शुक्रबार, वैशाख ७, २०८१

कांग्रेसको १४ औँ महाधिवेशन

यस्तो बन्न सक्छ नेतृत्वमा रस्साकस्सीको ‘सिक्वाइन्स’

आगामी भदौ १९ गतेसम्म पार्टीको महाधिवेशन उद्घाटन नभए पार्टी नै नरहन सक्छ अर्थात ‘कोल्याप्स’मा पर्छ

मेरोन्यूज २०७८ असार १२ गते १३:५५

काठमाडौँ । नेपाली कांग्रेसको गत ४ असारको केन्द्रीय कार्य समिति बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरेपछि नेतृत्वमा पुग्न नेताहरूले आफ्नो पक्षमा माहोल बनाउन सुरु गरेका छन् ।

संवैधानिक रूपमा नै आगामी भदौ १९ गतेसम्म पार्टीको महाधिवेशन उद्घाटन भएन भने पार्टी नै नरहन सक्छ अर्थात ‘कोल्याप्स’मा पर्ने अवस्था छ । एकातिर कोरोना भाइरस (कोभिड–१९) महामारी, अर्कोतर्फ मध्य वर्षा, तैपनि संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु पर्ने भएपछि नेताहरू जबरजस्ती तयारीमा जुटेका हुन् ।

महाधिवेशनको पहिलो खुट्किलो क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विवाद नै टुंगिएको छैन । त्यसमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच चर्को विवाद छ । त्यो विवाद समाधान गर्नतर्फ भन्दा नेताहरू नेतृत्व कसरी हत्याउने भन्नेमा केन्द्रीत छन् ।

पौडेल समूहले शुक्रबार गरेको आफू पक्षीय नेताहरूको छलफलमा संस्थापनले क्रियाशील सदस्यतामा धाँधली गर्न लागिरहेको भन्दै पार्टी विधान, नियमावली, केन्द्रीय समिति निर्णय र जिल्लामा गरिएका परिपत्रका आधारमा हुनु पर्ने बताएपछि तत्काल सदस्यताको विषय टुंगिने देखिन्न ।

तर, नेताहरू नेतृत्वका लागि आफ्नो तयारीमा व्यस्त छन् । पौडेल समूहको भेला सुरुवात गर्दै समूहका नेता पौडेलले १४ औँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार प्रस्तुत गर्न सबै नेताहरूलाई आग्रह गरे । सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी आफ्नो चाहना रहेको पौडेलको भनाई थियो । उनको आग्रहपछि आफ्नो धारणा राख्ने क्रममा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र सुजाता कोइरालाले पनि नेतृत्वका लागि दाबी पेस गरे । यो समूहकै युवा नेता कल्याण गुरुङले समेत कांग्रेसको नेतृत्व अब युवा पुस्तामा आउनु पर्ने दाबी गर्दै आफू उम्मेदवार बन्ने बताइरहेका छन् ।

भेलामा दाबी प्रस्तुत गरे पनि डा. महत र केसीले सहमतिका लागि आफूहरू बाधक नबन्ने बताए । तर, समूहबाट एकभन्दा बढी उम्मेदवार भए आफूहरू पछि नहट्ने उनीहरूको भनाई थियो । महामन्त्री डा. कोइरालाले पार्टी नेतृत्वका लागि आफू स्वाभाविक दाबेदार रहेको बताए । पूर्व महामन्त्री सिंहले आफू नेतृत्वको प्रतिस्पर्धामा रहेको जानकारी नेताहरूलाई धेरै पहिलादेखि गराउँदै आएको जानकारी दिए । कार्यकर्ताले अब देउवाबाट मात्र होइन, पौडेलबाट पनि पार्टी चल्दैन भन्न थालेको उनको भनाई थियो ।

त्यस्तै, डा. शेखरले नयाँ र पुरानो पुस्तालाई जोडेर सशक्त कांग्रेस बनाउन आफूले मात्र सक्ने भन्दै सहयोग गर्न आग्रह गरे । उनले आफू १५ औँ महाधिवेशनमा सभापतिको दौडमा नहुने तर, अहिले उम्मेदवार बन्ने बताउँदै सहयोग गर्न र पौडेलसहितका नेताहरूलाई संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने गत शनिबार नै बताइसकेका छन् । उनलाई संस्थापन पक्षकै उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् । १३ औँ महाधिवेशनमा नै तेस्रो धार बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला स्वभाविक उम्मेदवार हुन् । तर, उनले अहिलेसम्म १४ औँ महाधिवेशनमा उम्मेदवार हुने भनेर बोलेका छैनन् ।

अन्तिमसम्म सभापतिमा प्रतिस्पर्धाको रूपरेखा

पौडेल समूहमा संस्थापनबाट नेतृत्व आफूतिर ल्याउन संस्थापन इतर समूहबाट एउटा मात्र उम्मेदवार बनाउनु पर्ने आवाज उठेको छ । शुक्रबारकै भेलामा पनि समझदारीमा एक जनाले मात्र उम्मेदवारी दिने वातावरण बनाउनु पर्ने आवाज उठ्यो । सभापतिमा दाबी पेस गरेकै नेताहरू पनि सहमतिका लागि प्रयास जारी रहेको बताएपछि सबै उम्मेदवार बन्दैनन् भन्ने प्रष्ट छ । ‘नेताहरूले नेतृत्वका लागि दाबी पेस गर्नु भएको छ,’ पौडेल समूहका केन्द्रीय सदस्य बद्री पाण्डे भन्छन्, ‘समूहमा सहमतिका लागि प्रयास जारी छ । मिलेर नै उम्मेदवारी दिन्छौँ भन्ने आश्वासन नेताहरूबाट पाएका छौँ ।’

दाबी पेस गरेका डा. महत र केसीले सहमतिमा बाधक नबन्ने भनिसके । कोइराला परिवारबाट तीन जना आकांक्षी देखिएका छन्, – महामन्त्री डा. कोइराला, डा. शेखर र सुजाता । तीनै जना एउटै परिवारका दाजु बहिनी भएकाले एकले अर्काविरुद्ध उम्मेदवारी दिने सम्भावना ज्यादै न्यून छ । उमेरका हिसाबले महामन्त्री डा. शशांक र सुजाताभन्दा डा. शेखर दाजु हुन् ।

त्योभन्दा बढी उनीहरूलाई कांग्रेसमा कोइराला परिवारको लामो विरासत कसरी देउवाबाट फर्काउने भन्ने चिन्ता छ । तसर्थ, कोइराला परिवारमा एउटा मात्रै उम्मेदवारका रूपमा अघि बढ्ने देखिन्छ । १३ औँ महाधिवेशनमा डा. शेखरले शशांकलाई महामन्त्रीको उम्मेदवार बनाएर सघाएकाले यसपटक शेखरलाई शशांकले सघाउने सहमति भइसकेको स्रोत बताउँछ । तर, बाहिर भने सबै उम्मेदवार बन्ने भनेर चर्चा परिचर्चा बटुल्ने उनीहरूको रणनीति देखिन्छ । सुजाताले भने शेखर सभापतिको उम्मेदवार बनेमा आफूले सघाउने निकटस्थहरूसँग बताउन थालेकी छन् ।

अब बाँकी रह्यो संस्थापन इतर समूहमा पौडेल, सिंह र कोइराला परिवार । नेता पौडेलको कोइराला परिवार र सिंहले सहयोग नगरे आफ्नो कुनै भरपर्दो गुट छैन । कोइराला परिवार र सिंह अर्कोतर्फ लाग्ने हो भने उनी उम्मेदवार बन्दैनन् । सिंहले भने कोइराला परिवारका सबै नेताहरूभन्दा आफू सिनियर भएकाले आफू उम्मेदवार बन्नु पर्ने बताइरहेका छन् ।

