शुक्रबार, वैशाख ७, २०८१

पहिरोले ट्रक पुरिदा दुईको मृत्यु, ४ सवारी साधनमा क्षति

मेरोन्यूज २०७८ असार १९ गते १०:५७

काठमाडौँ । अविरल वर्षापछि आएको पहिरोले ट्रक पुरिदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० मा खसेको पहिरोले चार वटा सवारी साधनमा क्षति पुगेको छ ।

पहिराले क्षति पुरयाएको चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीय सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि निकालिने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

त्यस्तै नारायणगढदेखि काठमाडौँंसम्म ७ स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्गअन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया