शुक्रबार, वैशाख १४, २०८१

सशस्त्रमा एआईजीको दरबन्दी थप्न चलखेल

दया दुदराज २०७८ असार १७ गते १३:३५

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपिए लगत्तै सशस्त्र प्रहरीमा समेत एआईजीको दरबन्दी थप्ने तयारी सुरु भएको छ । गृहमन्त्रालयले सशस्त्रमा रहेको २ जना एआईजीको दरबन्दीमा एक जना एआईजी थपेर ३ बनाउने प्रक्रिया अघि बढाएको गृह स्रोतले जानकारी दियो ।

दरबन्दी थपिए डिआईजी खड्क राई र मन्दिप श्रेष्ठ मध्ये एक जनालाई एआईजी बढुवा गर्न बाटो खुल्नेछ । यसअघि उनिहरुको पदावधि एक वर्षका लागि थप गरिएको थियो । उनीहरू दुवै जनाको ५ वर्षे पदावधि आगामी माघमा सकिँदै छ । दरबन्दी नथपिए उनिहरु डिआईजीबाटै घर जानेछन् भने दरबन्दी थपिए एक जना आईजीपी बन्नेछन् ।

यी दुई दाबेदार डिआईजी मध्ये अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई निकट खड्क राई एआईजीमा बलियो दाबेदार देखिएका छन् । सशस्त्र प्रहरीले एक वर्ष अगाडी नै दश हजार प्रहरीको दरबन्दी थप गर्न भन्दै प्रस्ताव गरेको थियो । जसमा गृहमन्त्रालयले करिब चार हजार दरबन्दी थप्ने गृहकार्य अघि बढाएको छ ।

गृहमन्त्रालयले सशस्त्रसँगको सम्बन्वयमा ओएनएम् बढाएको छ । गृहस्रोतले भन्यो, चार हजार दरबन्दी सहित को ओएनएम् पास गर्ने अन्तिम तयारीमा छौं । त्यसबेला एआईजीमात्रै होईन, डिआईजी, एसएसपीहुँदै तलसम्मका पदहरुमा दरबन्दी थपिन्छ । तत्काल त्यो पास हुने सम्भावना नदेखिए एह हप्ता भित्रै एक एआईजीको मात्रै भएपनि दरबन्दी सृजना गर्ने गरी गृहकार्य अघि बढिसकेको छ । ’

सशस्त्र मुख्यालयले भने एक एआईजीको दरबन्दी छुट्टै थप्नुभन्दा चार हजार दरबन्दी एकमुष्ठ थप्नुपर्ने अड्डि कसिरहेको छ । असार सकिनुअघिनै एआईजीको दरबन्दी थप्ने गृहको योजना रहेको छ । अहिले थपिएका एआईजी मध्येबाटै पछि आईजीपी हुने भएकोले पनि गृहले त्यसमा चलखेल गरिरहेको छ । यद्यपी सशस्त्रका डिआईजी प्रविण कुमार श्रेष्ठको पदावधी भने थप्न मानेको थिएन । गत असार ८ गते अवकास प्राप्त गरेका डिआईजी प्रविण कुमार श्रेष्ठको पदावधी थप्नका लागि गृहले सिफरीस गरेको थियो तर मन्त्रीपरिषद्को वैठकले कुनै छलफल नगरिसकेपछि उनले अवकास पाएका थिए । सशस्त्रमा दुई जना डिआईजीहरुको पदावदी थपिएता पनि श्रेष्ठको पदावधी नथपिदा सशस्त्रको कार्यप्रति असन्तुष्ट झल्किएको छ ।

सरकारले नयाँ बजेट सार्वजनिक गरेसँगै आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा गरेको थियो । उक्त घोषणा बमोजिम नै गृहमन्त्रालय दरबन्दी थप गर्ने गृहकार्य अघि बढेको हो ।

हाल सशस्त्रमा प्रशासन तथा मानवस्रोत विभागमा रामशरण पौडेल र कार्य तथा सीमा सुरक्षा विभागमा पुष्पराम केसी गरी दुई एआईजीहरु छन् । यसमा गृहमन्त्रालयले एक थपेर ३ एआईजीको दरबन्दी बनाउने गृहकार्य गरेको छ ।

यसअघि असार ७ गते बसेको मन्त्रिपरिषद्को वैठकले नेपाल प्रहरी तर्फका एआईजीको दरबन्दी थपेर ३ बाट ४ बनाएको थियो । सो निर्णय अनुरुप प्रदेश समन्वय निर्देशनालय नक्सालमा कार्यलयमा कार्यरत डिआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । यसरी बिना अध्ययन पछिल्ला दिनमा आफु अनुकुल दरबन्दी थप्दै जाने परिपाटीले प्रहरीमा चेनअफ कमाण्ड बिग्रने चिन्ता गरिएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया