शनिबार, वैशाख ८, २०८१

युरोकपको नकआउट चरण आजदेखि हुँदै

मेरोन्यूज २०७८ असार १२ गते ११:२६

काठमाडौँ । जारी युरो कप फुटबलको नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरू आज शनिबारदेखि सुरु हुने भएको छ । नकआउट चरणअन्तर्गत आज राति दुई खेलहरू हुँदै छन् । पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् भने दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने भएको छ ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा वेल्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

डेनमार्क समूह ‘बी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अंक जोड्न सफल भएको थियो ।

यस्तै, वेल्स समूह ‘ए’को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलबाट ४ अंक जोडेको थियो ।

यसैगरी, इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राति १२ः४५ बजेदेखि सुरु हुने छ । दुवै टिमले जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्य राखेको छ ।

इटाली समूह ‘ए’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । उसले शतप्रतिशत जित निकालेको हो ।

अष्ट्रिया भने समूह ‘सी’को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।

प्रतिक्रिया