बुधबार, वैशाख १२, २०८१

मुसलधारे वर्षामा पनि वाग्मती सफाइ

मेरोन्यूज २०७८ असार १२ गते १३:३२

काठमाडौँ । बिहानदेखिको मुसलधारे वर्षाले पनि उपत्यकाका वाग्मतीलगायत सफाइ महाअभियानलाई रोकेन । वाग्मती सफाइ महाअभियानको ४२४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा तीन अभियानकर्मीले सफाइ गरे ।

सफाइमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अभियानकर्मी दुर्गा रावल सहभागी भएका थिए । पशुपति क्षेत्रको वाग्मती किनारमा सफाइका क्रममा नदी सफा देखिए पनि किनारमा फोहोर भेटिएको अभियानकर्मीले जनाएका छन् । यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । यस क्षेत्रमा नदी किनारमा जम्मा भएको फोहोर सफा गरिएको जनाइएको छ ।

विष्णुमती सफाइ अभियानको ३५७औँ हप्तामा टोखा नगरपालिका–९ स्थित आनन्द पुलबाट दक्षिणतर्फको क्षेत्रमा सफाइ गरिएको छ । त्यस क्षेत्रमा १४ शिरीष र पैंयुँका बिरुवासमेत रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । यसैगरी काठमाडौँ उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।

कोरोनाबाट बच्न सफाइ एवं भौतिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपचार हो भन्ने चेतना जगाएर धेरै स्थानमा सफाइ अभियानले जागरण फैलाएको जनाइएको छ । निषेधाज्ञाका कारण सफाइ अभियानका लागि नदी किनारमा जान नसकेका अभियानकर्मीले यस्तो जागरण फैलाउन सहयोग गरेका हुन् । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ ।

काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीझैँ चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिर मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ । ‘हप्तामा दुई घण्टा देश सेवाका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मी नदी किनारमा उत्रने गरेका छन् ।

नयाँ भेरियन्ट सहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला भने नदी किनार नजीकै निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिए । अन्य अभियानकर्मीले भने घर टोलअघिको सफाइलाई निरन्तरता दिएको महाअभियानले जनाएको छ । सफाइसँगै उपत्यकाका विभिन्न स्थानका नदी किनारमा रोपिएका बिरुवाको गोडमेलसमेत गरिएको छ । वर्षा लागेसँगै नदी किनारमा बिरुवा, गुर्जोलगायत वनस्पतिको रोपण अभियान पनि तीव्र भएको छ । रासस

प्रतिक्रिया