बिहीबार, वैशाख २०, २०८१

निर्माता आकाश अधिकारीको नजरमा चलचित्र र कोभिड

किरण अधिकारी २०७८ असार १२ गते १२:१३

काठमाडाैँ । सिनेमाको संसार कसरी निर्माण हुन्छ ? त्यो संसार कल्पना हो कि यथार्थ ? वा कुनै नयाँ विश्व ? दर्जनौं चलचित्र निर्देशन गरिसक्दा पनि निर्देशक, निर्माता, अभिनेता, संगितकार आकाश अधिकारीले चित्तबुझ्दो जवाफ भेटेका छैनन् । उनीसँग मनमा सिनेमा, मान्छे र समाजबीचको अन्तर्सम्बन्धबारे कयौं जिज्ञासा र प्रश्न अझैसम्म छन् ।

सिनेकर्मी आकाशको भनाइमा, ‘कुनै पनि फिल्ममेकरलाई फिल्मबारे सोच्ने बेलाको प्रक्रियालाई सघाउने आधारभूत खुराकको लागि अध्ययन, अनुसन्धान, जनसम्पर्क समाज छ ।’

‘राम्रो चलचित्रले सम्पूर्ण कुरुपता भित्र जीवनमा आशाको खोजी सम्भव छ,’ अधिकारीले भने, ‘यो आशा देखाएर सिनेमाले हामीलाई बेग्लै ठाउँमा पु¥याउँछ । कुरुपताभित्र आशा र जीवन खोज्ने उत्प्रेरणा दिन्छ ।’ त्यसैले पनि नेपाली फिल्म उद्योगको स्थापित नाम हो – आकाश । चलचित्र ‘रणभूमि’बाट निर्देशन यात्रा सुरु गरेका उनले अहिले सम्म दर्जनौं फिल्म निर्देशन गरी सकेका छन् । निर्माता, लेखक र गीतकारका रुपमा पनि परिचित उनले अभिनयमा पनि आफ्नो कला देखाइसके ।

पछिल्लो समय आकाशलाई संगीतकारको रुपमा पनि चिन्न सकिन्छ । उनी आफै्नै निर्देशन रहेको फिल्म ‘के म तिम्रो हैन र’ मार्फत् नै संगीतकार बनेका हुन् २०७३ सालमा । आकाश चलचित्र क्षेत्रमा प्रवेश चँही कहिले गरे त ? हास्दै उनी भन्छन्, – ‘सबै तिथिमिति खुलाउने हो भने बुढो पो भन्नाल् नि फेरि (हिहि)’

चलचित्र क्षेत्रमा उनी श्रीकृष्ण श्रेष्ठलाई कहिल्यै बिर्सन सक्दैनन् । आफ्नै निर्देशनमा बन्न थालेको चलचित्र कोहीनुर सकिनै थाल्दा सबैभन्दा मनपर्ने नायक श्रीकृष्णले संसारबाट बिदा लिदाँ सवैभन्दा दुखद अनुभूति उनलाई भयो । चलचित्र यात्राको अनुभुतिमा श्रीकृष्णबाट टाढा हुनुपर्ने दुःखसँगै दुईवर्ष देखिको कोरोनाको समस्याले पनि मन दुखाएको अधिकारीको भनाई छ ।

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टा सर्जकहरुलाई समस्या भइरहेको सरकारी निकायका विभिन्न निकायमा जानकारी गराइसकेको उनले बताए । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताए । उनले भने, ‘गीत संगित, श्रष्टा, सर्जक, कलाकार, प्राविधिक यी सबैको समस्या छ । यसकारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौं । हाम्रो भनाई अब हामीलाई छायाँकन खोलिदिनुस् हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई अपनाएर सिनेमा छायाँकनमा जान सक्छौं भन्ने कुरापनि लगेर हामीले बुँदागत यो यो गर्न सक्छौं र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौं । हेरौं अबको केहीदिनमा सहजता आउँछ होला ।’

तीनवर्ष अघि वर्षमा १ सय वटाभन्दा बढी नेपाली चलचित्र बनेर प्रदर्शन हुन्थे । तर, दुई वर्षदेखि कोरोना कहरका कारण चलचित्र भवनहरु बन्द रहे । कुनै पनि चलचित्र प्रदर्शन हुन पाएन । नयाँ चलचित्र रिलिज होला, नहोला यसै भन्न सकिँदैन । नेपालमा मात्र होइन, विश्व बक्स अफिस नै अहिले शून्य अवस्थामा छ । चलचित्र प्रदर्शनको स्थिति अन्योल रहे पनि चलचित्र निर्माणको गति भने बिस्तारै बढ्न थालेको छ । बनेका चलचित्रमा स्थापित कलाकार भन्दा नयाँ अनुहारको बाहुल्य छ । तर, पछिल्लो समय देखापरेका नयाँ अनुहारहरु स्थापित हुन भने सकिरहेका छैनन् ।

तर, आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले चलचित्र क्षेत्रलाई पनि प्राथमिकतामा राख्न खोजेकोमा निर्देशक आकाश खुसी ब्यक्त गर्छन् । चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका अधिकारीले विषम परिस्थितिमा आएको बजेटमा चलचित्र क्षेत्रका केही विषय समेटिनु सकारात्मक रहेको भन्दै खुसी ब्यक्त गर्छन् ।

बजेटबारे टिप्पणी गर्दै आकाश भन्छन्, –‘कोरोनाले नेपाललाई जुनप्रकारले असर गरेको छ, राज्यले यो पटकको बजेटमा स्वास्थ्यलाई ध्यान दिएको देखिन्छ । त्यतातिर बढी बजेट विनियोजन गरिएको छ । त्यो स्वभाविक छ । यस्तो परिस्थितिमा सार्वजनिक भएको बजेटमा चलचित्र क्षेत्रलाई पनि समेट्नु राम्रो कुरा हो । यसपटकको बजेटमा चलचित्र क्षेत्रले जति पायो, स्वागतयोग्य छ ।’


चलचित्र निर्माणका लागि चाहिने उपकरणहरुमा भन्सार छुट हुनुपर्छ भनेर आफूहरुले सरोकारवाला निकायसँग पटक–पटक आग्रह गरेको बताउँदै उनले यो कुरा पनि बजेटमा सम्बोधन भएकोमा खुसी व्यक्त गरे । सिनेमा हलको विद्युत डिमाण्ड शुल्क मिनाह र चलचित्र उद्योगले तिर्दै आएको आयकर अब एक प्रतिशत मात्र तिर्नुपर्ने सरकारको घोषणालाई पनि अधिकारीले सकारात्मक लिए ।

अधिकारी भन्छन्, ‘चलचित्र क्षेत्रसहित कोरोना प्रभावित अन्य क्षेत्रलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । चलचित्र विकास बोर्डले लिएर गएको स्टोरी बैंकको अवधारणा पनि बजेटमा समेटिएको छ । सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्न र काभ्रेमा फिल्म सिटीका लागि पनि बजेटमा छुट्याइएको छ । यो पनि राम्रो कुरा हो । अब यसलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्छ ।’

अधिकारीले चलचित्र क्षेत्रले मनोरन्जन मात्रै नभएर कला, संस्कृति, भेषभूषा र पर्यटनलाई समेत समेटेकोे भन्दै तत्काल खोल्न माग गरे । त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि उनले बताए । यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवामुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको उनको दाबी छ । उनले भने, ‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथिहरु र त्यसको साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता उद्योगमा हाल्न सफल भयौं ।’

चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले कोसिस गरिरहेको अधिकारीले बताए । चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै आकाशले अब भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउँदै आएको सुविधा पाउने अवस्थामा पुर्याउन कम्मर कसिरहेको उनले धारणा राखे ।


चलचित्र बक्स अफिसमा सुधार्नुपर्ने कुरा थुप्रै रहनुका साथै निर्माताका कारण फिल्म फ्लप हुनेलाई बिर्सन नहुने आकाशले सुझाए । अहिले बक्स अफिस लागू भएको दाबी गरिए पनि अधिकांश फिल्म निर्माता यसप्रति असन्तुष्ट छन् । बक्स अफिस अव्यवहारिक भएको भन्दै वैज्ञानिक बनाउन निर्माताले माग गरेका छन् । बक्स अफिसमा भरपर्दाे र पारदर्शी सफ्ट्वेर जडान गर्नुपर्ने, विशेषज्ञहरुको परामर्शमा राष्ट्रिय चलचित्र नीति परिमार्जन गरिनुपर्ने लगायत काम उनीहरुको रहेको अधिकारीले बताए ।

नीतिगत कमजोरीका कारण चलचित्रको व्यापार फस्टाउन नसकेको, विकृति मौलाएको भन्दै आत्तिएका छन् । बक्स अफिसको बहस र नेपाली चलचित्रको व्यापार सबै सचेत हुनुपर्नेमा आकाशको जोड छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया