शुक्रबार, वैशाख १४, २०८१

गैंडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

मेरोन्यूज २०७८ असार १४ गते ६:३४

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैंडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

स्थानीय संरक्षणकर्मीहरुको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ । अदालतको आदेशानुसार मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको अधिकारीले बताए ।

आइतबार कारागार पठाइएका थापाको नाममा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको अधिकारीले बताए ।

थापासहित यस वर्ष गैंडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया