शुक्रबार, वैशाख १४, २०८१

मार्क्सवादी राजनीतिक अर्थशास्त्र : अतिरिक्त मूल्यको सिद्धान्त

- इन्द्रप्रसाद गोतामे (जगतजंग) २०७८ असार २० गते १५:३४

पृष्ठभूमि र परिचय :
उन्नाइसौं शताब्दीमा मान्छेहरुले प्राप्त गरेका विचार र सिद्धान्तहरुमा क्रमभंगता ल्याउँदै कार्ल माक्सले सन् १८४८ मा कम्युनिस्ट घोषण पत्र प्रस्तुत गर्नुभयो । यसले संसारका श्रमजीवीहरुमा शोषणका विरुद्ध ‘विद्रोह गर्ने अधिकार हो’ भन्ने मान्यता स्थापित गर्यो । यसले संसारका पुँजीपतिहरुमा खैलाबैला मच्चयो । यो महान वैचारिक धक्का थियो । मार्क्सको सन् १८५७/५८ मा ‘राजनीतिक अर्थशास्त्रको आलोचना’ र ‘आर्थिक सिद्धान्तका आधारभूत विशेषताहरू’, सन् १८६३ मा ‘अतिरिक्त मूल्यको सिद्धान्त’, सन् १८६५ मा ‘ज्याला, मोल र नाफा’ भन्ने आर्थिक कृति प्रकाशित भयो । सन् १८६७ मा पुँजी भाग १ , र ‘अतिरिक्त मूल्यको सिद्धान्त’ पुस्तकका ३ खण्ड पछी पुँजीकै ३ खण्ड प्रकाशित भयो । जसमा मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तको बारेमा विस्तृत व्याख्या गर्नु भएको छ ।

अतिरिक्त मूल्यको सिद्धान्त मार्क्सवादी अर्थशास्त्रको केन्द्रिय प्रश्न हो, आत्म हो र आधारशिला हो । यसले अर्थशास्त्रका सम्पूर्ण पुराना सोचाइहरुलाइ बदल्यो र विकल्प प्रस्तुत गरयो । मान्छे कसरी ठगिन्छ ? पूंजीको विकास र विस्तार कसरी हुन्छ ? मालिकको हातमा पुँजी कसरी थुप्रिन्छ ? पुँजीको स्वामित्वमा असमानता कसरी हुन्छ ? भन्ने प्रश्नको वैज्ञानिक उत्तर अतिरिक्त मूल्यको सिद्धान्त मार्फत राजनीतिक अर्थशास्त्रले दिएको छ ।

इन्द्रप्रसाद गोतामे (जगतजंग)


परिभाषा :
कुनै पनि प्राकृतिक वस्तुलाई मानव श्रमद्वारा मालमा रुपान्तण गरी बजारमा लगेर बिक्री गर्दा अतिरिक्त मानवीय श्रमको शोषण गरी पुँजीपतिले कसरी पुँजी निर्माण गर्छ ? भन्ने अन्वेषण गर्ने सिद्धान्त नै अतिरिक्त मूल्यको सिद्धान्त हो । यसले पूँजीवादी शोषणको रुपलाई उदांगो पारिदिएको छ । यो सिद्धान्तले मान्छेको उत्पत्ती देखि आजसम्म मान्छेद्वारा मान्छेमाथि गरिने शोषणको रहस्यलाई उदाङ्गो मात्र गरेन यसको विरुद्ध संघर्ष गर्नुपर्ने तथ्य प्रमाणित गरयो । मान्छेको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो भन्ने कुरा पुष्टि गरयो । अतिरिक्त मूल्यको सिद्धान्तको महत्व बारे मार्क्सले भन्नुभएको छ -‘अतिरिक्त मूल्यको सिद्धान्त’ एउटा पृथक र विशेष महत्वको कार्य हो । लेनिनले अतिरिक्त मूल्यको सिद्धान्त मार्क्सको राजनीतिक अर्थशास्त्रको आधारशिला हो भन्नुभयो ।


मूल्य सिद्धान्त
कुनै पनि वस्तु कसरी माल बन्छ र त्यसको मूल्य निर्धारण कसरी गरिन्छ रु भन्ने विषयमा अध्ययन गरिन्छ । कुनै पनि वस्तुको मूल्य त्यसमा लाग्ने मानविय तथा सामाजिक श्रम हो ।
क) उपयोग मूल्य : वस्तुमा रहेको मानिसको आवश्यकता पूरा गर्न सक्ने उपयोगी गुण भएको वस्तुको मूल्य नै उपयोग मूल्य हो । जस्तै मान्छे बाच्नको लागि हावा, पानी, खाना चाहिन्छ ती वस्तुहरू उपयोग मूल्य भएको वस्तुहरू हुन ।
ख) विनिमय र बजार मुल्य : कुनैपनि वस्तुको सट्टामा अर्को वस्तु विनिमय गर्न सकिन्छ भने त्यो विनिमय मूल्य हो । मुद्राको आधारमा बजारमा किनबेच गर्दा प्राप्त हुने मूल्यलाई बजार मूल्य भनिन्छ । यी उपयोग र विनिमय मूल्यका बारेमा एडम स्मिथ र रिकार्डोको मूल्य सिद्धान्तको मार्क्सले गहन अध्ययन र विश्लेषण गरी आफ्नो सिद्धान्तको विकास गर्नु भएको छ ।
ग) एडम स्मिथ (१७२३/१७९०) को मूल्य सिद्धान्त :
एडम स्मिथ बेलायतका अर्थशास्त्री हुन । अर्थशास्त्रलाई धनको विज्ञानको रूपमा परिभाषा गर्दै कुनै वस्तुको तथा मालको मूल्य निर्धारण माग र पुर्ती नियमको आधारमा हुन्छ भन्नुभयो । माग बढ्दा मूल्य बढ्छ माग घट्दा मूल्य घट्छ भन्ने अवधारणा प्रस्तुत गर्नुभयो । आर्थिक मामिलामा राज्यको हस्तक्षेप हुनुहुँदैन भन्ने उहाँको मान्यता अनुसार पुँजीवादी राजनीतिक अर्थशास्त्रमा खुल्ला बजार अर्थतन्त्रको मान्यता विकास भएको छ ।
घ) डेभिड रिकार्डो (१७७२/१८२३) को मूल्य सिद्धान्त :
बेलायतका अर्थशास्त्री रिकार्डोलाई राजनीतिक अर्थशास्त्र र कर प्रणालीको सिद्धान्तकार मानिन्छ । कुनै पनि प्राकृतिक वस्तुले आँफै मूल्य प्राप्त गर्न सक्दैन जब प्राकृतिक वस्तुमा मानवीय श्रम लाग्छ, त्यसले वस्तुको मूल्य निर्धारण गर्छ । मानवीय श्रम बिना कुनै पनि वस्तुको मूल्य हुँदैन भन्नुभयो ।


मार्क्सले एडम स्मिथ र रिकार्डोको सिद्धान्तको आलोचना गरेका छन् । कुनै पनि वस्तुमा मानवीय श्रम लागेपछि त्यो वस्तु मालमा बदलिन्छ र त्यो बस्तुको मूल्य निर्धारण हुन्छ । पूँजिमा रुपान्तरण हुन्छ । मूल्य दुई प्रकारको हुन्छ पहिलो वास्तविक मूल्य मजदुरको श्रमको मूल्य त्यसलाई ज्याला भनिन्छ, दोस्रो अतिरिक्त मूल्य, त्यसका उद्योगपति र मालिकको नाफा भनिन्छ तर त्यो श्रमिकहरुको श्रमको मूल्य हो । यो श्रमिक माथिको शोषण हो । पुँजीपति वर्गले यसलाई पुन उत्पादनमा लगाउछ जसले थप पुँजी निर्माणको अनन्त प्रक्रिया सुरु हुन्छ । यसलाई यसरी सूत्रबद्ध गर्न सकिन्छ :
प्राकृतिक वस्तु + श्रमकाल = मालको मूल्य । यसलाई लेनिनले यसरी प्रस्तुत गर्नु भएको छ -‘माक्र्सले सिद्ध गरिदिनुभयो – हरमालका मूल्य यस कुराबाट निर्धारित हुन्छ, उसको उत्पादनमा सामाजिक दृष्टिले कति आवश्यक श्रमकाल लगाइएको छ’ ।


मुद्राको पूँजीमा रुपान्तरण :
प्राकृतिक वस्तु मानविय श्रमको कारणले मालमा परिवर्तन हुन्छ र त्यो माल विक्रीबाट आउने नाफा मुद्रा हो । मुद्राको पुनः लगानी भएन भने मुद्रा पुँजीमा रुपान्तरण हुँदैन । मुद्राको पुनः लगानी भयो भने यो पुँजी बन्दछ । यसलाई यसरी सूत्रबद्ध गर्न सकिन्छ :
C-M-C, माल – मुद्रा – माल, उत्पादित माल उपभोग्य वस्तुमा र विलासिताको साधन प्रयोग हुन्छ । यसले मुद्रा वा पूँजी निर्माण गरदैन भने यो विनिमयको साधन मात्र हुनपुग्छ ।
M-C-M, मुद्रा – माल – मुद्रा, उत्पादित माल वा मुद्राको पुन उत्पादनमा लगानी गरिन्छ भने मुद्रा पुँजीमा रूपान्तरण हुन्छ । मानौं कुनै सिमेन्ट कारखानाले उत्पादन गरेर सिमेन्ट बेचेपछि पुँजीपतिले चालीस लाख नाफा गर्यो भने उक्त नाफा भएको रकम विवाहमा खर्च गर्यो भने त्यो मुद्रा पुँजीमा रूपान्तरण हुँदैन तर उक्त रकमलाई पुन जल विद्युत उत्पादनमा लगाइयो भने मुद्रा पुँजीमा रुपान्तरण हुन्छ ।


श्रम/ श्रमको मूल्य सिद्धान्त :
मानवीय श्रमद्वारा नै समाज विकासको यो चरणमा हामी आइपुगेका छौं । प्रकृति संगको संघर्ष वा मानविय श्रमको कारणले मान्छे बाँच्न र पशु जगतबाट मान्छेमा रुपान्तरण भयो । प्रकृतिसग संघर्ष, उत्पादनको लागि संघर्ष, वर्गसंघर्ष र विज्ञानको प्रयोगको श्रृंखला शारीरिक र मानसिक श्रमको एकीकृत रूप हो ।

श्रमको दुरुपयोग गरेर, श्रमको शोषण गरेर पुँजीपतिहरुले पुँजीको निर्माण र पुन निर्माण गरि पूँजी आफूमा संकेन्द्रीत गरी रहेका छन् ।उत्पादनमा श्रमको सामाजिकरण र वितरणमा निजीकरण र शोषण पुँजीवादको सार हो । श्रम शोषणको अन्त्य वा निरन्तरता रु को श्रृंखला समाजमा आजसम्म वर्ग संघर्षको रूपमा अभिव्यक्त भएको छ । समय, स्थान र समाजको विकास, बिज्ञान र चेतनाको स्तर अनुसार वर्ग संघर्षको रुपहरु निर्धारण हुन्छन् ।


श्रमको मूल्य सिद्धान्त :
मार्क्सले भन्नु भएको छ ‘वस्तु ती आफैँमा केही होइनन्, ती त्यसपछि मात्र सामग्री हुन्छन्, जब ती विनिमयका वस्तु बन्छन्, वस्तु त्यतिबेला मात्र उपयोगी हुन्छ, जब त्यसमा मानवश्रमले उत्पादन गर्छ’।
क) व्यक्तिगत र सामाजिक श्रम – कुनै एउटै व्यक्तिले उत्पादन गरी माल बजारसम्म बेच्छ भने त्यो व्यक्तिगत श्रम हो । सामूहिक रूपमा श्रममा सहभागी हुनु सामाजिक श्रम हो । जस्तो गाई पाल्नु व्यक्तिगत श्रम हो भने सिमेन्ट उत्पादन गर्नु सामाजिक श्रम हो । व्यक्तिगत भन्दा सामाजिक श्रममा पुँजीपतिले मजदुरलाई तिब्र शोषण गर्छ ।
ख) मूर्त र अमुर्त श्रम – मूर्त श्रमले उपयोग मूल्य सृजना गर्छ । यो व्यक्तिगत श्रम हो । अमुर्त श्रम सामाजिक श्रम हो । यसले विनिमयर बजार मूल्यको सृजना गर्छ । जस्तो श्रमिकले वनमा गएर नियालोर बास ल्याएर डोको निर्माण गर्छ भने त्यो मूर्त श्रम हो । मजदुरहरूले वनको काठ कारखानासम्म ल्याई विभिन्न मजदुरहरुको श्रमद्वारा काठका सामग्रीहरू बनाएर बजारमा बिक्री गरिन्छ भने यो अमुर्त श्रम हो । मुर्त भन्दा अमुर्त श्रममा पुँजीपतिले मजदुरलाई तिब्र शोषण गर्छ ।
ग) स्थिर र अस्थिर पुजी – भूमि, कलकारखाना, औजार आदि स्थिर पूँजी हो भने पुँजीको लगानी अर्थात् मजदुरको ज्याल अस्थिर पूँजी हो । स्थिर भन्दा अस्थिर पूँजीमा पुँजीपतिले मजदुरलाई तिब्र शोषण गर्छ ।

घ) ज्यालादारी श्रमले पुँजीको निर्माण र सञ्चय गर्न सक्दैन – मजदुरलाई बाच्नको लागि मात्र सीमित ज्याला दिएर श्रममा लगाई तिब्र शोषण गरिन्छ । त्यसैले मजदूरले पाएको न्यून ज्यालाबाट पुँजीको निर्माण हुन सक्दैन ।
वस्तु विनिमयको चरणबाट माल उत्पादन र पुँजी निर्माणको चरणमा प्रवेश गरेको समाज पुँजीवादी समाज हो । मालको उत्पादन, अतिरिक्त मूल्यको शोषण (नाफा), पूँजी र पूँजीको पुनरुत्पादनको श्रृंखलाको रूप नै पूँजीवाद हो । नाफा- नाफा – फेरि पनि र जसरी पनि नाफाको शृंखला नै साम्राज्यवाद हो । पुँजीपति वर्ग र सर्वहारा वर्ग बर्गिय समाजको विकसित र अन्तिम वर्ग हुन । पूँजीवादले फेरीपनि र जसरी पनि नाफाको लागि मानवीय आवश्यकता भन्दा बजारको मागलाई आधार मानी उत्पादनमा जोड दिन्छ । जस्तै :
– युद्धको सृजना र युद्ध सामग्रीको उत्पादन र ब्यापार ।

– प्राकृतिक स्रोतसाधनको दोहन ।
– शिक्षा स्वास्थ्यमा निजीकरण र एकाधिकार ।
– मनोरञ्जन (लागूऔषध, यौन व्यापार) मा व्यवसायीकरण ।
– बैंक तथा वित्तमा लगानी
– बिज्ञान-प्रबिधि सूचना सञ्चारमा नियन्त्रण र एकाधिकार ।


श्रम शक्तिको मूल्य (ज्याला) को सिद्धान्त :
ज्याला श्रमको मूल्य होइन श्रमसक्तिको मूल्य हो । मार्क्स भन्नुहुन्छ – ‘मानिसले आफ्ना आवश्यकता पूर्तिका लागि जुन मेहनत गर्दछ, त्यसलाई श्रम भनिन्छ । श्रम गरेवापत उसले कुनै प्राप्त गर्दैन । ज्याला भनेको पूँजीपतिले मजदुरलाई दिने श्रमको मूल्य होइन, श्रमशक्तिको मूल्य
हो ’।


श्रमशक्ति भन्नाले श्रमिकको काम गर्ने क्षमता हो । यो शारीरिक र मानसिक श्रमको योग हो । श्रमशक्तिको क्षमता आफ्नो मूल्य भन्दा कयौ गुणा बढी हुन्छ । पूँजीवादी युगमा श्रमशक्ती वस्तुको रूपमा बजारमा किन्न पाइन्छ । उत्पादनको अवधीमा मजदुरले आफ्नो श्रमशक्ति पूँजीपतिलाई बेच्छ भने उत्पादन पछी पूँजीपतिले उत्पादित माल मजदुरलाई बेच्छ । पुँजी पतिले मजदुरको श्रमको मूल्य शोषण गरी मजदुरलाई बाँच्न पुग्ने न्यून ज्याला मात्र दिन्छ । जसले उसको दैनिक जीवन गुजारा गर्न धौ-धौ पर्छ ।


प्राकृतिक निशुल्क वस्तुलाई श्रमको माध्यमबाट मालमा रुपान्तरण गरिन्छ । जस्तै : वनको काठलाई श्रमद्वारा कारखानामा पुराएर दराज बनाएपछि त्यो दराज मालमा परिणत हुन्छ । मानौं दराज बनाउँदा मजदुरको ज्याला ५००, मेसिनको ह्रासकट्टी १००, ढुवानी र अन्य खर्च २००, गरी पुँजीपतिले ८०० लगानी गर्छ । बजारमा यसलाई १५०० मा बिक्री गरिन्छ भने ७०० नाफा देखियो त्यो श्रमको मूल्य हो । तर त्यसलाई पुँजीपतिहरुले नाफाको रुपमा शोषण गर्दछन् । यो नै अतिरिक्त मूल्यको शोषण हो । र ज्याला भनेको मजदूरले पाएको ५०० मात्र हो ।

अतिरिक्त मुल्यको उत्पादन :
मार्क्स भन्नुहुन्छ ‘अतिरिक्त मूल्य भनेको मजदुरले वस्तुकृत बनाएको श्रम हो जो उसले श्रम गरेबापत श्रमशक्तिको मूल्यका रूपमा प्राप्त गरेको हुन्छ– लाई मालिकका लागि सित्तैँमा छोडिदिने भन्दा अरू केही होइन’ । अतिरिक्त मूल्य भनेको वस्तुको विनिमय मूल्य र मजदुरहरूले पाएको ज्याला बीचको भिन्नता हो, त्यो मजदुरको श्रमको शोषण हो ।


मजदुरको श्रमको पूरा मूल्य नदिई जुन शोषण गरिन्छ त्यो बाट नै पूँजीवादले आफ्नो पुँजीको विस्तार गर्छ । श्रमको शोषण नै अतिरिक्त मूल्यको उत्पादन हो । श्रम पनि उत्पादक र अनुत्पादक हुन्छ । जब प्राकृतिक वस्तुमा श्रम लगाएर माल बनाइन्छ र त्यो माल विनिमय र उपभोगको लागि सीमित गरिन्छ भने यो अनुत्पादक श्रम हो । जब कुनै प्राकृतिक वस्तुमा श्रम गराएर माल बनाई बजारमा बिक्री गर्न र पुँजीमा रुपान्तरण गरी उत्पादनमा निरन्तरता दिइन्छ भने त्यसलाई उत्पादक श्रम भनिन्छ । उपभोगको लागि मात्र गरिने श्रम अनुत्पादक र बजार नाफाको लागि गरिने श्रम उत्पादक हो ।


कुनै पनि मालको मुल्य त्यसलाई उत्पादन गर्दा लाग्ने श्रमकालको आधारमा निर्धारण गरिन्छ । मजदुरको ज्याला पनि श्रमशक्तिको समयअवधि अनुसार निर्धारण गरिन्छ ।


आवश्यक र अतिरिक्त श्रमकाल : कुनैपनि मजदूरले ८ घण्टा काम गर्दा उसले ४ घण्टाको मात्र ज्याला पाउँछ भने उसको श्रमकाल ४ घण्टाको हुन्छ । बाँकी ४ घण्टा पूँजीपतिको लागि सित्तैमा काम गर्नु पर्छ । यो अतिरिक्त श्रमकाल हो । यो अवधिको अतिरिक्त मूल्यको शोषण हुन्छ । यस विषयमा लेनिन भन्नुहुन्छ, ‘मजदुर कार्यदिनको एक भाग स्वयम् आफ्नो र परिवारको भरणपोषणको खर्चको पूर्तिका लागि प्रयोग गर्छ, अरू दिनको शेषभागमा उसले बिना पारिश्रमिक श्रम गर्छ, यसरी पुँजीपतिका लागि अतिरिक्त मूल्य सिर्जना गर्छ, जो पुँजीपतिवर्गका लागि मुनाफाको स्रोत, सम्पत्तिको स्रोत हो’ ।


जस्तै कुनै मजदूरले ८ घण्टामा ८०० वटा झण्डा निर्माण गर्छ । मानौं कपडा र रंगको खर्च ( ५०००, मजदुरको ज्याला – २०००, बजार / ढुवानी खर्च – ५००, मेसिनको ह्रासकटी -५००, गरी पुँजीपतिको जम्मा लगानी ८०००, भयो बजार मूल्य ( १५×८००.१२००० बाट खर्च कटाई बाँकी रहेको ४००० अतिरिक्त मूल्य हो । यो नै शोषण हो । यहाँ मजदूरले केही घण्टाको मात्र ज्वाला पाउँछ । बाँकी सबै घण्टाको श्रम शोषण हुन्छ । यसरी अतिरिक्त मूल्यको उत्पादन हुन्छ ।


अतिरिक्त मूल्यको वृद्धि :
पुजिपतीहरुले अतिरिक्त मूल्य वृद्धि गर्न विभिन्न उपाय र तरिकाहरू अपनाएका छन् । जस्तै :
– मजदुरलाई बढी समय काम लगाएर ।
– मजदुरको ज्याला घटाएर ।
– मेसिनको प्रयोग गरेर ।
– महिला, बालबालिकालाई काम लगाएर ।
– श्रम विभाजन गरेर ।
– कसैलाई राति कसैलाई दिउँसो काम लगाएर ।
– धेरै मजदुरहरु जम्मा गरेर ।
– सस्तो श्रमका विदेशी मजदुरहरु भित्र्याएर ।


नाफा र नाफाको बितरण
उत्पादनमा श्रमिकको आबस्यक श्रम अवधि भन्दा बढी समय काम लगाएर प्राप्त हुने अतिरिक्त मूल्य नै नाफा हो । अतिरिक्त मूल्य नाफाको स्रोत हो ।
मार्क्स भनुहुन्छ “नाफा कमाउने अनवरत र अनन्त क्रिया नै पुँजीपतिको एकमात्र लक्ष्य हुन्छ ”। यो नाफालाई पूँजीपतिले निम्न अनुसार वितरण गर्छ : उद्योगपति (आँफै), व्यापारीर एजेन्सी (दलाल) का विभिन्न तह वा, बैंकको ब्याज र किस्ता, कर, विज्ञापनमा वितरण गर्छ । यी सबै कटाएर बाँकी रहेको नाफालाई व्यावसायिक नाफा भनिन्छ ।


अतिरिक्त मूल्य र शोषणको दर

मार्क्सले पुँजीवादी समाजमा नाफा र ज्याला एकअर्काको उल्टो अनुपातमा रहने कुरा खुलस्त पार्दै जतिजति पुँजी र उत्पादक शक्तिहरूको वृद्धि हुन्छ त्यति नै बढी मात्रामा मजदुरहरूको शोषण हुन्छ भन्ने निष्कर्ष निकाल्नुभयो ।आवश्यक श्रमकाल र अतिरिक्त श्रमकाल विश्लेषण गर्नु भयो ।
मार्क्स भन्नुहुन्छ “पुँजीले अतिरिक्त श्रमका लागि लालचको ब्वाँसो प्रवृत्ति प्रदर्शन गर्छ र त्यसअन्तर्गत मजदुरहरूको शोषण असीमितरुपले बढ्ने प्रवृत्ति विद्यमान रहन्छ ” । मजदुरको श्रमकाल बढाउँदा, ज्याला घटाउँदा शोषणको दर बढ्छ । बजारको मूल्यमा आवश्यक श्रमकाल (ज्याला) घटाउँदा अतिरिक्त मूल्य वा शोषणको दरको मापन गर्न सकिन्छ ।


पुँजी सञ्चय/ केन्द्रीकरण
:
मार्क्सले भन्नुभयो छ -मजदुरहरूमाथिको शोषण नै पुँजी सञ्चयको कारण हो । एउटै माल उत्पादन गर्न धेरै पूँजीपति बीच प्रतिस्पर्धा हुन्छ । जसले प्रतिस्पर्धा गर्न सक्छ उ अगाडि बढ्छ जसले सक्दैन उ टाट पल्टिन्छ । केही मुठी भरका पूँजीपतिहरुको हातमा पुँजी केन्द्रित हुनपुग्छ । एकाधिकार पुँजीवादको विकास हुन पुग्छ । लगानीको क्षेत्रहरूको विस्तार हुन्छ तर शोषण झनै तिब्र हुन्छ । उत्पादनले अन्तराष्ट्रिय रूप लिन्छ । सीमित मान्छेमा पुँजीको अत्यधिक केन्द्रीकरण हुँदा मान्छेहरूको क्रयशक्ति घट्छ । समाजलाई असन्तुलित बनाउँछ । यसले एक देशको मजदुर मात्र होइन अर्को देशका मजदुरहरुको र धनी देशले गरीब देशको अतिरिक्त मूल्यको शोषण गर्छ । शोषणको भूमण्डलीकरण हुन पुग्छ ।


पुँजी सञ्चयको परिणाम
पूँजी सञ्चयले पूँजीवादको अनिवार्य अन्त्य हुने कुरा साबित गर्दछ ।
मजदुरको दुर्दशा :
– मेसिनले मजदुरलाई विस्तापित गरी बेरोजगारी बढाउँछ ।
– मेसिन सरह कामको गति बढाउनु पर्छ ।
– श्रमशक्ति सस्तोमा बिक्री गर्नु पर्ने वाध्यता ।
– मजदुर मजदुर बीचमा अस्वस्थ्य प्रतिस्पर्धा र निरासा ।
– समाजमा असन्तुलन कायम भई विद्रोह भड्किन्छ ।
पूँजीपतिको अवस्था :
– प्रतिस्पर्धा गर्न नसक्ने पूँजीपतिहरु टाट पल्टिने छन् ।
– एकाधिकार पुँजीवादको विकास हुन्छ ।
– कालोबजारी बढ्दछ ।
– उत्पादन र बजारको लागि पूँजीपति पूँजीपति बीच संघर्ष हुन्छ ।
८उत्पादनमा समाजिकरण र वितरणमाअति
निजीकरणले विद्रोह पैदा गर्छ ।
– धनी र गरीब बीचको खाडल झनै गहिरो हुन्छ ।
– उत्पादन, पुनउत्पादनको प्रक्रियाले अति उत्पादन हुन पुग्छ । मालको बजार नपाएर आर्थिक मन्दीको अवस्था आउँछ । जसले पूँजीवादी उत्पादनमा संकट निम्त्याउँछ ।
– समाजवादी क्रान्तिले मात्र त्यसको समाधान गर्छ ।
यो सिद्धान्तको आधारमा मार्क्सले पूँजीवाद पछि अनिवार्य समाजवाद आउने कुरा प्रमाणीत गर्नु भयो । समाजवादमा राज्य नियन्त्रित उत्पादन हुन्छ । योग्यता अनुसारको काम र काम अनुसारको दाम (ज्याला) दिइन्छ भने अतिरिक्त श्रमबाट प्राप्त अतिरिक्त मूल्यको वितरण उत्पादन शक्तिको विकासको लागि, सामाजिक सुरक्षा तथा थप उत्पादन वृद्धिको लागि र राज्यको पूर्वाधार विकासको लागि खर्च गरिन्छ ।

निष्कर्ष :
एंगेल्स भन्नुहुन्छ – जुन निश्चितताका साथ हामी विद्यमान गणितय सिद्धान्तहरूबाट एउटा नयाँ गणितीय प्रस्थापनाको विकास गर्न सक्छौं, त्यस्तै निश्चितताका साथ हामी विद्यमान आर्थिक सम्बन्धहरु र राजनीतिक अर्थशास्त्रका सिद्धान्तहरुबाट सामाजिक क्रान्तिको कुनैपनि बेला हुन सक्ने कुरालाई साबित गर्न सक्छौ ।

अतिरिक्त मूल्यको सिद्धान्तले बर्गिय समाज र मूलतः पुँजीवादको शोषणको रुपलाई उजागर गरेको छ । यसले क्रान्तिको अनिवार्यतालाई औँल्याएको छ । पूँजीवादको संकटले एकाधिकार पुँजीवाद हुँदै साम्राज्यवादी रूप ग्रहण गरेको छ । कार्ल मार्क्सले सिद्ध गर्नु भएको “पुँजी निजी होइन सार्वजनिक सम्पत्ति हो र हुनुपर्दछ ” भन्ने वैज्ञानिक मान्यतालाई स्थापित गर्न आजको भुमण्डलीकृत साम्राज्यवादको विकल्पमा विद्रोह गरी एकाइसौं सताब्दीलाई वैज्ञानिक समाजवादको सताब्दीमा रुपान्तरण गर्ने दायित्व आजको सर्वहारावर्गको रहेको कुरालाई अतिरिक्त मूल्यको सिद्धान्तले बोध गराएको छ ।

सन्दर्भ सामग्री : कम्युनिस्ट स्कूल (मनहरि तिमिल्सिना) र अन्य नोटहरू ।

प्रतिक्रिया