बिहीबार, चैत १५, २०८०

युरोकप २०२०

क्वाटरफाइनलका खेल आज सुरु हुँदै

आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटली भिड्दै

मेरोन्यूज २०७८ असार १८ गते ९:३३

काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो ।

आज क्वाटरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेल स्वीट्जरल्याण्ड र स्पेनबीच हुँदा दोस्रो खेलमा बेल्जियम र इटलीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समय अनुसार राति पौने १० सुरु बजे हुनेछ ।

प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५–३ ले पराजित गरेको थियो ।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

Advertisement

स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीको म्युनिकमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने छ ।

दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।

क्वाटरफाइनलका बाँकी दुई खेल भोलि हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

प्रतिक्रिया