यसर्थ पौडेलले कोइराला परिवारलाई ठाउँमा ल्याउन सिंहलाई अघि सारेर बार्गेनिङ गरिरहेका छन् । तर, डा. शेखरले नेता पौडेललाई राष्ट्रपति र सिंहलाई संसदीय दलको नेताको प्रस्ताव गरिसकेका छन् । उनी भन्छन्, ‘मलाई सभापतिको उम्मेदवार बनाइयो भने सबैलाई मिलाएर अघि बढ्छु । कसैलाई काखी च्याप्यो, मलाई वास्तै गरेन भन्ने पार्दिनँ ।’ पार्टीमा आफूभन्दा शेखर नै लोकप्रिय रहेकाले समूहको सर्वसम्मत उम्मेदवार नबन्ने अवस्थामा उनलाई नै सहयोग गर्ने शशांकको तयारी रहेको उनी निकट स्रोत बताउँछ ।

तर, सिंहले भने आफ्ना लागि दलको नेताभन्दा सभापति नै महत्वपूर्ण भएको बताउँदै आएका छन् । त्यसमा घिउ थप्ने काम पौडेलले गरिरहेका छन् । नेताहरू भन्छन्, ‘सकभर हाम्रो समूहबाट एउटै उम्मेदवार बन्छ, एउटै भएमा पौडेल उम्मेदवार हुनुहुन्छ, भएन भने दुई उम्मेदवार हुन्छन्, एउटा कोइराला परिवारबाट, अर्को सिंह ।’ यस्तो अवस्थामा बाँकी रह्यो डा. महत र केसीको कुरा । उनीहरूको मुख्य चासो नै उपसभापति वा महामन्त्री हो । त्यसको उम्मेदवार बनाइदिए उनीहरू चुप हुने विश्लेषण नेताहरूको छ ।

अर्कोतर्फ महामन्त्री डा. शशांक तथा सिंह र उपसभापति निधिबीच मिलेर अघि बढ्ने भन्दै दुई पटक भेटवार्ता भइसकेको छ । पहिला उपसभापति निधिको निवासमा छलफल गरेका नेताहरू शुक्रबार मात्रै महामन्त्री डा. शशांककोमा बसेर छलफल गरे । केही दिनमा सिंहकोमा बस्ने तयारीमा छन् । तर, उनीहरू तीन जनाबीच सहकार्यको सम्भावना शून्यजस्तै रहेको नेताहरू बताउँछन् ।

बाँकी रह्यो संस्थापनमा । त्यहाँ सभापति देउवाले कुनै पनि हालतमा छोड्ने अवस्था देखिन्न । निधिले पनि नछोड्ने अडानका साथ अघि बढिरहेका छन् । त्यसमा मिलाउन सक्ने एउटा सुत्र रहेको नेताहरू बताउँछन् । निधिका बलिया पात्र प्रदीप गिरि हुन् । गिरिकै डिजाइनमा भारतको लाइनमा निधि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेको नेताहरू बताउँछन् ।

भारतको संस्थापन पक्षको चाहना कांग्रेसले हिन्दुको मुद्दा उठाओस भन्ने छ । तर, देउवा त्यो पक्षमा देखिन्नन् । देउवालाई त्यो मुद्दामा ल्याउन निधि कार्ड फ्याकेको नेताहरू बताउँछन् । यदि, देउवाले हिन्दुको मुद्दा उठाउन सहमति जनाएमा निधि पनि पछि हट्ने नेताहरू बताउँछन् । तर, देउवा भने पश्चिमा लाइनका भएकाले त्यो मुद्दामा सहमति हुन्छन् या हुँदैनन् भन्ने अझै निश्चित छैन । पदका लागि जे पनि गर्न तयार हुने देउवा यो मुद्दामा सहमति जनाएमा सभापति हुने निश्चित भएमा त्यो पनि गर्न पछि नपर्ने नेताहरू बताउँछन् ।

अब रह्यो सिटौलाको कुरा । उनी अहिले सभापतिमा उम्मेदवार नबन्ने तर, च्याखे दाउँ थापेर आफ्नो समूह बलियो बनाउने रणनीतिमा रहेका उनी निकट नेता बताउँछन् । यसले के देखाउँछ भने बढीमा चार र घटीमा दुई जनाबीच कांग्रेसको १४ औँ महाधिवेशनको नेतृत्वमा प्रतिस्पर्धा हुन्छ ।

प्रतिक्रिया