शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय सभाको आठौं अधिवेशन आज सुरु हुँदै,

प्रतिनिधि सभा विघटनको अवस्थामा रहेकाले अधिवेशन औपचारिकतामा सीमित हुने

मेरोन्यूज २०७८ असार १७ गते ८:०९

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौँ अधिवेशन आज सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आवान गरेकी हुन । बैठक अपरान्ह ४ बजे नयाँ बानेशवरस्थित संघीइ संसद भवनमा बस्ने छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

उनले भने , स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम पूरा भएको छ, उपकरणलाई पनि चुस्त तुल्याइएको छ, छुटेका सदस्यलाई खोप लगाउने र एन्टिजेन परीक्षण गर्ने काम भने आजै हुने छ ।

बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ ।

बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ । प्रतिनिधिसभा विहीन अवस्थामा शुरु हुन लागेको राष्ट्रिय सभाको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न ।

प्रतिनिधि सभाको अभावमा मुलुकका समसामयिक र जनजीवीकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।

सरकारले पनि आफुमाथि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्ने मौका पाउने छ ।

गत पुसमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो । राष्ट्रिय सभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो ।

एउटा अधिवेशनको समाप्ति र अर्का अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रिय सभाको अधिवेशन बेग्लै आह्वान हुने अवस्था आएको हो ।

प्रतिक्रिया