बुधबार, वैशाख १२, २०८१

भन्सार छलिको गाडीसहित ‘नक्कली’ कागजपत्र बनाउने गिरोह पक्राउ

मेरोन्यूज २०७८ असार १६ गते १३:२७

काठमाडौं । भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाएको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लमजुङ शुन्दरबजार नगरपालिका-३ बस्ने कमल बाबु पुरी भन्ने ३३ वर्षीय कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४१ वर्षीय मधु सिलवाल, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने २४ वर्षीय अरूण खडका र काठमाडौं शान्तिनगर बस्ने मोरङ कानेपोखरी गाउँपालिका-७ वतन भएका ४१ वर्षीय रेवती रमण निरौला रहेका छन् ।

भन्सार छलि काठमाडौं भित्र्याईएका चार पाङ्ग्रे सवारी साधनहरूको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ गोपीकृष्ण हल नजिकबाट ग.३ च १४६२ नम्बर प्लेट भएको हुण्डाई कम्पनीको क्रेटा कार सहित कमल बाबुलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा अर्को क्रेटा गाडी समेत अरुण र मधुको समूहले बिक्री गर्न राखेको खुल्न आएपछि प्रदेश ३-०१० २४ च ०२५३ नम्बर प्लेटको क्रेटा कारसहित सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

बरामद भएका दुईवटै सवारी साधनको दर्ता किताब कमल बाबुको नाममा रहेको पाइएपछि सोधपुछ गर्नेक्रममा रेवतीले ब्लूबुक बनाईदिने गरेको भन्ने खुल्न आएपछि उनलाई पशुपती मन्दिर परिसर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले रेवतीको काठमाडौं शान्तिनगरस्थित कोठाबाट बिभिन्न सरकारी कार्यालयका छाप, विश्वविद्यालयका छाप, यातायात व्यवस्था कार्यालयका १ सय ९१ वटा छाप सहित विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र लगायतका कागजातहरू बरामद गरेको छ ।

उक्त गाडीहरूको प्रचलित बजार मूल्य प्रति कार ७० लाखका दरले १ करोड ४० लाख पर्नेमा उनीहरूले ४५ लाखका दरले जम्मा ९० लाखमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया