बिहीबार, वैशाख १३, २०८१

राजीनामा दिएका पुनः निर्माणका इञ्जिनियर काममा फर्कने

मेरोन्यूज २०७८ असार १३ गते १९:५९

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन)अन्तर्गतका प्राविधिक कार्य क्षेत्रमा फर्केर पुनःनिर्माणका काममा क्रियाशील हुन सहमत भएका छन् । उनीहरूले गत शुक्रबार सामूहिक राजीनामा दिएका थिए ।

प्राधिकरणमा आइतबार भएको छलफलपछि इञ्जिनियरले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका विषयमा सहमति भएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको छलफलपछि एकाईका आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकतर्फबाट अविनाश अमरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपछि अमरले माग पूरा भएकामा खुशी व्यक्त गर्दै उनले सबै प्राविधिक काममा खटिने र असार मसान्तभित्र लाभ ग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

ओखलढुंगामा कार्यरत स्व इञ्जिनियर राजा साहको काम काजकै क्रममा मृत्यु भएकामा परिवारजनलाई बिमाको रकम उपलब्ध गराउन पहल गरिने सहमति भएको छ ।

प्राधिकरणअन्तर्गत रहेर कामकाज गरेका कर्मचारी, प्राविधिक, सामाजिक परिचालक, डकर्र्मीसमेतको काम अनुभवसहितको विवरण तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने सहमति भएको छ । यस विवरणलाई सम्बन्धित निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने भएको छ ।

प्राविधिकले पाउनु पर्ने सञ्चार तथा यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष २०७७-७८ को साउन महिनादेखि नै नियमानुसार उपलब्ध गराइने सहमति भएको छ । सरकारले लिएको विपद् जोखिमबाट सुरक्षित नेपाल महाअभियानको १० वर्षे लक्ष्यमा समाहित हुने गरी प्राधिकरणअन्तर्गतका प्राविधिकलाई ग्राह्यता दिन पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया