त सांसद नभए पनि बन्न पाइने आफू निकटकाहरूलाई बताइरहेका छन् ।

प्रतिक्रिया