बिहीबार, वैशाख १३, २०८१

उपत्यकामा निषेधाज्ञा थपिने, सार्वजनिक गाडी खुलाउने एजेण्डा छलफलमा

दया दुदराज २०७८ असार १३ गते १२:११

काठमाडौं । उपत्यकामा फेरी एक हप्ता निषेधाज्ञा लम्ब्याउने गृहकार्य सुरु भएको छ । कोरोना भाईसरको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी गरेको हो ।

संक्रमण केही कम भएपनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मेरोन्युजलाई जानकारी दिए ।

अझ कति लब्याउन सकिन्छ या के के मा कडाई गर्न सकिन्छ भन्ने विषयमा उपत्यकका ३ प्रमुख जिल्ला अधिकारीहरु आज ४ बजे वैठक बस्ने प्रजिअ भट्टराईले बताए । उनले भने, ‘थप हुने निषेधाज्ञामा सार्वजनिक गाडी खुलाउने या नखुलाउने भन्नेबारे छलफल हुने छ । विज्ञले संक्रमणको जोखिम कायमै रहेकोले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् । तर, यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् । अब यो कुरा वैठकले निर्णय गर्छ ।’

अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यस्तै, तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएको छ । त्यसैगरी निश्चित समय तोकेर हार्डवेयरलगायत अन्य पसल पनि खोल्न दिइएको छ ।

काठमाण्डौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सकिँदै छ । यसअघि उपत्यका प्रशासनले ७ गतेदेखि स्मार्ट निषेधाज्ञा गरेको थियो ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया