शुक्रबार, वैशाख ७, २०८१

जलजन्य प्रकोप जोखिममा नेपाल ३० औँ

मेरोन्यूज २०७८ असार १३ गते ७:११

काठमाडौं । विश्व मानचित्रमा भौगोलिक धरातल र हावापानीका हिसाबले जति सुन्दर छ प्राकृतिक प्रकोप घटनाबाट बर्सेनि ठूलो जनधनको क्षति हुने मुलुकको सूचीमा पनि नेपाल अग्रस्थानमै पर्छ ।

गृह मन्त्रालयका अनुसार बाढी, पहिरा, भूकम्प, आगजनी तथा समुद्री आँधीका कारणबाट उत्पन्न हावाहुरी तथा असिना, मुसलधारे वर्षा र सुक्खाजस्ता विविध प्रकृतिका प्रकोपका घटनाबाट नेपाल सङ्कटासन्न अवस्थामा छ ।

विश्वमा विपद् जोखिमको नक्साङ्कनमा नेपाल २० औँ तथा बाढी र पहिराजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट ३० औँ स्थानमा छ । ज्यादै कमजोर पर्वतीय भूसतह तथा वनजङ्गलको तीव्र विनास, अत्यन्तै भिरालो पहाड-पर्वत, खोरिया फँडानी, अवैज्ञानिक खेती प्रणाली, मनसुनको समयमा हुने मुसलधारे वर्षा र त्यसपछिको प्रचण्ड तापमानलगायत कारणबाट नेपालको पहाडी भूभागमा बारम्बार बाढीपहिराका घटना हुने गर्छन् ।

उत्तरबाट दक्षिणतर्फ भिरालो धरातल भएबाट हरेक वर्ष पहाडमा बाढी पहिरा र तराई मधेसमा डुबानका समस्या हुँदै आएको छ । नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण पनि तराईका कतिपय जिल्ला सदरमुकाम र आसपासका गाँउमा डुबान हुँदैं आएको छ ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठनका रूपमा रहेको नेपाली सेनाले बाढी, पहिरा र डुबानलगायतका प्राकृतिक प्रकोपमा सहज परिचालनका लागि केन्द्रको आदेश लिन नपर्ने व्यवस्थासहित सबै युनिटमा एकतिहाइ जनशक्ति तयारी अवस्थामा राखेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सेनाले मुलुकका जुनसुकै भागमा आवश्यकताअनुसार थप जनशक्ति सहजरूपमा खटाउन सक्ने गरी चितवन र काठमाडौंको सुन्दरीजलमा विपद् व्यवस्थापनसम्बन्धी गण तैनाथ गरेको छ ।

प्रतिक्रिया