मंगलबार, वैशाख ११, २०८१

सुदूरपश्चिममा दुई दिन यता कोरोनाबाट मृत्यु हुनेको संख्या सुन्य

मेरोन्यूज २०७८ असार १२ गते १२:०९

कैलाली । कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट संक्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ । दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो । प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ संक्रमित पुगेका छन् । प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।

दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना संक्रमितको मृत्यु भएको थियो । कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ । पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर घटेको देखिएपनि संक्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएका मध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा संक्रमण भएको पाइएको छ । संक्रमित हुने मध्ये ५७० जना आर्थात एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ । हालसम्म एन्टिजेन परीक्षण ६६ हजार ९५० जनाको गरिएकोमा आठ हजार ३४४ र पिसिआर परीक्षण एक लाख ९१ हजार ९३७ जनाको गरिएकोमा ३५ हजार ९८ जना सङ्क्रमित भएका छन् । पिसिआर परीक्षण एक वर्ष अघि देखिनै शुरु गरिएकोमा एन्टिजेन परीक्षण भने गएको वैशाखदेखि गर्न थालिएको हो ।

एन्टिजेन परीक्षण गराइ संक्रमित हुनेको मृत्यु दर दुई दशमलब ९१ प्रतिशत रहँदा पिसिआर परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर शून्य दशमलब ९३ प्रतिशत रहेको छ । अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पिसिआर परीक्षण गराएका ३२७ जनाको उपचार व्यवस्थापनका क्रममा मृत्यु भएको छ । रासस

प्रतिक्रिया