बुधबार, वैशाख १२, २०८१

कांग्रेस महाधिवेशन

पारिवारिक विरासत फर्काउने प्रयासमा नेतात्रय, होलान् सफल ?

सञ्जिता खनाल २०७८ असार १३ गते २१:५२

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको आन्तरिक उतारचढावमा बलियो सारथिका रुपमा विमलेन्द्र निधिको साथ र सहयोग रह्यो । देउवालाई प्रभावशाली र विश्वासपात्र अन्य नेताले छाड्दा निधि सधैजसो साथसाथै रहे । तर अहिले उनै निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका दुई खम्बा मानिने शशांक कोइराला र प्रकाशमान सिंह आफै नेतृत्वका लागि कस्सिएका छन् ।

तीन दिनको फरकमा शुक्रबार र सोमबार नेतात्रय दुई पटकको छलफलमा बसे । नेता निधिले गत वर्षको साउन २९ गते नै देउवालाई भेटेर आफू सभापति उठ्ने जानकारी दिइसकेका थिए ।

उनै नेता निधिले गत शुक्रबार नेताद्वय शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेपछि नयाँ तरङ्ग उत्पन्न भयो । अझ सोमबार बीपी पुत्र शशाङ्क कोइरालाले पनि आफ्नै निवासमा निधि निवासमा भएको छलफलको श्रृंखलालाई जोडे ।

श्रृंखलाबद्द भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । सोमबारको छलफलमा महामन्त्री शशांक कोइरालाले हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना रहेको बताएपछि त्यसले कांग्रेसजनमा थप नयाँ तरंग दिएको छ । अब पार्टीलाई एक जुट बनाएर अगाडी कसरी बढ्ने भनेर छलफल भएको उनले जानकारी दिएका थिए । शशांकले भने,–‘आगामी निवार्चनमा हामी एक जुट भएनौँ भने त फेरी पार्टी धारासायी हुन्छ । हामी तीन जना एकै स्थानमा रहेका छौँ ,अब हामी निर्णय गछौँ ,को के मा लड्ने भने ।’

उपसभापति विमलेन्द्र निधीले भने,–‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै जना खुसी छन् ।’ पार्टीका अलग समुहमा रहेका नेता एक ठाउँमा बस्नु भनेको नयाँ गुट बनाउन नभई गुट तोड्न भएको निधिको भनाई छ । ‘हामीहरु क्रमसः छलफलकै क्रममा छौं, फेरि पनि निरन्तर छलफलमा बस्छौं,’ –उनले भने ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने –‘कसको नेतृत्वमा अगाडी बढ्ने भन्ने विषय समय आएपछि त्यो निर्णय हुन्छ । एक–दुई भेटमै नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’

यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने उनको भनाई छ । गत साता सभापति देउवा इतर पक्षका नेताहरुसँग निधिले छलफल गरेको थिए । देउवाका विश्वासपात्र निधि देउवालाई नै चुनौती बन्न सक्ने आंकलन गर्न थालिएको छ । आफ्नो अग्रसरतामा साथ दिन ती युवा नेताहरूलाई उनले आग्रह समेत गरेका छन् ।
देउवा इतरको भेलामा सहभागी नेताहरूका अनुसार निधिले ‘अघिल्लो महाधिवेशनमा देउवाले साथ दिन आग्रह गर्दै आउँदो महाधिवेशनमा आफूलाई साथ दिने वचन दिएको’ सुनाएका थिए । दोस्रो पुस्ताका त्रय नेताहरुले राष्ट्रिय राजनीतिका विषयमा समेत एकै मत बनाउने र पार्टीलाई एकतावद्द गर्ने गरि छलफलमा जुटेको बताउँछन् ।
कोइराला १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् भने सिंह १२ औं महाधिवेशनमा निधिलाई पराजित गर्दै महामन्त्री भइसकेका छन् । निधि हाल कांग्रेस उपसभापति छन्् । उनीहरू अहिले एक ठाउँमा देखिँदा धेरैले यो सहकार्य महाधिवेशनसम्म टिकेमा भने कांग्रेस नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने ठानेका छन् । नेता त्रय कांग्रेसका दिवङ्गत सस्थापक नेताहरूका छोराहरू हुन ।
कोइराला विपिपुत्र, सिंह लौहपुरुष गणेशमान सिंह पुत्र र निधि महेन्द्रनारायण निधिका पुत्र हुन् । सस्थापक तीन नेताका छोराहरुको यो प्रयासले सार्थकता पाउला÷नपाउला तर कतिपयले कांग्रेसमा नयाँ धुव्रीकरणले आकार लिन थालेको आकलन गरेका छन् ।

अहिलेको भेटघाट उल्टो बाटोको भयो, खासै अर्थ राख्दैन्

पुरञ्जन आर्चाय, राजनीतिक विश्लेषक


पछिल्लो समय काग्रेसका तीन नेता विमलेन्द्र निधि, शसांक कोइराला र प्रकाशमान सिंहबीचको जुन प्रकारको छलफल चलिरहेको छ । त्यो भेटले खासै सहकार्य सम्भव छैन् । भेटघाट खानपान सम्भव छ । सहकार्य अगाडी बढ्दैन् । महाधिवेशन आएको छ । आफु-आफुलाई सभापतिको उमेद्दवारका लागि प्रस्तुत गरेका छन् । मिडियाले सहयोग गरेका छ । तीनै जनाले सभापतिमा उठ्ने भनेर घोषणा गरिसकेका छन् । तीनै जनाले सार्वजनिक रुपमा सभापतिको दाबेदार हुँ भनेर घोषणा पनि गरिसकेका छन् ।

घोषणापछिको भेटघाटले खासै महत्व राख्दैन । सभापतिको घोषणा गर्नुभन्दा अघि नै सहमतिमा एक जना सभापति उठ्ने अरु दुई जनाले सहयोग गर्ने गरेको भए सहकार्य सम्भव हुन्थ्यो । तर अहिलेको भेटघाट उल्टो बाटोको भयो । पहिला तीन जनाले सभापतिमा उठ्छु भन्ने अहिले तीनै जना बसेर के –को छलफल हो ?

यदि पहिला नै हामी छलफलपछि तीन जनामा एक जनाले उमेद्वार दिन्छौँ भनेको भए हुन्थ्यो तर त्यो पनि छैन् । भोलीको दिनमा उनीहरुलाई कार्यकर्ताहरुका बिचमा प्रश्न उठ्छ । त्यसकारण उनीहरुको छलफलको औचित्य सकिसकेको छ । अहिलेको भेटघाट त बच्चा जन्मिसकेको छ । तर छोरा हुने कि छोरी हुने भने जस्तो मात्र भयो । घोषणा गरिसकेपछि त अब प्रतिस्पर्धा गर्ने हो त ।
त्रयनेताले हामीले पहिला भनेका कुराबाट फर्किन्छौँ । फेरी नयाँ बाटोबाट हामी सहकार्य गछौ भन्न सक्नुपर्यो । हिजोका दिनमा हतारमा हामीले सभापति भनेका थियौ, त्यो फिर्ता लिन्छौं भन्न सक्नुपर्यो । अब हामी तीन जना बसेर छलफल गरेर एउटा साझा उमेद्धार दिन्छौ भन्न सक्नुपर्यो ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया