शुक्रबार, वैशाख ७, २०८१

यी क्षेत्रमा भारी वर्षा हुने, सतर्क हुन अपिल

मेरोन्यूज २०७८ असार १९ गते ११:२२

काठमाडौँ । देशभर मनसुनी वायुको सक्रियसँगै देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने र प्रदेश २ का एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । महाशाखाले पहाडी भेगमा भू–क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सचेतना अपनाउन सबैमा अनुरोध गरेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ ।

आइतबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कतिपय स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ४६ मिलिमिटर वर्षा भएको छ । शुक्रबार ४० मिलिमिटर वर्षा मापन गरिएको थियो । सबैभन्दा धेरै विराटनगरमा ८५, सिमरामा ५१, भैरहवामा ५७, तप्लेजुङ ४५ र ओखलढुंगामा ४० मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया