शुक्रबार, वैशाख ७, २०८१

प्रचण्डले सोधे- हुँ इज केपी ओली ?

बाह्य हस्तक्षेप बारेको प्रश्नमा प्रचण्ड भन्छन् : हामी नेतालाई धेरै एक्सपोज नगराउनुस्, बुझनेलाई इसारै काफी छ

मेरोन्यूज २०७८ असार १२ गते १८:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी ओली गर्ने नहुने काम मात्र गरिरहने प्रवृतिका खलनायक भएको बताएका छन् । पार्टीभित्र समेत डेमोक्रेटिक छलफल रुचाउनै नसक्ने पात्र र प्रवृतिको मान्छे केपी ओली भएको भन्दै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको चर्काे आलोचना गरे ।

विपक्षी ५ दलीय गठवन्धनले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शनिवार राजनीतिक विटमा कलम चलाउने पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले हुँ इज केपी ओली भन्दै प्रश्न गरेका थिए ।

‘केपी भनेको नहुने–नहुने काम गर्ने मान्छे हो । प्रधानमन्त्री र राष्ट्रपति भन्ने वित्तिकै केपी–विद्याको अनुहार आउने । उनीहरुले जे पनि गर्ने भनेर मलाई अचेल कतिपय वुद्धिजीविहरुले समेत भन्न थाल्नुभएको छ । ज्यातिविधि भयो, राष्ट्रपतिको रवरस्टाम्प पनि । हुँ इज केपी ओली ?’ प्रचण्डले प्रश्न गर्दै भने, –‘केपी ओलीको हद अति भयो । म भित्र यति धेरै छ की, उहाँसँगको हद नाघेका कुराकानी । कुनै दिन म सबै समय मिलाएर भनौला ।’

ओलीले अहिले सर्वाेच्च अदालतलाई समेत धम्काउन थालेको बताए । ‘केपीले अहिले धम्काउन थाल्नुभएको छ, कहिले महान्यायधविक्तामार्फत धम्काउन थाल्नुभएको छ, कहिले आफैँले धम्काउनु भएको छ , कहिले विचरा म । मलाई देखाएर धम्काइएको छ,’ प्रचण्डले भने,-‘ मेरो सेटिङमा नेपाल चलेको भए त !’

बाह्य हस्तक्षेप लक्षित ५ पूर्वप्रधानमन्त्रीले निकालेको वक्तव्य अमूर्त भएको पत्रकारहरुको प्रश्नमा प्रचण्डले धेरै खुल्न चाहेनन् । सँगै मञ्चमा रहेका जनमोर्चाका महासचिव मनोज भट्टले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख समान्तकुमार गोयलको नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेट भएपछि ओलीको कोर्स करेक्सन भएको बताइरहँदा प्रचण्डले भने नेताहरुलाई धेरै बाेल्न नलगाउनुस् भने ।

प्रचण्डले भने,– नेताहरुलाई धेरै भन्न नलगाउनस्, विदेशी हस्तक्षेपका बारेमा । बुझनेलाई इसारा नै काफी छ । धेरै नेताहरुलाई बोलाउन लगाउनु भयो भने देश दुर्घटनातिर जान्छ,’ प्रचण्डले भने ।

प्रचण्डले गठबन्धनमै रहेका एमाले वरिष्ठ नेता माधव नेपाल एमालेको वास्तविक लिडर भएको पनि बताए । ‘एमालेको रियल लिडर माधवजी हो । केपी चै खस्किदैँछन् ।’ प्रचण्डले भने ।

उनले शुरुमै बाेल्दा नै विपक्षी ५ दलीय गठबन्धन मुद्दामा आधारित भएर बनेको ले संविधानको रक्षा सुनिश्चित नहुँदासम्म गठबन्धन निरन्तर रहने बताए । ‘शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौँ । हामीले नै देउवालाई प्रम अफर गरेका हौँ, उहाँले मागेको होइन । हाम्रो लडाईं प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै हामीले गठबन्धन बनाएका होइनौं,’ प्रचण्डले भने,–‘यो मुद्दामा आधारित गठबन्धन हो । निरन्तर संविधानको रक्षाको सुनिश्चितता नभएसम्म रहन्छ ।’

अब यो देशमा राजनीतिक स्थायी र विकास दिन आवश्यक छ भनेर केपी ओलीसँग पार्टी एकता गरेको बताउँदै प्रचण्डले भने, ‘केपी ओली प्रधानमन्त्री बनेर पहिलोपटक जारी गरेको बजेट नै विकास गर्ने खालको थिएन, त्यो देश विकासभन्दा बढी दोहनमा लागेको पाइयो, त्यसैले हामीले विरोध गर्यौं, त्यही विरोधले नै अहिलेको अवस्था आएको हो ।’

तत्कालीन अवस्थामा प्रधानमन्त्री र पार्टीको अध्यक्ष बन्ने जस्ता कुरामा बराबर हुने गरी हस्ताक्षर गरेको तर ओलीले आफूलाई झुट आश्वासन दिएको प्रचण्डले बताए । उनले भने, ‘यति झुट बोल्ने प्रधानमन्त्री देशमा हुँदा नेपालमा लाजै मर्ने भयो, मैले अदालत सेटिङमा छ भनेको थिइनँ, तर मैले बोलेको झुट बनाएर ठूलो आरोप लगाइयो ।’

‘हामी सबै लोकतन्त्र, गणतन्त्र र संविधानका लागि लडेका हौँ, केपी ओली लडेका नेता होइनन्,’ प्रचण्डले भने, ‘अब, संविधानमाथि कसैले चलखेल गर्न सक्दैन भनेपछि देश विकासमा लाग्ने छौँ, हामी अरूबाट हेपिन चाहँदैनौँ, हामी एक स्वतन्त्र देशका नागरिक हौँ ।’

प्रतिक्रिया