मंगलबार, जेठ ८, २०८१

युरोकप : नकआउट चरणका अन्तिम दुई खेल हुँदै

आयुश राठौर २०७८ असार १५ गते १३:१८

काठमाडौँ । युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुने भएको छ । अन्तिम नकआउट चरणको पहिलो खेलमा इंग्ल्याण्ड र जर्मनी भिड्दा दोस्रो खेल स्विडेनले युक्रेनको सामना गर्ने छ ।

Advertisement

इंग्ल्याण्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे लण्डनस्थित वेम्बली स्टेडियममा हुने छ । दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहने छन् ।

इग्ल्याण्डले समूह ‘डी’बाट अपराजित रहँदै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो । उसले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल, दोस्रोमा स्कटल्याण्डसँग गोलरहित बराबरी र अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोलले पराजित गरेको थियो ।

यस्तै, जर्मनीले समूह ‘एफ’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । उसले समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित हुँदा दोस्रो खेलमा पोर्चुगलसँग ४–२ गोलले विजयी भएको थियो । अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेलेको थियो ।

आजको दोस्रो खेल स्विडेन र युक्रेनबीच राति १२ः४५ बजे स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुनेछ । स्विडेन समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

समूह चरणको पहिलो खेलमा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा स्लोभाकियालाई १–० गोल र पोल्याण्डलाई ३–२ गोलले पराजित गरेको थियो ।

यस्तै, युक्रेन समूह ‘सी’बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो ।

युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २–१ ले हराएको थियो भने अन्तिम खेलमा अष्ट्रियासँग १–० ले पराजित भएको थियो ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया