शुक्रबार, चैत १६, २०८०

अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने कृषि हो : मन्त्री नेम्वाङ (भिडियोसहित)

मेरोन्यूज २०७८ असार १५ गते १५:२८

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री बसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सके देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताए ।

उनले कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भर बन्नु पर्ने बताए । समृद्धिको आधार कृषि भएको भन्दै उनले भने, ‘अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने कृषि हो, कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टिकरण ढंगले अगाडि बढाएर, आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन आवश्यक छ ।’

मन्त्री नेम्वाङले सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको बताए । उनले भने, ‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको अहमता, व्यापकता र आवश्यकतालाई ध्यान दिनु जरुरी छ, परम्परा र सांस्कृतिक रुपमा, महोत्सवको रुपमा, यसको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरु बन्दैछ ।’

सोही क्रममा मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको बताए । मौसमले साथ दिएको र रासायनिक मल समयमै उपलब्ध भएको भन्दै उनले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनु पर्ने बताए ।

Advertisement

प्रतिक्रिया