बुधबार, वैशाख १२, २०८१

राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ता हुनुभयो : देउवा

‘माधवजी लडाकु मित्र हो । उहाँलाई कुनै धोका हुँदैन, उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ’

मेरोन्यूज २०७८ असार १२ गते १७:३०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता भएको आरोप लगाएका छन् । कांग्रेस-माओवादी लगायत विपक्षी ५ गठबन्धनले आज नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होसे हलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले आफूले संविधानको धारा ७६(५) अनुसार १४९ सांसको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेपनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रधानमन्त्री ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आह्वान गर्नुभो । हामीले बहुमत सहित दावी गर्यौ । राष्ट्रपतिलाई समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । तर, मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीलेभन्दा राष्ट्रपतिले गलत गरेको हो । केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ ।’

देउवाले ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी भएको पनि वताए । उनले आफूलाई पहिला राष्ट्रपतिले क्याबिनेट पुनर्गठन गर्न नदिएको तर अहिले धमाधम शपथ खुवाएको भन्दै आपत्ति जनाए । संविधान मिच्ने काम प्रधानमन्त्री ओलीले गरेको भन्दै देउवाले संविधान मिच्नेले प्रजातन्त्र र संविधान दुवै बचाउन नसक्ने जिकिर गरे ।

सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुर्नस्थापना गरी आफूलाई प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरे । सर्वाेच्च्ले राष्ट्रपतिलाई शेरवहादुरलाई प्रधानमन्त्री बनाउन आदेश दिने विश्वास पनि व्यक्त गरे ।

‘अदालतले प्रधानमन्त्री बनाउने होइन, तर संविधानको अन्तिम व्याख्यता अदालत बाहेक को छ र ?’ देउवाले भने ।

उनले संवैधानिक परिषदमा गरिएको नियुक्ति संसद् पुनःस्थापना पछि खारेज हुने पनि बताए । ‘अध्यादेश ल्याउँदै संविधान संशाेधन गर्न कसरी मिल्छ ? संवैधािनक परिषदमा गरिएको नियुक्ति , अध्यादेश संसद् पुनःस्थापना भयो भने हामी खारेज गछौं, त्यसरी गरिएका नियुक्ति पनि हामी पास हुन दिदैँनौं,’ देउवाले भने ।

उनले माधव नेपालको प्रशंसा पनि गरे । देउवाले माधव नेपाल लडाकु मित्र भएको टिप्पणी गरे ।

देउवाले भने,- माधवजी लडाकु मित्र हो । उहाँलाई कुनै धोका हुँदैन । उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ ।’

अर्काे एक प्रसंगमा भने देउवाले पार्टीको आसन्न महाधिवशेनमा आफू सभापतिको उम्मेदवार भएको बताए । ‘महिले साथीहरुलाई सहयोग मागिसकेको छु। साथीहरुको सहयोग भयो भने म फेरि पार्टी सभापति हुन्छु। रामचन्द्र जीले घोषणा गर्नुभयो, भएन थाहा छैन्, तर महिले सभापतिको घोषणा गरिसकेको छु ।’ देउवाले भने ।

प्रतिक्रिया