मंगलबार, वैशाख ११, २०८१

माधव नेपाललाई मिलाउने प्रयासमा ओली, महाधिवेशन आयोजक कमिटी खारेज गरिने

मेरोन्यूज २०७८ असार १३ गते १५:५३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते बनाएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । आयोजक कमिटी खारेज गर्नका लागि आगामी १६ गते पार्टीको बैठक बोलाइएको स्रोतले जानकारी दिएको हो ।

महाधिवेशन आयोजक कमिटी खारेज गरेसँगै पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी ब्युँतिने छ । यससँगै पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन पाउने छ ।

आइतबार बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी एकताका लागि सार्वजनिक गरेको ६ बुँदे प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।

ओलीले गत २३ जेठमा माधव कुमार नेपालसँग पार्टी एकता गर्ने भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उक्त प्रस्तावमा नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न अपिल गरेको छ ।

तर, नेपाल पक्षले २ जेठ २०७५ अगाडिको अवस्थामा पार्टी फर्किनु पर्ने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया