बिहीबार, वैशाख १३, २०८१

ओली, प्रचण्ड र माधवले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाए

काम गर्ने बेलामा आफ्नो जन्मोत्सवमा लाखौँ खर्च गरेर मख्ख परेर समय उडाउने । अनि देश र जनता बिर्सने ? दुःखमा पनि बिर्सने र सुख पाउँदा पनि बिर्सने ?

बाचश्पति देवकोटा, पुराना वामपन्थी नेता २०७८ असार १९ गते १७:३२

नेपालको कम्युनिष्ट आन्दोलनमा दुई ठूला कम्युनिष्ट पार्टीका बीचमा एकता भएपछि धेरै ठूलो उत्साह छाएको थियो । जनताले पनि गत चुनावमा यी दुई कम्युनिष्ट पार्टीलाई अनुमोदन गरेका थिए । तर, यो एकता धेरै टिकेन । नेताहरूका आ–आफ्नो स्वार्थ र लेनदेनका कारण एकता टिकाउन नेताहरू असफल भए ।

एकता टुटेन मात्र नेताहरूमा सामान्य राजनीतिक चरित्र पनि देखिएन । उनीहरूमा यतिसम्म घिनलाग्दो गालीगलौज भइरहेको छ कि, जसले कम्युनिष्ट आन्दोलन र पार्टीलाई नै बदनाम बनाउने काम भइरहेको छ । यस्तो क्रियाकलापप्रति खेद जनाउनेबाहेक हामीले गर्न सक्ने अहिले केही छैन ।

एमाले माओवादी एकता त भंग भयो, एमालेभित्रकै एकतामा पनि धब्बा लाग्न खोजिरहेको छ । त्यहाँभित्र पनि चिरा पर्ने सम्भावना उत्तिकै देखा परिरहेको छ । नेताहरू यति तल्लो स्तरमा झगडा गर्छन् भन्ने सोचिएको थिएन । तर, दुःखका साथ भन्नुपर्छ, नेताहरू तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् । यसमा कोही पनि चोखो छैनन् । दुधले नुहाएका कोही छैनन् । कोही पनि स्वच्छ र सफा देखिएनन् । खोइ इमान्दार मान्छे ? मदन भण्डारीको नाम जपेर मात्र हुन्छ ? मदन भण्डारीको व्यवहारको सिको खोइ ?

राजनीतिक आर्दश, निष्ठा, नैतिकता सबै गुमेपछि, सबैबाट पतन भएपछि मान्छे लेनदेनमा उत्रन्छ । लेनदेनले मान्छेलाई झगडामा उतार्छ । हिंसात्मक बनाउँछ । गोदागोद गराउँछ । मारपिट गराउँछ ।

मदन भण्डारीले कसैको कालो धनमा आँखा लगाउनु भएको थिएन । मदन भण्डारीले कसैसँग नराम्रो र तुच्छ व्यवहार गर्नु हुँदैनथ्यो । आफ्नो नेता–कार्यकर्तसँग जहिल्यै मदनको व्यवहार र सम्बन्ध राम्रो र असल मित्रवत हुने गर्दथ्यो ।

तर, अहिले नाम मदन भण्डारीको लिएका छन्, तर व्यवहार ? मदन भण्डारी मात्रै भनेर हुन्छ ? दुवै (केपी ओली र माधव नेपाल)ले मदन भण्डारीको माला जपेका छन् । माला जपेर मात्र हुन्छ कम्युनिष्ट पार्टीमा ?

माधव नेपाल र केपी ओलीलाई तराजुमा राख्ने हो भने दुवै बराबरीका छन् । गाली गलौजमा हेर्नुस त ! भित्र के छ भन्ने कुरा मान्छेले बोलीमा व्यक्त गर्छ । मान्छेको भित्र हृदयमा के छ भन्ने कुरा मुखमा व्यक्त हुन्छ । आरोप/प्रत्यारोप ? कतिसम्म तल्लो स्तरमा झरेर यी दुई नेताले गरिरहेका छन् ? आँखा कसरी हेरेका छन् ? कसरी बोलेका छन् ? यी सबैको विकारले मान्छेको हृदयभित्र भएको अन्तरहृदय बुझ्न सकिन्छ ।

राजनीतिक पार्टीका नेताहरू यति तल गिरेर बोल्न हुन्छ ? अर्कालाई आरोप लगाएर चोर औँलो आरोपितलाई देखाइरहला । तर, अरू चार ओटा औँलाले कता देखाइरहेको हुन्छ हेर्नु पर्दैन ? मेरो केपी ओलीसँग अलि अलि आस्था थियो । हामी जेलमा पनि सँगै बसेको मान्छे हौँ । तर, यो विवाद प्रकरणमा केपी ओलीले सबै कुरा सहला, हार्दिकतापूर्वक्, सहिष्णुतापूर्वक नै देखा परेका समस्याको सम्बोधन गर्लान् भन्ने ठानेको थिए । तर, त्यस्तो देखिएन । झन् केपी ओलीको व्यवहारत, तुच्छ लाग्यो मलाई ।

त्यसकारण माधव र केपी दुवैको तुलना गर्दा दुवैले आफ्नो हैसियत, गति– मति सबै झारे । आफ्नो हैसियत पतन गराए । यिनीहरू मात्र पतन भएनन्, हेर्नुहोस् उनीहरूका गतिविधिले कम्युनिष्ट आन्दोलनलाई कहाँ पुर्याए ?

चर्काचर्की गरेर हुन्छ ? राजनीति गर्नेले कुटौँला/मारौँला झै गरेर हुन्छ ? अहिलेका नेता कार्यकर्ता सबै लठ्ठै जस्ता मात्र भए । आलोचना सुन्ने नचाहने, आलोचनात्मक चेतबाट मुक्त हनुमान जस्ता नेता कार्यकर्ता भए । नेताहरूले पनि आफ्नो राजनीतिक उचाई यसपटकको झगडाबाट भुँईमै झार्ने काम मात्र गरे ।

राजनीतिक आर्दश, निष्ठा, नैतिकता सबै गुमेपछि, सबैबाट पतन भएपछि मान्छे लेनदेनमा उत्रन्छ । लेनदेनले मान्छेलाई झगडामा उतार्छ । हिंसात्मक बनाउँछ । गोदागोद गराउँछ । मारपिट गराउँछ । अहिले एमालेभित्रको केपी ओली र माधव नेपालको देखिएको झगडा हेर्नुस् या नेकपा हुँदा यी दुई नेतासँगै प्रचण्डको पनि हेनुस्, यिनीहरू राजनीतिक मूल्य मान्यताबाट एकप्रकारले च्यूत भए । केही शीर्ष भन्ने नेताहरूको व्यक्तिगत स्वार्थकै कारण बल्लतल्ल जुटेको कम्युनिष्ट पार्टीलाई फेरि फुटाउने काम गरे ।

जनताको बेहाल छ, देशको बेहाल भएको छ, भारतका कारण दक्षिणतिर सबै चुलुम्म डुबानमा छ । महाकालीमा भारतले बलमिच्याई गरेको छ ।

बामदेव गौतम बर्दियामा गत चुनावमै पछारिए । उनलाई ५ वर्ष कुर्न भएन । उनलाई प्रतिनिधिसभा सदस्य नभई भएन । प्रधानमन्त्री हुने गरी सांसद चाहियो । रामवीर मानन्धरलाई हटाएर सांसद बन्ने प्रपञ्च रचे । अन्य कतिपय निर्वाचित सांसदलाई राजीनामा गराउन अनेक प्रयास भए । त्यसो गर्दा पनि नभएपछि राष्ट्रिय सभामा जानु पर्यो । त्यसमा पनि संविधान संशोधन गरेर राष्ट्रसय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी बामदेवको आकांक्षा पूरा गर्नु पर्ने अवस्थासम्म नेताहरू पुगे । यो अवस्थाले देखाउँछ नेताहरू कहाँ पुगेका रहेछन् ? कति आत्म केन्द्रीत भइसके छन् ? यस्तो आत्म केन्द्रीत हुनुहुन्छ नेताहरू ?

देश कस्तो अवस्थामा छ ? जनता कुन अवस्थामा बाचिरहेका छन् ? केही मतलब नेताहरूलाई देखिएन । बाढी पहिरोले चुलुम्म डुबेको छ मुलुक । बस्ने ठाउँ छैन, हिँड्ने ठाउँ छैन, खाने ठाउँ छैन । तर, नेताहरू यहाँ झगडा गरेर बसेका छन् । कोभिडले मान्छेलाई सताएको छ । भ्याक्सिन कहाँबाट आउने हो, थाहा छैन । माग्नेलाई चामल दिन्छ कसैले ?

पैसा दिएको छु भनेर ढुक्क भएर हुन्छ ? त्यही चीनले पहिला दिन्छु, लैजाउभन्दा वेवास्था गर्ने यिनै होइनन् ? भारतले दिन्छ भनेर जोखना हेरेर बसे । भारतले लोप्पा खुवाए । फेरि चीनतिर १० लाख भ्याक्सिन ल्याउने भनेर बल्ल प्रयास गर्न खोज्दै छन् । यस्तो अवस्थामा छ, मुलुकको गति । जनताको बेहाल छ, देशको बेहाल भएको छ, भारतका कारण दक्षिणतिर सबै चुलुम्म डुबानमा छ । महाकालीमा भारतले बलमिच्याई गरेको छ । नेताहरू कुर्सीका लागि मात्र झगडा गरिरहेका छन् । त ठूलो कि म ठूलो भनेर झगडा मात्र गरिरहेका छन् ।

शुरुमा आरुघाटको बजारमा बसेका प्रचण्ड, त्यसपछि माथि हरिहर काकाको घरमा बस्ने बन्दोबस्ती मिलाइयो । हरिहर काकाको घरको वरिपरी खेतीपाती थियो । तरकारी खेती । गोरु जेत्ने । डल्ला फोर्ने । यी सबै काममा एकदम व्यवहारिक थिए, प्रचण्ड ।

प्रचण्ड, माधव नेपाल र केपी ओली सबैलाई म राम्रोसँग चिन्छु । उनीहरूसँगै मैले काम गरेको छु । प्रचण्ड गोरखाको आरुघाटमा मास्टर भएर गएका थिए । त्यहाँ त्यसबेलाको म रहेको पार्टीको गण्डकी अञ्चलको इञ्चार्ज हुनु हुन्थ्यो– आरबी भन्ने खम्बसिंह कुँवर । उहाँले मसँग प्रचण्डका बारेमा शुरुमा यस्तो मान्छे आरुघाटमा पढाउन आएका छन् भनेर भन्नु भएको थियो ।

आरुघाट स्कुलका दुई जना शिक्षक बासु लामिछाने र योगबहादुर लामिछाने मेरो जिल्ला कमिटीमा हुनु हुन्थ्यो । भूमिगत कालमा म गोरखाकै लुइटेल स्कुलमा मास्टर थिए । तर, पार्टीको जिल्ला कमिटीको सचिव पनि थिए । म रातारात ४, ५ घण्टा हिँडेर मिटिङमा सहभागी भएर उज्यालो हुनु भन्दा पहिले पढाउन आइपुग्थेँ, लुइटेल स्कुलमा । पौने १०, १० बजे म जहाँ भए पनि स्कुलमा हाजिर हुन पुग्थ्येँ ।

पार्टी र स्कुल चलाएको थिए, त्यसबेला मैले । त्यही बेला प्रचण्ड कृषि शिक्षक भएर आरुघाट पुगेका थिए । त्यस स्कुलमा हाम्रै साथी रामकुमार हेडमास्टर थिए । योग बहादुर र अरु पार्टी जिल्ला कमिटी सदस्य नै थिए । उनीहरूमार्फत मैले प्रचण्डको गतिविधि विस्तारै जानकारी लिँदै गरेको थिएँ ।

पार्टीमा पाँचौ महाधिवेशन हुँदै थियो । मोहनविक्रम सिंहलाई कारबाही गर्नु पर्ने भयो । मोहन वैद्य महासचिव हुनु भयो । पोलिटब्यूरोको पहिलो नम्बरमा म चुनिएँ, वैद्यभन्दा पछाडि ।

शुरुमा आरुघाटको बजारमा बसेका प्रचण्ड, त्यसपछि माथि हरिहर काकाको घरमा बस्ने बन्दोबस्ती मिलाइयो । हरिहर काकाको घरको वरिपरी खेतीपाती थियो । तरकारी खेती । गोरु जेत्ने । डल्ला फोर्ने । यी सबै काममा एकदम व्यवहारिक थिए, प्रचण्ड । उनी विस्तारै जनतासँग जोडिने र भिज्ने काम गर्दै गए ।

त्यसपछि मैले जिल्ला कमिटीबाट निर्णय गरेर प्रचण्डलाई सदस्यताका लागि सिफारिस गर्ने काम गरेँ । लेवी सदस्यता शुल्क लिन थाल्यौँ । र, माथि केन्द्रमा पठाउन थाल्यौँ । २, ३ वर्ष त्यसैगरी बित्यो । पछि प्रचण्ड चितवन पुगे । उनको चितवनमा राम्रो रेकर्ड बन्दै गइरहेको थियो । चितवनकै मान्छे खम्ब सिंहको पनि । त्यहाँबाट प्रचण्डलाई सीधै नवलपरासीको जिल्ला संगठन समितिको सचिव (डिसिएस) बनाएर पठाएछन्, साथीहरूले ।

मलाई पनि ठिकै लाग्यो । एउटा मास्टर भएर गएको राम्रो मान्छे । पार्टीको जिम्मेवार मान्छे हुन्छु । पार्टीकै जिम्मा लिन्छु भनेर अग्रसर भएको देख्दा खुसी लाग्यो ।

हामी नवलपरासीमा सँगसँगै हिड्यौँ, केही समय । पछि पार्टीमा पाँचौ महाधिवेशन हुँदै थियो । मोहनविक्रम सिंहलाई कारबाही गर्नु पर्ने भयो । मोहन वैद्य महासचिव हुनु भयो । पोलिटब्यूरोको पहिलो नम्बरमा म चुनिएँ, वैद्यभन्दा पछाडि । अञ्चलको जिम्मा बुझाउने भनेर पोखराबाट चितवन आउँदै थिएँ । महाधिवेशनको दस्तावेज छाप्ने भनेर पैसा थियो, मसँग । दमौलीमा आएपछि मलाई पुलिसले समात्यो ।

त्यही भेट भयो केपी ओलीसँग । नाम पहिलेदेखि नै सुनेको थिएँ । त्यही भेटघाटपछि ओलीसँग मेरो घनिष्टता भयो । कुराकानी भयो । हामी दुईबीचमा अन्तरंग कुराकानी हुन थाल्यो ।

पक्राउ परेपछि दिनभर मलाई दमौलीमा राखेर राति पोखरा पुर्याइयो । त्यही भेट भयो केपी ओलीसँग । नाम पहिलेदेखि नै सुनेको थिएँ । त्यही भेटघाटपछि ओलीसँग मेरो घनिष्टता भयो । कुराकानी भयो । हामी दुईबीचमा अन्तरंग कुराकानी हुन थाल्यो । सम्बन्ध एकदम हार्दिकतापूर्ण थियो ।

अहिले यसो सोच्ने गर्छु– कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट चरित्र भनेको के हो ? कम्युनिष्ट चरित्र भनेको अहिलेसम्मका राजनीतिक सामाजिक चरित्रमा सबैभन्दा विकसित, सबैभन्दा खारिएको परिष्कृत चरित्र हो । त्यो उत्ताउलो भएर बर्बराउँदै हिड्ने हुँदैनन्थ्यो । निष्किएर हिड्न पनि हुँदैनथ्यो ।

हामीले आफ्नो विधि, व्यवहार र आचरणले सघाउने हो । मान्छेलाई सहयोग गर्ने हो । श्यामप्रसाद शर्मा बामपन्थी साहित्यका सबैभन्दा अगुवा । उहाँ भूमिगत हुँदा जहाँ जहाँ जानु भयो, उहाँ सबै काम गरिदिनु हुन्थ्यो । र, त्यो घरलाई पूरै मोटिभेट गर्ने, केही नलिई आफैले सबै सहयोग दिने, त्यसरी दु:ख गरेर बनाएको कम्युनिष्ट पार्टी हो, यो । होची मिन्हाबाट सिकियो । कयौँ राष्ट्रिय-अन्तर्राष्टिय अगुवाबाट सिकियो । र, यो आन्दोलन यहाँ आइपुगेको हो ।

अहिले प्रचण्डले म क्रान्तिकारी हुँ भन्छन् । १७ हजार मान्छे मारिदैमा क्रान्तिकारी भइन्छ ?

जब म एमालेमा पुगे । त्यसबेला मनमोहन अधिकारी हुनु हुन्थ्यो । मदन भण्डारी हुनु हुन्थ्यो । माधव नेपाललगायतका नेताहरू हुनु हुन्थ्यो । उहाँहरूको २८ जनाको केन्द्रीय कमिटी थियो । १४ जना मालेका १४ जना मार्क्सवादीका । माले र मार्क्सवादी मिलेर नेकपा एमाले बनेको थियो । अनि नरबहादुर र म थपिएर त्यसबेला ३० जनाको केन्द्रीय कमिटी बन्यो । मनमोहनको छत्र छायामा हामी थियौँ ।

मदन भण्डारीले मनमोहन अधिकारीलाई त्यत्रो सम्मान र उच्च आदार गर्नु हुन्थ्यो । हामीलाई ठूलो गौरव थियो । केन्द्रीय कमिटीमा सबै कुरा हुन्थो । एउटा कुरा म अझै पनि त्यसबेलाको केन्द्रीय कमिटी बैठकको स्मरण गर्न रुचाउँछु ।

मनमोहनले फेरि माधव नेपाललाई सोध्नु भयो, ‘खोई हिसाब किताब ? हिसाब ल्याउनु हुन्न ?, केन्द्रीय कमिटी बसेर मात्र हुन्छ ?’

२०४८ सालमा चुनाव सम्पन्न भयो । चुनावमा भरतमोहन अधिकारी र माधव नेपाल चन्दा उठाउन हिड्ने । माधव नेपाल त्यसबेला अर्थ विभागको प्रमुख थिए । चुनाव सिद्धिसक्यो, हिसा किताब आउँदैन । मनमोहन जीले पटक–पटक हिसाब किताब देखाउ, पछर्याैट गर, केन्द्रीय कमिटीमा ल्याउ भन्नु हुन्थ्यो । तर, माधव नेपाल जहिल्यै हुन्छ ल्याउला मात्र भनिरहने । समय बित्दै गयो । हिसाब किताब केन्द्रीय कमिटीमा नआउने । एकदिन हामी परोपकारमा पार्टी बैठक बसिरहेका थियौँ ।

मनमोहनले फेरि माधव नेपाललाई सोध्नु भयो, ‘खोई हिसाब किताब ? हिसाब ल्याउनु हुन्न ?, केन्द्रीय कमिटी बसेर मात्र हुन्छ ? मलाई पनि उद्योगी/व्यापारीहरू आएर यति चन्दा दिए, उति चन्दा दिए भनेर भन्छन्, के कसो रहेछ हेर्न पाउनु पर्यो नि !’

तर, माधव नेपालले देखाउँला मात्र भन्ने । त्यो दिन पनि त्यसै भन्नु भयो । आफूले पटक–पटक भन्दा पनि नटेरेपछि मनमोहन जीले ‘ल तिम्रो पार्टी तिमी नै चलाउ’ भनेर कडकिए ।

‘भनेको कुरा नटेर्ने, कुनै कुरा नमान्ने, कुनै व्यवस्थित छैन, जे पायो त्यही गर्ने ? मैले नचाहिदो कुरा गरेको छु र ? मलाई पैसा ल्याउ भनेको छु र ? पार्टी हो, सामूहिकतामा चल्नुपर्छ, हर हिसाब केन्द्रीय कमिटीमा आउनुपर्छ । पारदर्शी हुनुपर्छ । हिसाब ल्याउभन्दा नटेर्ने, लौ तिमीहरूको पार्टी तिमीहरू नै चलाउ’ यति भनेर मनमोहनजी बैठक छाडेर हिड्नु भयो, गेटमा पुग्नु भयो ।

त्यसपछि मदन कमरेडसहित हामी वरिपरी बसेका सबै जिल्लाराम पर्याैं । त्यसपछि मदन कमरेडले मलाई ‘कमरेड तपाईले मनमोहनसँग गएर कुरा गर्नु पर्यो, सम्झाउनु पर्यो’ भन्नुभयो । अनि म गएर मनमोहनलाई भने, ‘कमरेड तपाईले भन्नु पर्ने कुरा हामीलाई भन्नुस् न हामी भन्छौँ । छुच्चो हुनु परे पनि हामी हुन्छौँ । तपाई आफै अगाडि यसरी बोलेर हिडिदिँदा हामीलाई अप्ठारो पर्याो । अब पार्टी कता जान्छ ? कमरेड गएर बसिदिनु पर्यो भएन यसरी । तपाई अध्यक्ष भएर बस्नु पर्यो । भन्न पर्ने कुरा हामीलाई भन्नु पर्यो, हामी भन्छौँ नि !’

त्यसपछि मनमोहन फर्किएर बैठकमा आउनु भएको थियो ।

आपसी अविश्वासलाई पनि यसरी विश्वास दिलाएर हामीले काम गर्दथ्यौँ, त्यसबेला । तर, अहिले यी नेताहरूलाई हामी कोही चाहिएन । उनीहरूलाई आफ्नो एसम्यानहरू मात्र खोजी गर्न थाले । उनीहरूले जे गरे पनि हामी थपडी बजाएर ठिक गर्याैं भनेर हिड्न त भएन नि । देखेको कुरा भन्ने भइयो । जसले देखेको कुरा सही रुपमा भनिदिन्छन् । त्यस्ता नेता कार्यकर्ता अहिले पार्टीभित्र अयोग्य हुन लागेका छन् । कस्तो कम्युनिष्ट पार्टी बनाउन लागेका छन्, यिनीहरूले । कस्तो आन्दोलनअगाडि बढाउन खोजेका छन्, देखिदै छ नि ! सबै लेनदेनभन्दा अरू केही छ ? सिद्धान्त राजनीतिको झगडा छ र यहाँ ?

तीन वर्षमा कति काम गर्न सकिन्छ ? खाली झगडा गरेर बिताए । उसले –उसलाई काम गर्न दिएन भन्ने, अर्काेले उसलाई काम गर्न दिएन भन्ने ? काम गर्न दिएन मात्र भनेर हुन्छ ?

अहिले एकाथरी केपी ओली प्रतिगमनकारी भयो भन्छन् । अर्काेथरी ज्ञानेन्द्रलाई दाम चढाएको हो नि, भन्छन् । अहिले यही कुरा एक अर्काेलाई आरोप लगाएर हिड्ने बेला हो र ? आलोचना, आत्मआलोचना गरेर धोइपखाली गरेर मन पवित्र गरेर ठिक ठाउँमा फर्किन पर्यो कि परेन ?

कम्युनिष्ट आन्दोलन कति लोकप्रिय रहेछ हेर्नुस त । गएको चुनावमा जनताले दिएको मतले पुष्टि गर्छ । यिनैका कारण अहिले यस्तो अवस्था छ । अहिलेको यो अवस्था आउनुमा दोष ओली, प्रचण्ड र माधव नेपालको छ । पदभन्दा बाहेक अन्यत्र यिनीहरू तिनै जनाको ध्यान नै छैन । पद, पैसा र प्रतिष्ठा । प्रतिष्ठा त्यागले आउने हो । तर उनीहरूको प्रतिष्ठा उडिहेको थियो । यिनीहरूको मात्र प्रतिष्ठा उडेको होइन, आन्दोलनकै प्रतिष्ठा उठाउन उनीहरूले थालिसकेका छन् ।

मिल्ने कुरा छोडिदिनुस्, एक अर्कालाई गाली गलौज गर्न, एक अर्कालाई आरोप गर्न, हिलो छ्याप्न र मनपरी फलाक्न मात्र छोडिदिने हो भने सबै संयमित भएर आत्म समीक्षा मात्र गरिदिने र चुप लागेर बस्ने हो भने पार्टी मिल्छ ।

केपी ओलीले सत्यमेय जयन्ते, सिंहमेय जयन्ते भनेर किन भन्न परेको थियो ? पछि यति तल झर्नु पर्यो, एउटा खुफिया एजेन्सी, सिआइडीको प्रमुखलाई ल्याएर आफ्नो निवासमा ३/४ घण्टा बिताउनु पर्यो ।

तीन वर्षमा कति काम गर्न सकिन्छ ? खाली झगडा गरेर बिताए । उसले –उसलाई काम गर्न दिएन भन्ने, अर्काेले उसलाई काम गर्न दिएन भन्ने ? काम गर्न दिएन मात्र भनेर हुन्छ ? आफूले पाएको बेलामा काम किन नगरेको ? काम गर्ने बेलामा आफ्नो जन्मोत्सवमा लाखौँ खर्च गरेर मख्ख परेर समय उडाउने । अनि देश र जनता बिर्सने ? दुःखमा पनि बिर्सने र सुख पाउँदा पनि बिर्सने । अनि जनतालाई कहिले सम्झने यिनीहरूले ?

अब भारतलाई नचाहिँदो फलाक्न किन पर्यो, केपी ओलीले ? सत्यमेय जयन्ते, सिंहमेय जयन्ते भनेर किन भन्न परेको थियो ? पछि यति तल झर्नु पर्यो, एउटा खुफिया एजेन्सी, सिआइडीको प्रमुखलाई ल्याएर आफ्नो निवासमा ३/४ घण्टा बिताउनु पर्यो ।

हाम्रा नेताहरूमा अझै परिपक्वता देखिएन । हामी कहाँ राजनीतिक संस्कार, राजनीतिक परिवेश अझ बनेको रहेनछ । उनीहरू अहिले चुनाव भए जितिन्छ भनेर यति ठूलो नाक बनाएर हिडेका छन् । तर के जनताले फेरि जिताउँछन् यिनीहरूलाई यही तालमा ? यो तीन वर्ष जनताले हेरेनन्, उनीहरूलाई ? उनीहरूले कम्युनिष्ट आन्दोलन सिध्याए, ध्वस्त बनाए । यिनीहरूले कम्युनिष्ट हैसियत गुमाए । सत्ताले यस्तो बनाउँदो रहेछ मानिसलाई । खोइँ जनतालाई सम्झेका यिनीहरूले ? समस्या एकातिर छ, समाधान राम र अयोध्याको कुरा गरेर हुन्छ ? चीनसँग कुरा गर्दा भारत भड्किने, भारतसँग कुरा गरेमा चीन भड्किने स्थिती आयो भने यो मुलुकको स्थिती के हुन्छ ? खोइ बुझेको ?

प्रचण्डसँग एकता गर्ने ? अनि के केमा भागबण्डा मिल्दैन अनि उसलाई माइनस गर्ने, अर्काेले अर्काेलाई माइनस गर्ने ? गुट बनाउँदा बनाउँदै झगडा गरेर केन्द्रीय समितिको बैठक नै नबोलाउने, अर्काे बोलाए पनि नजाने अनि पार्टीलाई नै दुई चिरा, तीन चिरा बनाउने काम यी नेताहरूले गरे । के यही लेखेको छ कम्युनिष्ट पार्टीको घोषणा पत्रमा ? निर्वाचन घोषणा पत्रमा मिठो कुरा गर्ने, अनि अहिले आएर व्यवहार यति तल्लो स्तरमा गर्ने र लेनदेनको झगडा गर्ने ? खोइ इमान्दारिता ?

यो कम्युनिष्ट आन्दोलनलाई ओली, प्रचण्ड र माधव नेपालले सिध्याए । एकताबद्ध भइसकेको आन्दोलनलाई आफ्नो स्वार्थमा मात्र प्रयोग गर्न खोजे । जसले पाएको अवसर गुमाउने काम नेताहरूले गरे । यसले पुर्याएको क्षति नेताहरूले कहिल्यै पुर्न सक्ने छैनन् ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया