बिहीबार, वैशाख १३, २०८१

झापाका गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

मेरोन्यूज २०७८ असार १४ गते ११:४८

झापा । झापाका दुई गाउँपालिकाले आफ्नो नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।

झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ ।

यसका लागि पालिकाले पाँच लाख रकम विनियोजन गरेको छ । यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताए ।

आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताए । झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । सो औषधि खरिदका लागि पालिकाले १० लाख रकम विनियोजन गरेको छ ।

पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा दुई हजार सहयोग दिने गरेकोमा यस वर्ष बृद्धि गरी १० हजार प्रदान गर्ने गरी २० लाख रकम बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष साहले बताए ।

झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कूल ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ । रासस

प्रतिक्रिया