शुक्रबार, चैत १६, २०८०

नेपाल पक्षको अनुपस्थितीमा एमाले केन्द्रिय कमिटी बैठक सुरु

मेरोन्यूज २०७८ असार १८ गते ११:५३

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी गराए ।

उनका अनुसार पार्टीको केन्द्रिय कमिटी बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष अनुपस्थित छन् भने पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी भएका छन् । बैठकमा पार्टीको आन्तरिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरी १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेपछि पार्टीमा विवाद हुँदै आएको थियो ।

नेपाल पक्षले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएको थियो । सर्वोच्च अदालतले १०अ‍ैं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि ओली पार्टीलाई पहिलाको अवस्थामा फर्काउन तयार भएका हुन् । बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटीलाई भंग गरी केन्द्रिय कमिटीमा रुपान्तरण गरेको थियो भने स्थायी कमिटीमा माओवादी खेमाका चार नेता र एमालेका ३ जेठमा एमाले र माओवादी पार्टी एकता हुँदा स्थायी कमिटीमा थपिएका केही नेतालाई स्थायी कमिटीमा थपिएको थियो ।

नेपाल पक्षले २ जेठ २०७५ को अवस्थामा पार्टीको बैठक बसेर नेताहरुलाई स्थायी कमिटीमा थप्नु पर्ने बताउदै आएको छ । नेता नेपाल पक्षको बिहिबार बसेको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रिय कमिटी बैठक एक पक्ष रुपमा बोलाएको भन्दै बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको थियो ।

Advertisement

प्रतिक्रिया