शनिबार, वैशाख ८, २०८१

चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष

एक शताब्दीमा चीन कहाँदेखि कहाँ पुग्यो ?

केशरमणि कटुवाल २०७८ असार १९ गते १४:५२

काठमाडाैँ । १ जुलाई, १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) यतिबेला शताब्दी यात्राको खुसीयाली मनाइरहेको छ । चीनले कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई तीव्र रुपमा भइरहेको विकासको पर्यायका रुपमा समेत जोडेर मनाइएको छ । सीपीसीको सय वर्षमा चीनको अर्ध सामन्ती र अर्ध औपनिवेसिक अवस्थादेखि भीषण गृहयुद्ध, जापानी साम्राज्यवादको नांगो हस्तक्षेप हुँदै जनवादी क्रान्ति सम्पन्न गरेर एउटा कमजोर देशबाट विश्वको महाशक्ति राष्ट्रसम्मको यात्रा जोडिन्छ ।

त्यसैले चीन अहिले जुन स्तरबाट पार्टी स्थापनाको सय वर्ष मनाइरहेको छ, त्यो वास्तवमा युगान्तकारी यात्राको खुसीयाली हो । चीनले कम्युनिष्ट पार्टीको नेतृत्वमा गरेको अभूतपूर्व विकासलाई शताब्दी समारोहमा खुसीयाली र सफल यात्राका रुपमा विश्वसामू पेस गरिरहेको छ । स्थापना कालदेखि सीपीसीले चीनको घरेलु प्रतिक्रियावादी शक्ति, जापानी साम्राज्यका साथै विदेशी शक्तिको इशारामा चलेको कठपुतली च्याङकाइसेक सरकारविरुद्ध भीषण संघर्षको नेतृत्व गर्यो ।

कम्युनिष्ट पार्टी स्थापनाको पृष्ठभूमि

सामान्ती समाज रहेको अवस्थामा लघु स्तरको कृषि र घरेलु हस्त शिल्पको सम्मिश्रण नै उत्पादनको मुख्य प्रणाली थियो । १९ औँ शताब्दीको मध्यमा विदेशी पुँजीवादको प्रवेशले सामन्ती प्रणालीमा महत्वपूर्ण परिवर्तन भयो । अर्ध औपनिवेसिक र सामन्ती समाजतर्फ अग्रसर हुँदा स्वतन्त्र विकासमा बाधा पुग्यो । विदेशी पुँजीवाद प्रवेश गर्ने तरिका उनीहरुको पुँजीवादी विकास अनुरुप नै थियो । १८४० को अफिम युद्धदेखि १८९४ को चीन–जापान युद्धसम्म पुँजीवादी शक्तिहरूले चीनविरुद्ध अटुट रुपमा युद्ध गरे । साम्राज्यवादीहरूको चाहाना चीनलाई उपनिवेश बनाउने थियो ।

सैन्य शक्ति, राजनीतिक, आर्थिक तथा साँस्कृतिक शक्तिको बलमा उनीहरूले चीनको सेना र राजनीतिक सामन्तहरूमा प्रभुत्व कायम गरे । १८४० को अफिम युद्धदेखि १९४९ मा जनवादी व्यवस्था स्थापना हुँदासम्मका १०९ वर्षसम्म चिनियाँ जनताले वीरता र निर्भिकतापूर्वक सामन्तवाद र साम्राज्यवादविरुद्ध कठोर संघर्ष गरे ।

डा. सनयात्सेनले १९०५ मा तुङ मङ हुई (क्रान्तिकारी) स्थापना गरी पुँजीवादी र निम्न पुँजीवादी वर्गको नेतृत्वका क्रान्तिको सुरुवात गरी स्वतन्त्रता, समानता र बन्धुतामा आधारित जनवादी गणतन्त्रको कार्यक्रम ल्यायो । १९०५ देखि १९११ सम्मको विद्रोहले छिङ वंशको राजतन्त्रलाई समाप्त पारी गणतन्त्र स्थापना भए पनि राज्यसत्ता प्रतिक्रान्तिकारी थ्वन–श–खाएको हातमा पुग्यो र क्रान्तिको परिणाम पराजयमा बदलियो ।

केशरमणि कटुवाल

ली ता–चाओले १९१८ मा अक्टोबर समाजवादी क्रान्तिको प्रचार सुरु गरे । मार्क्सवाद–लेनिनवादबारे अझ बढी प्रचारका लागि चिनियाँ कम्युनिस्टहरूले १९१८ मा शांघाई मार्क्सवादी अध्ययन समिति स्थापना गरे भने पेकिङ (बेइजिङ)मा १९१९ मा यस्तै समिति बन्यो । १९२० मा सांघाइँ कम्युनिष्ट ग्रुप स्थापना भयो । हुनानमा काम गरिरहेका माओले १९१७ मा न्यु पिपुल्स स्टडी सोसाइटी स्थापना गरे । त्यसको एक वर्षपछि बेइजिङ गएका उनले पेकिङ विश्वविद्यालयको पुस्तकालयमा काम गर्न थाले र राजनीतिक सिद्धान्तहरुको अटुट अध्ययन गरे ।

सन् १९१९ मा हुनान फर्किएका माओले ४ मई आन्दोलनको कुशलतापूर्वक नेतृत्व गरे । सन् १९२० मा हुनानमा मार्क्सवादी अध्ययन समितिको जग बसाल्दै सामजवादी युथ लिगको स्थापना गरे र श्रमिक वर्गमा मार्क्सवाद–लेनिनवादसँग जोडे । १ जुलाई, १९२१ मा कम्युनिष्ट इन्टरनेशनलको सहयोगमा शांघाईमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन आयोजना गरियो । जसमा विभिन्न कम्युनिष्ट समूहद्वारा चुनिएका १२ प्रतिनिधिले भाग लिए । जसमा माओ त्सेतुङ, तुङ फि–उ, छन तु–थ्यु र हो सु–हङ सामेल थिए । जम्मा ५७ कम्युनिष्ट सदस्यहरूको प्रतिनिधित्व रहेको थियो । यसले कम्युनिष्ट पार्टीको विधान पारित गर्दै नेतृत्व चयन गरी पार्टीको स्थापना भयो । पहिलो महाधिवेशनले पार्टीलाई एउटा शैक्षिक अध्ययन संस्थानजस्तो बनाउन चाहने कानुनी मार्क्सवादीको दक्षिणपन्थी दृष्टिकोण र वामपन्थी दुस्साहसवादी दृष्टिकोणको विरोध गर्याे । पहिलो महाधिवेशनले छन तु–स्युलाई अध्यक्ष चयन गर्याे ।

जनवादी गणतन्त्रको स्थापना

सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा च्याङ काइशेक नेतृत्वको कोमिन्ताङ पार्टीलाई हराएर चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा आउदा चीन गरिब र कमजोर अर्थतन्त्र भएको मुलुक थियो । सत्तामा आएपछि पनि लामो समयसम्म चीन अन्तर्राष्ट्रिय समुदायबाट अलग थियो । लामो गृह युद्धपछि सत्तामा आएको चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा आएको ७२ वर्षमा चीन विश्वको प्रमुख शक्ति राष्ट्रका रुपमा रहेको छ । सीपीसीको स्थापनाको सय वर्षको खुसीयाली मनाइरहँदा तियानमेन स्क्वायरमा ७० हजार भेला भएका थिए । चीनले आफ्नो आर्थिक र सामरिक शक्तिको प्रदर्शन गरेको छ । तर, कमजोर आर्थिक अवस्था हुँदै आर्थिक सुपरपावर बन्दासम्मको यात्रा निकै कठोर छ ।

अध्यक्ष माओत्सेतुङले १ अक्टोबर, १९४९ मा तियानमेन स्क्वायरमा जनवादी गणतन्त्र चीनको घोषणा गर्दै भनेका थिए, ‘जनवादी गणतन्त्र चीनमा केन्द्रीय जनवादी सरकारको स्थापना भएको छ । हाम्रो सरकार पूरै देशको एकमात्र वैध सरकार हो, जो जनवादी गणतन्त्र चीनको प्रतिनिधित्व गर्छ । हामी समानता र लाभमा बराबर हिस्सेदारी तथा विदेशी सरकारको क्षेत्रीय सम्प्रभुताको सम्मानको सिद्धान्तको पालना गर्न चाहन्छौँ ।’

जनवादी गणतन्त्र स्थापनाको ७२ वर्षमा आज सी जिनपिङको नेतृत्वका शक्तिशाली चीन संसारको महाशक्ति राष्ट्रका रुपमा उभिएको छ । ७२ वर्षअघि गरिबी र पछौटेपनको अवस्थाबाट सत्ता सम्हालेको कम्युनिष्ट पार्टीको नेतृत्वमा आज चीनले गरिबी उन्मूलन गरेको छ । विश्वको महाशक्तिका रुपमा उदाएको चीन अन्तरिक्षमा आफ्नो स्टेशन बनाइरहेको छ, चन्द्रमा र मंगल ग्रहमा मिसन पठाइरहेको छ ।

विश्वमा यतिबेला जम्मा ५ वटा देशमा मात्रै कम्युनिष्ट शासन छ । सोभियत संघको सत्ता ढलेसँगै विश्वमा कम्युनिष्ट सत्ताहरू तासको घर ढलेजस्तै ढले र ती देशहरू साम्राज्यवादी शक्तिको पञ्जामा पुगे । तर चीनले ७२ वर्ष लामो अवधिमा कम्युनिष्ट सत्तालाई बलियो रुपमा स्थापित गरेको छ ।

माओत्सेतुङले सन् १९७६ मा निधन हुनुअघिसम्म २७ वर्ष चीनको नेतृत्व गरे र आत्मनिर्भरताको बलियो जग बसाए । उनले १९५० को दशकमा ‘ग्रेट लीप फरवार्ड’ नीतिअनुसार चीको कृषिमा आधारित अर्थ व्यवस्थालाई औद्योगीकरणको कोशिस गरे । पार्टीभित्र देखा परेका संशोधनवादी, गैरसर्वहारावादी चिन्तनविरुद्ध लड्न उनले १९६६ देखि १९७६ सम्म साँस्कृतिक क्रान्ति चलाए । माओको निधनपछि सत्तामा आएका देङ शियाओपिङले सुधारवादी कदम चाल्दै अर्थ व्यवस्थालाई नयाँ मोड दिए । सन् २००१ मा चीन विश्व व्यापार संघमा प्रवेश गरेर विश्व बजारमा प्रवेश गरेपछि चीनको अर्थतन्त्रमा झनै ठूलो वृद्धि हुँदै आएको छ ।

सुदृढ अर्थतन्त्र र बलियो कम्युनिष्ट सत्ता

जुन देशमा राजनीतिक स्थायित्व हुन्छ, त्यो देशको आर्थिक, सामाजिक अवस्था सदृढ हुन्छ । लचिलो नीति लिएको सीपीसीले चीनको अस्तित्व, बृहत्तर विकास र समृद्धिको दिशामा चिनियाँ जनताको आकांक्षा जोडेर एकसाथ अघि बढाएको छ । त्यसैले चीनले शत वार्षिकीलाई देश भक्तिपूर्ण गौरवशाली इतिहास, सफल वर्तमान र सुन्दर भविष्यको रुपमा देखाइरहेको छ ।

चिनियाँ जनतामाथिको उत्तरदायी भूमिकाबाट चिनियाँ सरकारले निरन्तर समर्थन पाइरहेको छ । राष्ट्रपति सी जिनपिङले पार्टीको शत वार्षिक उत्सवका अवसरमा दिएको मन्तव्यमा धनी र सुविधा सम्पन्न जनताको नभएर आम जनताको सेवा गर्ने वास्तविक उद्देश्यमा ध्यान केन्द्रीत गर्नु पर्नेमा जोड दिएका छन् । हार्वर्ड विश्वविद्यालयले हालै गरेको एक अध्ययनमा सरकारसँग चिनियाँ नागरिकको सन्तुष्टि सबैभन्दा बढी रहेको देखिएको थियो ।

शत वार्षिक उत्सवमा चिनियाँ कम्युनिष्ट पार्टीले यसको जगमा रहेको हजारौं हजारको बलिदाली, त्याग र समर्पणलाई सञ्चार माध्यममार्फत देखाइरहेको छ । ठूलाठूला ब्यानर, पोस्टर, फिल्म र टेलिभिजन सिरिजमा निरन्तर चिनियाँ जनवादी क्रान्तिका कथाहरु प्रशारण भइरहेका छन् । इतिहासबाट पाठ सिक्न सीपीसीले ऐतिहासिक स्थानको भ्रमण, पार्टी संग्रहालय र क्रान्तिकारी स्मारकहरुको यात्रामा जोड दिइरहेको छ । राष्ट्रपति सीले गत फेब्रुअरीमा सबै स्तरका कार्यकर्तालाई पार्टीको इतिहासतिर फर्किएर हेर्न अनुरोध गरेका थिए । सन् २०१२ मा सी सत्तामा आउँदा चिनियाँ कम्युनिस्ट पार्टीभित्र गुटबन्दी, असक्षमता र भ्रष्टाचार चुनौतिका रुपमा थियो ।

सीले पार्टीभित्र सुधारको अभियान चलाए भने भ्रष्टाचारविरुद्ध कडा कदम चाले । उनी आज माओपछि सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित भएका छन् । उनले सन् २०४९ सम्म चीनलाई विश्वको एक नम्बर शक्तिका रुपमा उभ्याउने लक्ष्य दिएका छन् । २० औं शताब्दीको सुरुवातमा चीनमा रहेको अन्यौलपूर्ण, अस्पष्ट अवस्थामा तितरवितर भएका र समन्वयको अभावमा छिन्नभिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई एक ढिक्का बनाएर कम्युनिस्ट पार्टीको यो यात्रा सुरु भएको थियो । एक शताब्दीपछि यतिबेला चीन विश्वको महाशक्ति बनेको छ र त्यसलाई त्यही कम्युनिष्ट पार्टीले नेतृत्व प्रदान गरिरहेको छ ।

प्रतिक्रिया