शनिबार, वैशाख ८, २०८१

पहिरोका कारण पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

मेरोन्यूज २०७८ असार १७ गते ७:३२

तनहुँ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि राजमार्ग खुलाउन प्रहरी व्यस्त रहेको उनले बताए । उनका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

बन्दिपुर–४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँच जनाको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिए ।

उनका अनुसार पहिरोले बन्दिपुर–३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया