सोमबार, वैशाख २४, २०८१

दुई कर्मचारीले धान्दै आएका यी जिल्लाका कार्यालयहरू

मेरोन्यूज २०७८ असार १९ गते १४:३५

काठमाडौँ । दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला ? सम्भवत एउटा तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् ।

Advertisement

लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पुर्याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका ५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।

खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पुर्याउनका लागि सो कार्यालय स्थापना भएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित ४ जनाको दरबन्दी भए पनि एक जना खाद्य अनुसन्धान अधिकृत र एक जना कार्यालय सहयोगीबाट मात्र सेवा सञ्चालन भइरहेको कार्यालय प्रमुख बिक्की राउतले जानकारी दिए ।

प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत राउत अनुगमन वा बिदामा गएपछि कार्यालय सहयोगी उमेश चौधरीले नै निमित्त भएर कार्यालय सञ्चालन गर्दै आएका थिए । स्रोत साधनको अभावमा कार्यालयले गर्ने अनुगमनको कामसमेत प्रभावित भएको छ ।

कार्यालयमा सवारी साधनको नाममा एउटा मोटरसाइकलबाहेक अरु छैन । संयुक्त अनुगमनमा जाँदा चार पाङ्ग्रे सवारी साधन भाडा लिएर अनुगमन गर्नुपर्ने बाध्यता रहेको सो कार्यालयले जनाएको छ ।

बारा पर्सा औद्योगिक करिडोर र ठूलो बजार क्षेत्र भएकाले सवारी साधनको अभावमा काम समेत प्रभावित भएको बताउँदै कार्यालय प्रमुख राउतले भने , ‘कार्यालयमा एउटा मात्र मोटरसाइकल भएकाले संयुक्त अनुगमनमा जाँदा भाडाको गाडी लिनु पर्ने बाध्यता रहेको छ ।’

सो कार्यालयले बारा पर्साका करिब २ सय खाद्य र दाना उद्योगमा अनुगमन गरी त्यहाँबाट नमूना संकलन गरेर जाँचका लागि जनकपुरस्थित प्रयोगशालामा पठाउने गरेको छ ।

प्रतिक्रिया