बिहीबार, वैशाख ६, २०८१

शरणार्थी परिचयपत्र नवीकरण

मेरोन्यूज २०७८ असार १७ गते १२:१३

बागलुङ । ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो । बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।

तिब्बतीहरु विसं २०१६ मा शरणार्थीका रूपमा ढोरपाटन पुगेका थिए । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सङ्ख्या घट्दो छ । शुरुका वर्षमा सयौँ शरणार्थी परिवार त्यहाँ बस्थे । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् ।

सरकारले शरणार्थीको बसोबासका लागि अस्थायीरूपमा जग्गा व्यवस्थापन गरेको छ । शरणार्थीले आफ्नै कमाइ र मेहनतमा घर बनाएर बसेका छन् । दशकौँदेखि यहीँको समुदायसँग घुलमिल भएर बसेका उनीहरुले नेपाली नागरिकताको माग गर्दै आएका छन् । भाषिक समस्याका कारण शरणार्थीका बालबच्चा भने पोखरा बसेर पढ्छन् ।

कतिपय शरणार्थी शहरी क्षेत्रमा पुगेर श्रम र रोजगरीबाट जीविका चलाउने गर्छन् । ढोरपाटनसहित देशका विभिन्न ठाउँमा तिब्बती शरणार्थी बस्छन् । रासस

प्रतिक्रिया