बिहीबार, वैशाख ६, २०८१

कांग्रेसका तीन राजकुमारहरुको बैठक स्थगित

मेरोन्यूज २०७८ असार १८ गते ८:०१

काठमाडौं । कांग्रेसका तीन राजकुमारहरुले आजका लागि तय गरेको केन्द्रीय सदस्यहरसँगको अनौपचारिक छलफल स्थगित गरेका छन् ।

उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला र पूर्वमहामनत्री प्रकाशमान सिंहले आजका लागि तय भएको छलफल स्थगित गरेका हुन् । पछिल्लो पटक चाक्सीबारीस्थित सिंहको निवासमा बसेको बैठकले आज केन्द्रीय सदस्यसँग छलफल गर्ने निर्णय गरेको थियो ।

नेता सिंहले क्रियाशील सदस्यको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगित भएको जानकारी गराएका छन् ।

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने पनि उनले उल्लेख गरेका छन् ।

काग्रेसका तीन संस्थापक नेताहरु वीपी कोइराला पुत्र डा. शसांक कोइराला, महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि र लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई राजकुमार भनेर चर्चा गर्ने गरिन्छ ।

काग्रेसमा यी तीन नेतालाई राजकुमार पनि भनिन्छ । राजकुमारहरुको आज केन्द्रीय सदस्यहरुसँग डा. शसांकको निवासमा छलफल गर्ने गरी प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बसेको बैठकले निर्णय लिएको थियो । त्यही बैठक स्थगित भएको हो ।

१४ औं महाधिवेशनको मिति नजिकिएसँगै यी तीन नेताको भेटघाट बाक्लिएको हो । तीन जनाले सभापतिका लागि आंकाक्षा देखाएका छन् । सहमतिमा अघि बढ्ने भनेर छलफल अघि बढाएपनि कसलाई सभापतिमा अघि सार्ने भन्ने अझै निर्क्यौल गर्न सकेका छैनन् ।

प्रतिक्रिया