शनिबार, वैशाख ८, २०८१

बझाङ्गे मकै, आलु र सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?

मेरोन्यूज २०७८ असार १२ गते २०:५५

बझाङ । तपाईं बझाङ्गे मकै, आलु र सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ? हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोस् । कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गरी जिल्ला बाहिरका बजारमा पठाउने तयारी गर्दैछ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केही स्थानीय तहले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएका छन् ।

नेपालको धेरै ठाउँमा अत्याधिक माग रहेको बझाङ्गे आलु र सिमीले बजारमा आफ्नो पहिचान बनाएको छ । स्थानीयस्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गर्न लागिएको केन्द्रका प्रमुख टेकबहादुर बिष्टले जानकारी दिए । जिल्लामा अधिकांश कृषकको मुख्य खेती आलु, सिमी र मकै हो । जिल्लामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम कार्यान्वयनमा आएको छ ।

कार्यक्रम अन्तर्गत बुङ्गल नगरपालीकाको वडा नं ६ को डिन्नु , वडा नं १ र २ , जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवल तथा दुर्गाथली गाउँपालिकाकोे सैनपसेललाई आलुमा आत्मनिर्भर बनाउन लागिएको उनले बताए । उनले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको बीउ राख्ने भकारी, चार सय थान बीउ सुकाउने पाल, र पाँच हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिए ।

यस्तै जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ । पहिलो पटक जिल्लामा उत्पादन भएको भिरमौरीको मह, सिमी, मकै र आलु लगाएतका खाद्यान्न सामाग्रीहरुलाई अर्को जिल्लासम्म पुर्याउने लक्ष्य लिएको छ ।

यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागी १२ लाख बिनियोजन गरिएको केन्द्रले जनाएको छ । केन्द्रले आलु प्याकिङको लागि सामाग्रीको ब्यवस्थापन भैसकेको र आगामी साउन महिना भित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ ।

साथै स्थानीय तथा राष्ट्रिय बजारमा रु १ करोड ४४ लाख बराबरको ३५ हजार क्विन्टल आलु निर्यात गरिने समेत केन्द्रले जानकारी दिएको छ । आलुजोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई आधुनिक तरिकाले आलु लगाउन सिकाएको थियो ।

अहिले किसानहरु औधी खुशी छन् । साथै उत्पादनमा अझ अग्रसर हुन थालेका छन । किसानले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानको जीवनस्तर माथि उठ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया