बिहीबार, वैशाख २०, २०८१

किसानलाई बङ्गुरका पाठापाठी वितरण

मेरोन्यूज २०७८ असार १४ गते ८:५२

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिकरूपमा बङ्गुर पालन गरिरहेका किसानलाई ३७० पाठापाठी वितरण गरेको हो ।

बङ्गुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बङ्गुरका पाठापाठी वितरण गरेको हो ।

पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बङ्गुरपालक किसानको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले पाठापाठी वितरण गरिएको बताए ।

“व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, अध्यक्ष चौधरीले भने, “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आवद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौं ।”

गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गरिन् ।

“हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन”, उनेले भनिन्, “हामी निरन्तर अनुगमनमा आउने छौं । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।”

पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका १० वटा समूहलाई बङ्गुरका पाठापाठी वितरण गरिएको बताए ।

“हामीले गाउँपालिकामा व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका १० वटा समूहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समूहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेका छौं”, उनले भने, “पठापाठी वितरण गर्न २० लाख खर्च भएको छ । यसलाई सदुपयोग गर्नुहोला ।”

प्रतिक्रिया