बिहीबार, वैशाख १३, २०८१

छोराले विदेशमा राम्रो काम नपाएपछि एजेन्टको गोली हानी हत्या

२ वर्षपछि पक्राउ

मेरोन्यूज २०७८ असार १९ गते १७:१८

काठमाडौँ । २०७५ साल चैत १७ गते कपिलवस्तु कृष्णनगर नगरपालिका–१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विजयनगर गाउँपालिका–१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले कपिलवस्तु नगरपालिका–१० नेपाल–भारत सिमाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कुर्मीले दुई वर्ष अघि छोराले विदेशमा राम्रो काम नपाएको भन्दै वैदेशिक रोजगारीमा पठाएका एजेन्ट पुरीलाई गोली हानी हत्या गरेको खुलेको छ । २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी हत्या गरिएको थियो । हत्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको हो ।

पैसा नदिएपछि हत्या
कुर्मीले छोरालाई विदेश पठाइदिनु भन्दै पुरीलाई १ लाख १५ हजार रूपैयाँ दिएका थिए । सोही अनुसार पुरीले कुर्मीका छोरालाई बहराइन पठाइदिए । कुर्मीका छोरा बहराइ पुगेपछि भनेको काम भएन भन्दै फोन गर्न थाले । त्यपछि कुर्मीले पनि यहाँ राम्रो कम्पनी र तलब नपाएको भन्दै पुरीसँग पैसा फिर्ता मागेका थिए ।

प्रहरीका अनुसार पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए । यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन् । उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर हत्याको योजना बनाएका थिए ।

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा पुरीको घर आएर पैसा फिर्ता मागेका थिए । तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेका थिए ।

गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए । गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया